प्राय हरेक बिद्यालय तथा अभिभावकको समान अभिलाषा भनेको बिद्यार्थीलाई अब्बल बनाउनु रहेको हुन्छ | तर यसले संगसंगै अहम प्रश्न पनि उब्जाएको छ , अब्बल भनेको के ? के मापकको आधारमा अब्बल मान्ने ? सामाजिक, आर्थिक, संस्कृतिक, भगौलिक र पारिवारिक अवस्थाको बिबिध बिबिधता रहेको नेपालको सन्दर्भमा कर्णाली प्रदेशको विद्यार्थी अब्बल हुने र रौतहटका बिद्यार्थी अब्बल हुने मापक एउटै मान्न मिल्छ ? एउटै किसिमको औजार, प्रविधि र सिपले बिद्यालयको शिक्षालाई अब्बल बनाउन सकिन्छ ? यी प्रश्नहरुलाई गहिरिएर बुझ्ने हो भने अब्बल शिक्षाको कुनै एक निश्चित सर्वकालीन सर्वमान्य परिभाषा हुन सक्दैन भन्ने स्पस्ट बुझिन्छ | हुन त यस्ता थुप्रै उदाहरणहरु उपलब्ध छन जहाँ बिद्यालयले असक्षम घोषित गरी निकालीदिएका बिद्यार्थीहरु जीवनमा अत्यन्तै सफल मात्रै होइन बैज्ञानिक सम्म बनेका छन तर पनि सबैको अब्बल बनाउने होडमा बाल मस्तिस्कले भोग्ने सकसहरु प्रति खासै ध्यान दिन सकेको देखिन्न |
बल्ल बल्ल घरमा बोलिने भाषा र गरिने सांकेतिक संचार बुझ्न लागेका बालबालिका आफ्नो अत्यधिक सिर्जनशिल मस्तिस्क सहित बिद्यालय छिर्छन जहाँ सर्व प्रथम त उसले गरेका अनुभूति, सोच्ने शैली र कल्पनालाई प्रस्तुति गर्न सब भन्दा पहिला भाषा नै अवरोधक बनी दिन्छ | उसले घरमा बोल्दै आएको शब्दहरु, उसले बुझेका संचार संकेतहरु अब बिद्यालयमा औचित्य हिन भएको पाउँछ अनि कतिपय अवस्थामा जान्दै नजानेको भाषामा उसको सिर्जनशिलता एक किसिमको डरमा संकुचित हुन् थाल्छ र बिस्तारै बिस्तारै उसको सिकाई, बुझाई भन्दा रटाई तर्फ बढ्न थाल्छ | ऊ जुन किसिमले सिर्जनशील, जिज्ञाशु हुनुपर्ने हो त्यो बन्द हुन्छ र उसलाई भनेको जस्तो मान्नु / गर्नु नै शिक्षा हो भन्ने भान पर्दै जान्छ | अनि ज्ञानको लागी पुस्तक पढ्नु भन्दा पनि गृहकार्य गर्न वा जांचमा अब्बल नम्बर ल्याउनको लागी मात्रै पढ्ने भन्ने बुझाई बस्छ | परिणाम स्वरूप पढाई प्रतिको उसको रुची घट्दै जान्छ र बाध्यताबस किताबका पाठहरु घोक्ने र जाँचमा ओकल्ने प्रक्रिया शुरु हुन्छ |
कुनै पनि व्यक्तिले आफ्नो घर बनाउँदा पुस्तौं पुस्ता सम्म टिक्ने बलियो हुने गरी बनाउन चाहन्छ | घरको जग जमिन मूनि पर्छ जुन बाहिरबाट देखिदैन तर सम्पूर्ण घरको निर्माणको लागी त्यो जग अति नै महत्वपूर्ण हुन्छ किनकी जग बलियो भयो भने मात्रै घर बलियो हुन्छ र भविष्यमा समेत आवश्कता अनुसारको थप संरचना निर्माण गर्न सकिन्छ अन्यथा पछी गएर त्यस्तो कुनै पनि परिमार्जन सम्भव हुँदैन किनकी एक पटक घर ठडिए पछी जगको पुनर्निर्माण गर्न सकिदैन | यस्तोमा यदी कसैले भन्छ कि घरको माथिल्लो भाग बाहिरबाट देखिने हुँदा राम्रो कौशल भएको मिस्त्रीलाई बनाउन लगाऊ तर जग त बाहिर बाट देखिन्न नि त्यसैले शिप नभएका जुनसुकै डकर्मीलाई गराउँदा हुन्छ | यो कसैलाई स्वीकार्य होला ? कसैले पनि यसलाई स्वीकार्न सक्दैनन् किनकी जग कमजोर बनाइयो भने घर बलियो बनाउदा सकिन्न | यदी यस्तो हो भने जीवनको जग भनेको बिद्यालय शिक्षा हो त्यसलाई कसरी अवमूल्यन गर्न सकिन्छ ? सिक्ने शिप, सोच्ने शिप, मानवता, दया -माया, करुणा तथा समाज प्रतिको जवाफदेहिता जस्ता बिषयहरु कुनै एउटा निश्चित फर्मुलाले सिकाउन सकिन्छ ?
बिद्यालय शिक्षाको महत्वलाई राज्य देखि लिएर परिवार सम्म किन कम आंकलन गरेका हुन् ? बिद्यालय शिक्षा जसमा जीवनका लागी आवश्यक सम्पूर्ण शिप र प्रक्रियाहरुको बिउ बालबालिकाको मस्तिस्कमा राखिनु पर्ने प्रति किन सम्बन्धित सम्पूर्ण सरोकारवालाहरु अनुदार देखिन्छन ? सिर्फ किताब भित्रका अक्षर र अंक मात्रैले बिद्यालय शिक्षाको उदेश्य पुरा गर्न सकिन्छ ? समाज सिर्फ तर्कले स्वस्थ बनाउन सकिएला ? अनि अस्वस्थ समाजमा स्वस्थ जीवनहरु सम्भव हुन सक्छ ?
केहि बर्ष अगाडी सम्म व्यक्तिले आफुलाई आवश्यक पर्ने हरेक फोन नम्बरहरु सके सम्म कण्ठ पार्ने र अझ डायरीमा लेखेर राख्ने अभ्यासलाई निकै राम्रो मान्थे तर अचेल यो प्रायले गर्दैनन् बरु फोन मै सेभ गरेर राख्छन अझ कतिले त गुगल मै पनि सेभ गर्छन ताकी फोन हराए पनि ती सम्पूर्ण आवश्यक सम्पर्क नम्बरहरु चाहिएको बेला सहजै उपलब्ध गर्न सकियोस | त्यसै गरी केहि दशक अगाडी सम्म बढी भदा बढी कण्ठ पारेर शब्द भण्डार गर्न सक्ने बिद्यार्थीलाई अब्बल मानिन्थ्यो जुन अहिले त्यति महत्व दियिदैन | यो सबै आवश्यक परीवर्तन हुन् |
यदी कुनै २ कक्षामा पढ्ने बिद्यार्थीले १८ को गुणन कण्ठ पारी हाल्यो, ५० भन्दा बढी फलफुलको नाम कण्ठ गर्यो, ४० वटा चराको नाम, विश्वको अफ्रीका देखि लिएर नेपाल सम्मका सबै क्षेत्रको नाम इत्यादी कण्ठ पार्यो रे अनि के हुन्छ ? त्यो बच्चा अब्बल ? अर्को उदाह्र्ण कुनै ठाउँमा मानौं पिठो मुछ्न र रोटि पकाउन मात्रा र प्रक्रियाबारे कुनै हिसाब जान्दैनन /गर्दैनन् तर राम्रो संग पिठो मुछ्न तथा रोटि पकाउन सक्छन र अर्कोले पिठोको मात्रा, पानीको मात्रा, पिठो मुछ्दा हातको भूमिका, लाग्ने समय इत्यादी सबै कण्ठ पारेर रोटि बनाउने प्रक्रिया सम्पूर्ण कण्ठ पारेका छन तर राम्रो रोटि बन्दैन रे अब कुन चाहिं अब्बल त ? कतिपय दूरदराजका बिद्यालयहरु जहाँ श्रोत साधनको अत्यधिक अभाव छ र तिनका बिद्यार्थीहरु फरर न अंग्रेजी बोल्न सक्छन न नेपाली नै तर एकै पटक तिनटा भाषा संगै सिक्दै पढ्दै छन, बुझेका छन तर निख्खर प्रस्तुति दिन जान्दैनन अब कुन मापकको आधारमा कसलाई अब्बल मान्ने र कसले ?
बिशेष गरी कक्षा तीन सम्म एकिकृत सिकाई जसमा मुख्यगरी अंग्रेजी, गणित, नेपाली र सामाजिक अध्ययनलाई एकिकृत गर्दै बिद्यालय अवस्थित रहेको समाजको संस्कृतिक, आर्थिक र शैक्षिक अवस्था अनुरुपको पाठ योजना बनाएर सहि तरिकाले लागु गर्ने हो भने बिद्यालयहरुको गुणात्मक शिक्षाको आधार सहजै बनाउन सकिन्छ तर बिडम्बना यहाँ सम्म छ कि कक्षा तीन सम्म पनि दशौंवटा भन्दा बढी पुस्तक अनिवार्य गरेका बिद्यालयहरुलाई आफै थाहा छैन कि पुस्तकको संख्या किन बढी राखिएको छ न त कुनै सम्बन्धित निकायले अनुगमन नै गरेका हुन्छन | प्रशिक्षणको नाममा गरिने शैक्षिक आशक्तिकरणको प्रकोप झनै डरलाग्दो छ | खासमा बिद्यालयले आफ्नो बिद्यार्थीहरुको विशेषत: सामाजिक गुणको विकास, सिक्ने सीपको अभिवृद्धि, ब्यक्ति र बिश्वसंग जोडिने शिपको विकास लगायत आत्मनियन्त्रणको कला सिकाउनु पर्ने हो | यसमा बालबालिकाको चौतर्फी विकासका लागि शिक्षकहरुको सहयोग र सहजीकरण आवश्यक पर्दछ | बालबालिकाको वैयक्तिक,शारीरिक, सामाजिक, संज्ञानात्मक, नैतिक, मनोवैज्ञानिक र संवेगात्मक पक्षको विकासमा जोड दिईने शिक्षणका लागि शिक्षकलाई चाहिने शैक्षिक सामग्री र शिक्षण शिप एक कुशल प्राचार्यको सहजीकरणले शिक्षकले आँफै निर्माण तथा संकलन गर्न सक्छन |
अचेल प्राय सुन्ने गरिन्छ कि बिद्यालय शिक्षाबाट नैतिक शिक्षाको किताब हटाई दिएकोले समाजमा नैतिकता घट्दो छ र प्राय ती ब्यक्तिहरुले भन्ने गरेको देखिन्छ जो आफु नैतिक शिक्षा पढेका थिए तर तिनको जीवनमा यसको कुनै पनि प्रभाव देखिएको हुँदैन | त्यसो भए एउटा प्रश्न विचारनीय छ कि बालबालिकामा नैतिकता सिकाउन पुस्तक नै चाहिन्छ ? एकातिर पुस्तक मात्रको अध्ययनले बिद्यालय शिक्षा पूर्ण हुन् सक्दैन भन्छौ भने अर्को तिर फेरी पुस्तक कै कारण देखाउदै जिम्मेवारीबाट पन्छिन खोज्छौं | समय अनुसारको परिमार्जन गर्नुको बिकल्प छैन | जस्तोकि हिजोको दिनमा कुनै इमान्दार दाउराकाट्ने बन्चरोको कथाले बालबालिकालाई आवश्यक नैतिकता सिकाउन सहज थियो भने आजको दिनमा सामाजिक संजालहरुको प्रयोग संग सम्बन्धित इमान्दारीताको कथाले प्रेरित गर्ला |
कुनै पनि समाजको सोचमा परिवर्तन ल्याउन तत्कालिन समय, सन्दर्भमा उत्पादित उदाहरणहरुको भूमिका अतुलनीय हुन्छ | बिशेष गरी बालबालिकालाई सिकाउन खोजेको बिषयबस्तु तिनका दैनिकी संग जोडिने, आफ्नो वरिपरी हेर्ने, अनुभूति गर्न सक्ने खालका हुनुपर्छ अनि मात्रै त्यसले तिनका ब्यबहार, सोच्ने शैलीलाई प्रभावित पार्छ | यदी किताबमा असाध्यै महान विचार र त्यागको कथा पढाउने तर घर, बिद्यालय,समाज जताततै तिनले अनुभूति गर्ने कुराहरु बिपरित रहेछ भने त्यसले सकारात्मक प्रभाव पार्न सक्दैन |
अहिलेको समयमा सामाजिक संजाल संग नजोडिएका बिरलै होलान किनकी दैनिकी संग अभिन्न रुपमा प्रगाढ सम्बन्ध स्थापित गरेको समाजिक संजालहरुको प्रभाव समाजमा दिनानुदिन बढदैछ जसको सकारात्मक र नकारात्मक प्रभावहरु छदैछन | यसले मानवीय सम्बन्धहरुलाई गहिरो भावनात्म तहको अनुभूति भन्दा दृश्य प्रतिक्रियाहरुमा सिमित हुदै गएको भेटिन्छ | जस्तोकि केहि मिनेट वा सेकेन्ड कै अन्तरालमा सामाजिक सन्जालमा कसैको मृत्यु प्रति समबेदना प्रकट गरिन्छ भने ठ्याक्कै तलको अर्को पोस्टमा शुभकामना अनि तेश्रो पोस्ट आउना साथ माथिल्ला अनुभूतिहरु हराई सकेका हुन्छन | मानवीय सम्बेदनशीलताको अनुभूति समय घट्दो छ |
अबको मूल प्रश्न भनेको अब्बल शिक्षा भनेको के ? साक्षरताको लागी, सिर्जनसिलताको लागी, समाज देखि बिश्वसम्मको आवश्यकता पुरा गर्न मानवश्रोत तयार गर्नको लागी वा आफु,समाज र देशलाई माया गर्ने समाज प्रति दायित्वबोध भएको एक सफल पुस्ता निर्माणको लागी ? अब्बल बिद्यार्थी भनेको के ?
वीणा झा – समाजशास्त्री
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )