म्याग्दी, फागुन-१, म्याग्दीको सदरमुकाम बेनीमा आइतबार दियो सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सरोकारवालाहरुसँग वैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ‘सामुदायिक विकासका लागि सामुदायिक पुस्तकालय’ भन्ने मूल नारासहित म्याग्दी सामुदायिक पुस्तकालय एवं गण्डकी प्रदेशको आयोजनामा सरोकारवालासँग वैठकको साथै अन्तरक्रिया र छलफल गरिएको हो ।
कार्यक्रममा रिड नेपालका सिनियर कोअर्डिनेटर भाग्यश्री विष्टले सहजीकरण गर्दै दियो परियोजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले म्याग्दीमा रिड नेपालको साझेदारीमा सन् २०१८ देखि ०२४ सम्म सञ्चालित दियो परियोजनामार्फत भए गरेका काम र सञ्चालित कार्यक्रमहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । जिल्लामा दियो परियोजनाको लागि रिड नेपालको तर्फबाट पाँचलाख ५० हजार रुपैयाँ बजेट आएको जनाइएको छ । दीगो विकासको लक्ष्यमा आधारित रहेर कार्यक्रमहरु सञ्चालन हुने गरेको उक्त कार्यक्रममा बताइएको थियो ।
उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले म्याग्दी सामुदायिक पुस्तकालयको दीगो व्यवस्थापनमा आवश्यक सहयोग गर्ने बताउनुभएको छ । उहाँले म्याग्दी सामुदायिक पुस्तकालयलाई आवश्यक पर्ने सहयोगको बारेमा योजना तथा कार्यक्रम बनाएर पेश गर्न आग्रहसहित नगरपालिकामार्फत सहयोग गर्ने बताउँदै पैसा कमाउनकै लागि भनेर विदेश जानुनपर्नेमा जोड दिनुभयो । नगर प्रमुख केसीले समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पुस्तकालयले पनि पहल गर्नुपर्ने बताउनुभयो ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले म्याग्दी सामुदायिक पुस्तकालय सञ्चालन र व्यवस्थापनको लागि आवश्यक समन्वय तथा सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले म्याग्दी सामुदायिक पुस्तकालयले गरिरहेको काममा साझेदारी र सहयात्रा गर्ने अवसर पनि भएकाले पुस्तकालयले समन्वय गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेनी नरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिककुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुमन पौडेलको स्वागत र सचिव नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दी सामुदायिक पुस्तकालयले स्थानीय तहमा प्रस्ताव बनाएर पेश गर्ने र समुदायस्तरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )