कृष्ण जिसी /जलजला, माघ-२९, धवलागिरी क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । यानीमाया गीत केहि सुनिएपनि यानीमाया जस्तै समकालिन गीत छ “सुनीमाया।“ आजभोली यानीमायाँ र सुनीमाया गीत गुन्जिन छोडेका छन् । एकल तथा समूहिकरूपमा महिला र पुरुष भएर गाइने यो गीत एक जनाले शुरु गर्ने र ऊसँगै समूहका अन्य कलाकारले गाउने गर्छन् । केहीले एकलरूपमा पनि गाउने गर्छन् ।
धवलागिरीको म्याग्दी, बागलुङमा बढी चर्चित सुनीमाया गीत पर्वतका मगर तथा मुस्ताङका केही थकाली समुदायले गाउने गरेको पाइन्छ । खासगरी आदिवासी, जनजाति समुदायमा लोकप्रिय मानिने यो गीत मगर र छन्त्याल जातिले बढी गाउने गर्छन् । बजारमा भन्दा बढी गाउँहरूमा गुन्जिने “सुनीमाया” गीत लोप हुने अबस्थामा पुगेको छ ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका काफलडाँडा बूढापाकाले अहिले पनि मेला महोत्सव हुँदा “सुनीमाया” गीत गाउने गरेका छन् । गाउँदा–गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरी गीतभन्दा विल्कुलै फरक हुन्छ । गीतको बीच–बीचमा “सुनीमाया” जोडेर गाइने हुँदा यसलाई सुनमाया गीत भनिन्छ र यो यानीमाया भन्दा अल्ली फरक हुन्छ । यसमा एउटा गीतलाई ४ पटक भन्ने गरिएको अन्नपुर्ण गाउँपालिका–४ काफलडांडाका ६७ वर्षीय बाग्बिर चोचांगीले बताउनुभयो । उहाँले यो गीत नयाँ पुस्ताले नजान्ने बताउनुभयो।
‘गीतहरू सबै एउटै हुँदैनन्, शब्दै एउटै भए पनि त्यसको लय फरक हुन्छ, यानीमाया गीतको बीच–बीचमा यानीमाया भनेर जोडिन्छ, भने सुनिमाया गीतमा सुनीमाया जोडेर गाउने काफलडांडा कि ७२ वर्षीय सुनु पुर्जाले भन्नुभयो । पहिले–पहिले हामीहरूले निकै गाउने गथ्र्यौँ’, उहाँले भन्नुभयो, ‘अहिले यो गीत कहीँकतै पनि सुनिदैन, अहिलेका युवायुवतीले गाउन जान्दैनन्, हामी पनि बूढो भइयो, पहिलेको जस्तो स्वर तान्न सकिँदैन, यो गीतका लागि धेरै लामो स्वर तान्नुपर्छ, सुनिमाया गीत गाउँदा–गाउँदै कति रुन्छन्, कति हाँस्छन्, यो गीतमा मान्छेलाई रुवाउने र हँसाउन सक्ने शक्ति हुन्छ ।’
अन्नपुर्ण-४ काफलडांडाका जग बहादुर फगामीले आफूहरूले रोधी बस्दा पनि सुनीमाया/यानीमाया गीत गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडिएको बताउनुभयो । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक र लोकगीतले सुनीमाया र यानीमाया गीत हराउन थालेको उहाँको भनाइ छ ।
‘हाम्रो गाउँतिर पहिले–पहिले रोधी बस्ने चलन थियो, रोधीमा तरुनी–तन्नेरी भएर गीत गाउने गथ्र्यौँ, धेरै वर्ष भयो रोधी बस्ने र गीत गाउने चलन हरायो, रेडियो टेलिभिजनमा आउने लोकगीत, आधुनिक गीत सुन्न थालेपछि सुनीमाया, यानीमाया गीत गाउन छाडिएको हो’, उहाँले भन्नुभयो, ‘यो गीत त कलाकारले पनि गाएका छैनन्, पुराना केही कलाकारले गाएको त सुनियो तर, अहिले सुनिदैन ।’
‘पहिले त रोधी बस्ने, गीत गाउने, गीत गाउँदा गाउँदै तरुनी तन्नेरी मन पर्यो भने बिहेगर्ने चलन थियो, अहिले रोधी पनि बस्न छाडियो, त्यसरी बिहे पनि हुँदैन, गीत गाउनेहरू पनि छैनन्, हामीभन्दा पछाडिका नयाँ युवाले यो गीत गाउँदैनन् अव यो गीत यत्तिकै सकिन्छ उहाँले दुखेसो पोख्नुभयो ।
“सुनीमाया, यानीमाया र नानी र लै” सँगै गीतमा मौलिकता हराउँदै छ । सुनिमाया, गीतहरूमध्ये विशिष्ट गीत रहेको र पछिल्लो समय धवलागिरी क्षेत्रमै निकै कम गुन्जिने गरेको छ । ‘सुनीमाया र यानीमाया गीतले मौलिकता बोकेको थियो, त्यो गीतले जस्तो अन्य कुनै पनि गीतमा मौलिकता पाइँदैन, यसले साङ्गीतिक क्षेत्रमा सिङ्गो धवलागिरिको पहिचानलाई बेग्लै बनाउन सफल भएको तर अहिले हराउन थालेको छ ।
लामो समयदेखि गीत संगीत र लोक साहित्यमा लागेका म्याग्दीका साहित्यकार एवं गायक नरबहादुर बिसीले भन्नुभयो, “सुनिमाया र यानीमाया गीत समकालीन नै हुन्, लय फरक हो भाव उस्तै हुन्छ र जे बिषयबस्तु राखेर पनि गाउन सकिन्छ।“ बि.सी.ले यानीमाया गीत कस्तो हुन्छ कसरी गाइन्छ शब्द र मात्रा के कस्तो हुनुपर्छ शब्द सहित पुस्तक निकालेको तर पछिल्लो समय पठन संस्कृति हराइसकेकोले त्यो किताब गीत संगीतमा लागेका ब्यक्ती र त्यसको चासो लिने व्यक्तिले पनि नपढेकोमा दुखेसो पोख्नुभयो ।
सुनिमाया संगै यानीमाया, नानि र नै “ शिरफुले माया पनि आजभोली हराउदै गएका छन् । म्याग्दीकी पुराना गायिका धनकुमारी थापाले आफुले नानि र लै गीत सुनेको तर गाउने मान्छे नभएको बताउदै आफुले बिसं २०४२ सालमा हर्क पाईजासंग “अबिजाले माया” गाएको बताउनुभयो । पछिल्लो पुस्तामा सिरफुले माया त हराइसक्यो झन् नानी र लै सुनीमाया र यानीमाया त धेरै पुराना भएको र आफुले गाएपनि पछिल्लो पुस्तामा त्यो हस्तान्तरण हुन नसकेको बताउनुभयो ।
पुराना पुस्ताका गितांगेका अनुसार यानीमाया तीनदिन तीन रात गाएर पनि नसकिने, गाउँदै गयो भने यसको गहिराइमा पुगेर गहिराइबाट निस्किन नसकिने हुन्छ । अहिले गाइने गीतहरुजस्तै सुनीमाया गीतपनि रेकर्ड भएर रेडियो, टेलिभिजन र मोबाइलमा आएको भए, अरु गीत जस्तै सबैको मुखमा हुन्थे होला । त्यसैले गीतहरूमध्ये विशिष्ट गीत रहेको सुनीमाया गीत पछिल्लो समय धवलागिरी क्षेत्रमै निकै कम गुन्जिने गरेको छ साङ्गीतिक क्षेत्रमा सिङ्गो धवलागिरिको पहिचानलाई बेग्लै बनाउन सफल भएको सुनीमाया गीत नयाँ पुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )