देवी जिसी, म्याग्दी /साउन-११,
तीज आउन डेढ महिना अझै बाँकी छ तर नेपाली सांगीतिक बजारमा तीजका गीत /म्युजिक भिडियोहरु आउन थालेका छन् । साउनको पहिलो हप्ता एउटा गीत युट्युबमा रिलिज भयो यो वर्ष सार्वजनिक अन्य गीत भन्दा अल्ली फरक खालको “छोरी” नामको गीत । गीतको विभिन्न पक्षको चर्चासंगै प्रतिक्रिया आउन शुरु भयो । स्याम/स्वेत खालको उक्त भिडियो एक एतिहासिक खालको रहेको छ ।
गीतकार नकुल ढकाल नबिनले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको म्युजिक भिडियो सतीप्रथाको कथा बस्तु र सो समय अर्थात आज भन्दा सय वर्ष पहिलाको सामाजिक परिस्थिति (छुवाछुत, पारिबारिक बेमेल ) लगायतका बिषयबस्तु समेटेर तयार पारिएको छ । गीतको शब्द, गायन , संगीत संयोजन, लय र छायांकन उत्कृष्ट रहेको छ त्यसै मध्ये उक्त म्युजिक भिडियोमा अभिनय गर्ने एकजना कलाकार पात्रको अहिले निकै चर्चा छ । भिडियोमा बिधुवा बुहारीको भूमिकामा अभिनय गरेकी मेनुका पुनको अहिले सर्वत्र चर्चा भैरहेको छ ।
धेरैको प्रशंसा पाएकी एक परिपक्क र अनुभवी कलाकारको झैँ प्राकृत र जीवन्त अभिनय गरेकी मेनुका पुन अहिले म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट बोर्डिंग स्कुलमा कक्षा ९ मा पढ्दै छिन । म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका-६ कोटगाउँ स्थायी ठेगाना भएकी पुन परिवारसंगै अहिले पर्वत जिल्ला जलजला गाउँपालिका -३, बौरमा बसोबास गर्दै आएकी छिन । बाबा लाल प्रसाद पुन र आमा खिम माया पुनका दुई सन्तान मध्येकी एक छोरी हुन् मेनुका उनका एकजना दाइ छन् । १४ वर्षकी मेनुका घरको काम सघाउने मात्रै नभई खेलकुद, नृत्य र पढाइमा समय ब्यबस्थापन गर्न सकेकी छिन । विद्यालयमा हुने नृत्य र अभिनयका कार्यक्रममा उनले नियमित सहभागी हुने गर्दछिन । घरपालुवा जनावर बिरालो र कुकुरलाई असाध्यै माया गर्ने र फुर्सदको समयमा कपडाको तान झोला स्वेटर बुन्ने काममा आमालाई सघाउनेर सिक्ने समेत गर्दछिन ।
हँसिली र शान्त स्वाभाव भएकी मेनुका यसभन्दा अगाडी कुनै म्युजिक भिडियोमा अभिनय गरेकी छैनन् तर युवा तथा बालबालिका मन्त्रालयले बालदिवसको अवसरमा आयोजना गरेको राष्ट्रिय भिडियो प्रतियोगितामा पहिलोपटक अभिनय गरेकी थिइन । उक्त भिडियोले देशाभर मै दोश्रो स्थान प्राप्त गरेको थियो । त्यसैगरी यसैवर्ष शिक्षा मन्त्रालयले आयोजना गरेको बाल अधिकार सम्बन्धि भिडियो प्रतियोगितामा म्याग्दीबाट प्रथम भइ गण्डकी प्रदेश मार्फत राष्ट्रिय प्रतियोगितामा छनोट भएको छ ।
नेपाल टेलिकमले यसैबर्ष आयोजना गरेको १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुले सहभागिता जनाउने सिंगल टेक भिडियो (साइबर सुरक्षा) सम्बन्धि भिडियोमा प्रथम भएको थियो । जुनसुकै भूमिकामा पनि राम्रो अभिनय गर्नसक्ने मेनुका विद्यालयमा आयोजना हुने एकांकी नाटकमा सधै उत्कृष्ट हुने गर्दछिन । अभिनय मात्रै नभएर नृत्यमा समेत अब्बल मेनुका म्याग्दी जेसिजले आयोजना गर्ने माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा २ पटक सम्म विद्यालयको प्रतिनिधित्व गर्दै प्रथम भएकी छिन । विद्यालयका शिक्षक कृष्ण जिसी भन्छन “नाच्न अभिनय गर्न र कुनै अडियो जिंगलमा पनि उनि राम्रो आवाज दिन्छिन, पढाइमा उनि अब्बल छिन कक्षामा दोश्रो तेश्रो हुने गरेकी मेनुकाकी आमा समेत राम्रो लोक दोहरी गायिका हुन् । ” आमाले गाएको बेनीबजार नामको गीतमा समेत उनले समूह नृत्य गरेकी छिन ।
अहिले युट्युबमा राम्रो भ्यु पाइरहेको “छोरी” गीतमा धेरैजनाले मेनुकाको अभिनयको प्रशंशा गरेका छन् । भिडियोका छायाँकार क्रियटिभ मिडिया प्रडक्सनका डाइरेक्टर भुपेन बानियाले भने “नानी अत्यन्तै क्षमतावान लाग्यो, यति सानै उमेरमा एकपटक बिषयबस्तु भनेपछि निर्धक्कसंग अभिनय गर्न सक्ने उनको क्षमता छ । ” त्यस्तै गीतका सर्जक नकुल ढकालले भन्छन ” कस्तो गर्लिन भन्ने द्विविधा थियो तर उनको क्षमताले गीतलाई साच्चै नै न्याय गरेको छ र भविष्यमा उनको माग धेरै हुने छ भन्ने मलाइ लागेको छ ।”
पढाइसंगै भविष्यमा नृत्य र अभिनयलाई अगाडी बढाउने उद्देश्य लिएकी मेनुका पुनले अहिले सामाजिक संजाल फेसबुक, टिकटक र इन्स्टाग्राममा धेरैले बधाई र शुभकामना दिने गरेको बताइन । कलिलै उमेरमा उनको यो प्रयासले उनको भबिष्य उज्वल छ भन्ने बिश्वास गर्न सकिन्छ । आगामी दिनमा उनको शैक्षिक र अभिनय कलालाई मिलाएर अघि बढेमा उनको भविष्य सुनौलो रहनेछ ।
भिडियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )