बिहान बेलुका मान्छेहरुको भिड लाग्ने बेनीको हुलाकचोक स्थित कमल स्टेशनरीमा आजभोली त्यति चहलपहल देखिदैन । एक समय पत्रपत्रिका किन्न र पढ्न भिडभाड हुने पसलमा आजभोली पत्रिका त आउछन तर किन्ने मान्छे प्राय हुदैनन् । नियमित ग्राहक बनेका बाहेक अन्य त्यहाँ पुग्दैनन । केहि पर म्याग्दीको पुस्ताकालय छ । जहाँ दिनभरी र बिशेष गरि साँझपख कर्मचारी, शिक्षक विद्यार्थीहरु खचाखच हुनेगर्थे, पुस्तक ल्याउने लैजाने काम हुन्थ्यो आजभोली त्यतापनी सुनसान छ । पुस्तकालयले मान्छे पाउन छोडेको छ ।
म्याग्दी बहुमुखी क्याम्पसको लाइब्रेरीमा पनि त्यस्तै अवस्था छ । विद्यार्थीहरु पहिला खुबै किताब लैजाने र पढ्ने गर्थे तर आजभोली धरै कम मात्रामा किताब ल्याउने र लैजाने गर्दछन । शिक्षकहरु समेत लाइब्रेरीमा कमै छिर्छन । विद्यालयमा रहेका पुस्तकालयको अबस्था प्रायः उही र उस्तै छ । आजभोली किन मानिसहरु किताब पढ्न छोडे ? धेरैको एकै खाले उत्तर आउछ मोबाइलले गर्दा हो, त्यो सहि पनि हो । पत्रपत्रिका र किताब समेत अनलाइनमा आउने भएपछी सजिलो त हुने नै भयो तर मोबाइलमा पढ्नु र किताब पढ्नु नितान्त फरक कुरा हुन् । किताब पढ्नुको आनन्द र त्यसको महत्व अर्कै छ । आजभोली यसो हुनुमा हामीमा पठन संस्कृति हराउदै गएको हो त ? यस बिषयमा केहि चर्चा गरौँः
पुस्तक ज्ञानको स्रोत हो । अनुभवको भण्डार हो । एउटा व्यक्तिले आफ्नो मात्र जीवन अनुभव गर्ने अवसर पाउँछ तर पुस्तक पढनेले धेरै जनाको जीवनको अनुभव गर्ने अवसर पाएको हुन्छ । पुस्तकका माध्यमबाट जीवन र जगतलाइ बुझ्न सकिन्छ । किताबमा लेखिएका मानिसका सङ्घर्ष र सफलताका कथाले उत्प्रेरणा प्राप्त गर्न सकिन्छ । पुस्तकले ज्ञानका साथै आनन्द दिने, मन बहलाउने अवसर पनि प्रदान गरेको हुन्छ । हामी आफूभित्र विवेकको विकास गरी सचेत र जिम्मेवार नागरिक बनी सकारात्मक समाज निर्माण गर्न चाहन्छौँ यसका लागी पठन संस्कृतिले यस अभियानमा सहयोग गर्दछ ।
पठन संस्कृति पढने कुरालाई प्राथमिकता दिने संस्कृति हो । यो ज्ञानआर्जन र ज्ञानप्रयोगसँग सम्बन्धित छ । पठन संस्कृतिले समाजको शिक्षाप्रणाली र व्यवहारसँग प्रत्यक्ष सम्बन्ध राख्दछ भने मानिसको बौद्धिक विकास र प्राज्ञिक व्यवहारलाई समेत प्रत्यक्ष प्रभाव पार्दछ । भोलिका समाजका विभिन्न पक्षका खम्बा भन्नु नै आजका बालबालिका, विद्यार्र्थीहरू हुन् तसर्थ उनीहरूमा पठन संस्कृतिको विकास गरी भोलीको सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रयत्न गर्नु आजको आवश्यकता हो । तर पछिल्लो पुस्तामा पुस्तक पढने बानी घटदै गएको छ । विद्यालय तहका धेरैजसो विद्यार्र्थीहरूले पनि पढनु भनेको पाठ्यपुस्तकहरू मात्रै पढनु हो भन्ने बुझेका छन् । विद्यार्र्थीले पाठ्यपुस्तक अवश्य पढनुपर्छ तर विद्यार्थीहरुका लागि पाठ्यपुस्तक पर्याप्त हुँदैन । जसरी एउटा बढदो उमेरको बालकले भात मात्र खाएर पुग्दैन उसले तरकारी फलफूल दूध दही समेत खानुपर्छ । ठीक त्यसैगरी विद्यार्थीहरुले पाठ्यपुस्तकका अतिरिक्त अन्य ज्ञानबर्धक पुस्तकहरू अध्ययन गर्नुपर्छ ।
माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई तिमीले पढेका कुनै दुई ओटा पुस्तकहरूको नाम भन भनेर सोध्यो भने विद्यार्थीहरु अकमक्क पर्छन किन कि उनीहरुले पढेकै छैनन् । उनीहरू नेपाली वा सामाजिक वा विज्ञान भनेर जवाफ दिन दिन्छन । तसर्थ विद्यार्थीहरुमा, विद्या वा ज्ञानको स्रोत पुस्तक पढने बानी घटनुलाई राम्रो संकेत मान्न सकिन्न । त्यसैले पठन संस्कृतिको बिकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने बेला आएको छ ।
पठन संस्कृतिको शुरुवात घररपरिवारबाट नै गरिनुपर्छ । परिवारमा आमाबाबुले बालबालिकाहरूको शारीरिक विकासमा मात्रै नभई मानसिक वा मनोवैज्ञानिक पक्षमा सुधार ल्याउन उनीहरूलाई स्तरीय बाल साहित्य पढ्न प्रेरित गर्नुपर्छ । हामी आमा, बुबा, हजुरबा हजुर आमाले सुनाएका कथा सुनेर हुर्कियौं । त्यस्ता कथाले नैतिकवान, चरित्रवान र सकारात्मक चिन्तनयुक्त व्यक्ति निर्माण गर्न ठूलो भूमिका खेल्थ्यो । त्यो चलन प्राय घट्दो छ । ससाना उमेरका बालबच्चालाई सकारात्मक चरित्रको विकास गर्ने खालका कथा सुनाउने गर्नु राम्रो हुन्छ तर आजभोली एकात्मक परिवारको अवधारणाले हजुरबुवा हजुरआमाको साथ पाउन मुस्किल छ । अझै बाबुआमाको व्यस्तताले गर्दा बालबच्चाले उनिहरुसंग समय नै पाउदैनन फलतः उनीहरुमा मनोसामाजिक समस्या समेत बढ्दै गएको देखिन्छ । अहिले विद्यार्थीहरुमा क्रमशः पढाइप्रति रुची खस्कँदो छ । एक त विद्यार्र्थीहरू पुस्तकमा रमाउने भन्दा अन्य फजुल कुरामा समय कटाउने क्रम बढदो छ । कक्षामा जेहेन्दार भनिएका विद्यार्थीहरू पनि कक्षागत पाठ्यपुस्तक बाहेक अरू पुस्तक पढन आवश्यक ठान्दैनन् । यस्तो प्रवृत्तिले विद्यार्थीहरूको ज्ञानको दायरालाई घटाउँदै लगेको छ ।
यतिबेला विद्यार्थीहरूमा मात्र होइन नेपाली समाजमा नै पठन संस्कृति प्रतिको रुची घटदो छ । शिक्षक, विद्यालय र समुदायको समेत पठन संस्कृतिको बिकास गराउनुमा महत्वपुर्ण भूमिका रहन्छ । पढ्ने ठाउँ भनेको विद्यालय हो र पढाउने भनेका शिक्षक हुन तर यहिँ नै समस्या देखिन्छ, जस्तै पठन संस्कृतिबारे छलफल गर्ने सन्दर्भमा भेटिएका कतिपय शिक्षकका कुरा सुन्दा छक्क परिन्छ । उहाँहरू भन्नुहुन्छ मैले त आफ्ना पाठ्य–पुस्तक बाहेकका अरु किताब पढेकै छैन । नभएको समय खर्च गरी–गरी किन अरु किताब पढ्नु ?
कतियप शिक्षकले त पाठ्य–पुस्तक बाहिरका किताब पढ्दा विद्यार्थीहरु बिग्रन्छन् भन्ने कु–विचार बोकेको पनि पाइन्छ । शिक्षकले नपढ्नु जस्तो घातक कुरा शिक्षा क्षेत्रमा अरु कुनै छैन । त्यो भन्दा पनि घातक चाहिँ विद्यार्र्थीलाई पढ्न उत्साहित नगर्नु हो । सरकारले वर्षेनी शिक्षक तालिममा खर्च गरेको करोडौं रुपैयाँ तबसम्म लगानी बन्न सक्दैन, जबसम्म तिनले पठन संस्कृतिको विकास गर्दैनन् । एउटा शिक्षकले कम्तीमा महिनामा एउटा राम्रो किताबमात्रै पढ्ने हो भने उसलाई तालिमको खासै आवश्यकता पर्दैन जस्तो लाग्छ ।
अर्को समस्या भनेको विद्यालय पनि हो । आजभोली शहरी क्षेत्र र ग्रामिण क्षेत्रमा समेत कतिपय विद्यालयले पठन संस्कृतिका लागि कक्षाकोठाभित्र किताबी कुना (Book Corner) स्थापना, जन्मदिनमा पुस्तक उपहार दिने, रिडिङ क्लब स्थापना गर्ने र कतै कतै पुस्तकका लागि चन्दा सङ्कलन तथा ग्रामीण स्थानका विद्यालयमा पुस्तकालय स्थापना गर्न सहयोग गरिरहेका छन् । तर वर्तमान सन्दर्भमा पठन संस्कृतिको बाधकका रूपमा विद्यालय पनि देखापर्न थालेका छन् । कतिपय विद्यालयका प्रशासक र शिक्षकहरु नै पठन संस्कृतिले विद्यार्थीहरुमा ल्याउने परिबर्तनप्रति त्यति चासो दिइएको पाइदैन । शैक्षिक सत्र पुरा हुन्जेल कोर्ष सक्नुपर्छ पुनरावृत्ति (Revision) गराउनु पर्छ र राम्रो अंक ल्याएर पास हुनुपर्छ भन्ने कुरालाई नै जोड दिइएको हुन्छ यसरी कोर्स मात्रै सक्ने धुनमा लाग्दा पाठ्यपुस्तकका अलावा कथा, कविता, जीवनी, विज्ञान, संस्कृति, भूगोल, इतिहासका पुस्तक अध्ययनले विद्यार्र्थीहरूमा व्यवहार कुशल सीप, तर्कगर्ने क्षमता विकास र सिर्जनशीलता अभिवृद्धि हुन्छ भन्ने कुरालाइ त्यति महत्व दिन छोडिएको छ
अव अभिभाबकहरुका कुरा बेग्लै हुन्छन । अहिलेको अबस्थामा हाम्रा अभिभाबकहरु आफ्ना छोराछोरीलाई महँगो मोबाइल, लुगा, जुत्ता, घडी, खेलौना किन्दिन तयार हुन्छन्, तर पुस्तक किन्दिन तयार हुँदैनन् । विद्यालयले पुस्तक किनाएर पठायो भने अतिरिक्त आर्थिक बोझ थोपरिदिएको भनेर गुनासो गर्छन् । जाँचमा नआउने कुरा किन पढ्नु भन्ने मान्यता धेरैले बोकेका हुन्छन् । हो, सबै किताब राम्रा हुँदैनन् अनि सबै खानेकुरा पनि त राम्रा हुँदैनन् । मानिसको दिमागलाई आवश्यक पर्ने खुराकचाहिँ राम्रा किताबले पक्कै पनि परिपूर्ति गर्छन् । यस्ता पुस्तक सम्पत्ति र घरका गहना पनि हुन् । चौबिसै घन्टा मोबाइल र ग्याजेटमा टाँसिन खोज्ने बालबालिकाको हातमा किताब थमाउने कोसिस गर्दा कति राम्रो हुन्थ्यो होला ? अध्ययनले के देखाएको छ भने, ग्याजेट प्रयोगकर्ताको सूचीमा नेपाल विश्वको सातौं स्थानमा पर्दो रहेछ । यसले हामीलाई कता लाँदैछ ? अनि अभिभावकले यसबारेमा नसोचे कसले सोच्ने ? छोराछोरी संगै बसेर पढौं अनि त उनीहरुमा पनि पढ्नुपर्ने रहेछ भन्ने भावनाको बिकास हुन्छ ।
बर्तमान समयमा इन्टरनेट मोबाइल र कम्प्युटरले गर्दा धेरैकुरा लोप भए इन्टरनेट अनि मोबाइल आयो, रेडियो गयो, पत्रपत्रिका गए, टिभी गए, घडी गयो, टर्च लाइट गयो, किताब पनि गए । अहिले हामी सबै हातहातमा मोबाइल र घरघरमा इन्टरनेटको पहुँचमा छौ । प्रविधिको विकासलाई आत्मसात गर्नुको विकल्प छैन । सूचना प्रविधिको यो उपलब्धिले हाम्रो जीवनस्तर माथि उठेकोक देखाउँदछ । तर अहिलेको प्रश्न यो हो कि हातमा पुस्तक, पेन्सिल र कपी हुने ससाना हातमा मोबाइल राखी दिँदा यसले फाइदा गर्छ कि बेफाइदा ? विदेशबाट घर फर्केका बाबु, आमा, दाजुले छोराछोरी भाइबहिनीलाई ल्याइदिने कोशेलीको पहिलो नम्बरमा मोबाइल नै पर्दछ । अहिलेका अधिकांश विद्यार्थीहरूको हातमा मोबाइल छ । बालबालिकालाई अभिभावकले मोबाइलका रूपमा नसालु पदार्थ हातमा राखिदिएका छौं । जसले विद्यार्थीहरुलाई बिस्तारै मारिरहेको छ ।
हामीलाई लाग्न सक्छ, अहिलेको युगमा मोबाइल र कम्प्युटरमै पुस्तक उपलब्ध छ । अझ पुस्तक श्रव्य रुपमा ९ब्गमष्य द्यययपक० पनि उपलब्ध भइरहेका छन् । त्यसैले कागजी पुस्तक किन पढिरहनु पर्यो ? पुस्तक जुन रूप, जुन तरिकाबाट भए नि पढन सकिन्छ । तर कागजी पुस्तकमा डुबेर पढनुको मज्जा मोबाइल र कम्प्युटरका पर्दामा घोत्लिँदा पाइँदैन । उदाहरणको लागी मैले मोबाइलमा वा कम्प्युटरमा कुनै किताब पढिरहेको छु अचानक मेरो सामाजिक संजालमा कुनै संदेश (Message) आएको नोटिफिकेसन बज्यो अव मेरो ध्यान भंग भयो म सामाजिक संजाल खोल्न पट्टि लाग्छु अनि पढ्न छोडेर घन्टौं भुल्छु होइन त ?
मोबाइलका कारण विद्यार्र्थीहरू गलत मानिसका सम्पर्कमा पर्ने गरेको पनि देखिएको छ । तपाईं हाम्रै घरको कुरा गर्नेहो भने कोही फेसबुकमा व्यस्त हुन्छन् । कोही युटुवमा झुम्मिन्छन् । कोही टिकटकमा रमाइरहेका हुन्छन् । धेरैले मोबाइल गेममा समय बर्बाद गर्ने गरेका छन् । फेसबुकमा दिनहुँजसो व्यक्तिगत क्रियाकलाप र फोटो सार्वजनिक गरेर रमाइरहेका हुन्छन् । यसैगरी फ्रिफायर र पब्जी जस्ता इन्टरनेट गेमका कारण बालकमा कोमलता, दया जस्ता भावना ह्रास हुँदै जाने र आपराधिक मानसिकताको जन्म हुन पुग्ने सम्भावना रहन्छ ।
वाल मनोबिमर्शकर्ताहरु भन्छन्, अहिले मोबाइलको लतले कलिलो बाल मनस्थितिमा नकारात्मक असर पारिरहेको छ । विद्युतीय सामग्रीको बढी प्रयोग गर्ने बालबालिका झगडालु र छिटो रिसाउने किसिमका बन्छन् । उनीहरू एकलकाटे र अरुको वास्ता नगर्ने बन्छन् । एकाग्रता क्षमता घटदै जान्छ जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिको विकास हुन्छ ।
जुनसुकै चिज पनि उमेर र आवश्यकतामा आधारित हुनुपर्छ । एउटा घर छोडेर डेरामा बस्ने विद्यार्थीलाई मोबाइल अनिवार्य हुन सक्ला तर घरमै बसेर अध्ययन गर्ने आठ नौ कक्षाका विद्यार्थीहरुका लागि मोबाइल नभइ नहुने चिज होइन । विद्यार्र्थीलाई निर्बाध मोबाइल प्रयोग गर्न दिनु उनीहरूलाई बिगार्नु हो । मोबाइलको अधिक प्रयोगले पुस्तकमा रमाउनु पर्ने बालक पुस्तकबाट बिस्तारै टाढिदै जान थाल्छन् । अनि पढाइको समय कटौती त हुन्छ नै उनीहरूको मन अनावश्यक चञ्चल भई पढाइप्रति उदासिनता बढेर जान्छ । कतिपय विद्यार्थी उमेरै नपुगी कथित कच्चा प्रेमको फन्दामा परी पढाइ र जिन्दगी नै बर्बादीको मुखमा पुगेको घटना हामीले देखे सुनेकै छौँ ।
हालसालै एउटा विद्यालयको कक्षा ५ मा पढ्ने ११ वर्षको विद्यार्थीले झुन्डिएर आत्महत्या गर्यो । घरमा मोबाइल एउटा मात्रै रहेछ दुई भाइले त्यहि मोबाइल चलाउनुपर्ने आफुले धेरै मोबाइल प्रयोग गर्न नपाउँदा झुन्डिएर देह त्याग गर्यो । यसले के देखाउदछ भने मोबाइलको लतले कसरी जीवन बर्बादी बनाउदै छ । किशोरावस्थाका बालबालिकामा बहकाउमा लाग्ने, भावनामा डुब्ने ज्यादा सम्भावना भएकोले पनि अभिभावकले विशेष ध्यान पुर्याउनु अत्यन्तै जरुरी छ ।
बालबालिकाहरूलाई मोबाइल छुनै दिनुहुन्न भन्ने होइन । तपाईं हामी (अभिभाबक) नै एकैछिन मोबाइल नछोई बस्नै सकिदैन भने बालबालिकालाई कस्तो हुँदो हो ? त्यसैले बालबालिकालाई विद्युतीय सामग्रीसँग परिचित गराउनु, चलाउन सिकाउनु पर्छ । तर ज्यादा स्वच्छन्दताले पार्ने नकारात्मक प्रभावलाई भने शिक्षक र अभिभावकहरूले सचेततापूर्वक विचार गर्न आवश्यक छ ।
विद्यार्थीहरुले मोबाइलमा डिक्सनरी डाउनलोड गरेर कठिन शब्दको अर्थ खोजेर सिकाइमा सुधार ल्याउन सक्छन् । पठनपाठन सम्बन्धी सम्पूर्ण विषयको जानकारी गुगलले राखिदिएको छ । त्यसबाट आफूलाई आवश्यक पर्ने कुरा खोजी गरेर नजानेको कुरा सिक्न सकिन्छ । आफ्नो ज्ञानको भण्डार फराकिलो पार्न सकिन्छ । मोबाइल र इन्टरनेटको माध्यमबाट शिक्षण सिकाइसँग सम्बन्धित धेरै कुरा खोज्न सकिन्छ । अहिले त ब्क्ष् को समयमा इन्टरनेट र मोबाइलको प्रयोग त झन्डै कल्पना बाहिरको कुरा भैसकेको छ । तर केवल हल्का मनोरञ्जनका लागि यसको प्रयोग बढी हुने गरेको छ । दुखको कुरा हरेक दिन मोबाइल र सामाजिक सञ्जालमा झुम्मिने विद्यार्थीको दिमागबाट पठन संस्कृति दिनानुदिन विमुख हुँदैछ । यदि घरमा अभिभावकले विद्यालयमा शिक्षकले सकारात्मक भूमिका खेलिदिने हो भने पठन संस्कृतिको विकास हुनेछ ।
सानैदेखि बालबालिकालाई पुस्तकप्रतिको भोक जगाउने जिम्मेवारी अभिभावक र शिक्षकको हो । विद्यार्र्थीहरूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल, नाट्य सम्राट बालकृष्ण समलगायत भूपी सेरचन, पारिजात विश्वेश्वरप्रसाद कोइराला आदिका कालजयी कृतिको तथा नयाँ पुस्ताका कवि लेखकहरूका चर्चित पुस्तककृतिसँग परिचित गराउनुपर्छ । विश्व प्रसिद्ध साहित्यकार, वैज्ञानिक राजनीतिक व्यक्तित्व, सफल व्यवसायीहरूको जीवनी अध्ययन गर्न लगाउनुपर्दछ । भविष्यका उत्कृष्ट साहित्यकार, सर्जक उत्पादन गर्न पनि पठन संस्कृतिले महत्वपुर्ण भूमिका खेल्दछ । शिक्षकहरूले स्वय्म पनि आफूलाई अद्यावधिक गर्नका लागि व्यस्तताका बीचमा पनि समयको जोहो गरेर नियमित रूपमा पुस्तकहरू अध्ययन गर्नुपर्छ । विद्यार्थीहरूलाई शिक्षकहरूले समय मिलाएर वर्षको कम्तिमा पनि चार पाँच ओटा पुस्तक आफनो रुचिअनुसार पढन प्रेरणा दिनुपर्छ । उनीहरूलाई पढनुको महत्वका बारेमा बुझाउनुपर्दछ । विद्यालयको पुस्तकालयमा नयाँ प्रकाशन भएका उपयोगी पुस्तक खरिद गरिदिएर पुस्तकालयलाई अद्यावधिक गरिदिनुपर्छ । विद्यार्थीहरूले पनि आफ्ना विद्यालयमा भएका पुस्तकालयको भरपुर उपयोग गर्नुपर्दछ ।
बालबालिकालाई असल बनाउन बाबुआमा धेरै चिन्तनशील हुने गर्छन । यसका लागि राम्रा पुस्तक पढन दिनु पनि एउटा उपाय हो । अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई जन्मदिन लगायत विभिन्न अवसरमा उपहार दिँदा उपयोगी पुस्तकहरू दिने परम्परा बसाल्नु राम्रो हुन्छ । सहरबजारबाट घरमा आउँदा छोराछोरीलाई चकलेट, बिस्कुट, कोशेली, खेलौना ल्याउँदा बालोपयोगी पुस्तक र बाल पत्रिका समेत ल्याइदिने गर्नुपर्दछ । यसले पठन संस्कृतिमा सहयोग पुग्दछ । विद्यार्र्थीले पाठ्यपुस्तकका अतिरिक्त विविध विषयका पुस्तक पढनुपर्छ । पठन संस्कृतिको विकास गर्नका लागि बालबालिकाहरूमा पढ्ने बानीको विकास गर्नु जरुरी छ । बालसाहित्य र जीवनोपयोगी विभिन्न विधाका पुस्तकहरू किन्ने र आफ्ना बालबालिकाहरूलाई पढ्न उत्प्रेरित गर्न सकियो भने बालबालिकाहरूमा पढ्ने बानीको विकास हुन्छ । घरमा पनि पठन मैत्री वातावरण सिर्जना गर्नुपर्छ ।
घरमा परिवारका अन्य सदस्यहरूले नियमित पुस्तक पढ्ने संस्कार बसाल्न सकियो भने बालबालिकाहरू ले देखासिखी गर्छन् । उनीहरू अध्ययनप्रति अभिमुख हुन्छन् । सधैभरि नसके पनि कम्तिमा पनि बर्खे बिदामा, दशै बिदामा, वार्षिक परीक्षा सकिएपछिको लामो बिदामा समय बिताउनका लागि बालबालिकालाई सकेसम्म राम्रा किताब पढने वातावरण मिलाइदिनु पर्दछ ।
अन्तमा पठन संस्कृति बिकासका लागी पाठ्य सामग्रीको उपलब्धता पनि पाठकका लागि महत्त्वपूर्ण हो । आफूले पढ्न चाहेको पुस्तक सबैले किन्न सक्छन् भन्ने छैन । त्यसैले सहरका प्रत्येक टोलमा र गाउँका कम्तीमा पनि एउटा वार्डमा एक सानो सार्वजनिक पुस्तकालय हुनु जरुरी छ । पढाइ बिथोल्ने वस्तु र सामग्रीबाट टाढा रहने इच्छाशक्ति महत्पूर्ण छ । साथै व्यक्तिको रुचि अनुसारको पाठ्य सामग्रीको उपलब्धता, पढ्न सहज लाग्ने माध्यममा पहुँच, गाउँ टोलमा पुस्तकालयको व्यवस्था, औपचारिक शिक्षाको आधारभूत तहदेखि नै पढाइको महत्व र फाइदाको जानकारी दिने प्रणालीको विकास आदि भयो भने पठन संस्कृतिमा सकारात्मक परिवर्तन आउनेछ । पठन संस्कृतिले मानिसलाई अध्ययनशील बनाउने मात्रै नभई पुस्तकलाई प्रेम गर्ने भावनाको विकास हुन्छ र विद्यार्थीको पढाइमा समेत सकारात्मक नतिजा ल्याउन सहयोग पुग्दछ ।
लेखक : न्यु वेष्ट पोइन्ट आवासीय मावि बेनी म्याग्दीका शिक्षक हुनुहुन्छ
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )