म्याग्दी, चैत २०, म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा अपाङ्गमैत्री टर्मिनल भवन निर्माण भएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङको दुई करोड ७५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवन बेनी नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ।
बेनी नगरपालिका वडा नं ८ कालीपुल बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालनका लागि गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण गरिएको हो। देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन बिसौनीको रूपमा प्रयोग हुँदै आएको कालीपुल बसपार्कमा यात्रुलाई सहज सुविधाका लागि टर्मिनल भवन निर्माण गरेको बेनी नगरपालिका मेयर सुरत केसीले बताउनुभयो ।
सघन शहरी तथा भवन आयोजना कार्यालय बागलुङले शुभ कन्स्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेअनुसार सुविधासम्पन्न टर्मिनल भवन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गर्न लागिएको आयोजना इका न्जिनियर विना साकटुले जानकारी दिनुभयो। टर्मिनल भवनमा सार्वजनिक शौचालय, बाथरुम, टिकट काउण्टर र यात्रु प्रतिक्षालयलगायतको सुविधा टर्मिनल भवनमा छ।
आयोजनाले भवन हस्तान्तरण गरेर नगरपालिकाको स्वामित्वमा आएमा टिकट काउण्टरको रुपमा प्रयोग गरिने नगर प्रमुख सुरत केसीले बताउनुभयो । उहाँले टर्मिनल भवनमा मात्र टिकट काउण्टर राख्न पाउने जानकारी दिए। आगामी दिनमा टर्मिनल भवनबाहेक अन्य सार्वजनिक क्षेत्रमा काउण्टर राख्न नगरपालिकाले नदिने नगरप्रमुख केसीको भनाइ छ।
‘भवनभित्र आवश्यक पूर्वाधार निर्माण नगरले गर्छ। सबै यातायात व्यवसायीको टिकट काउण्टर सञ्चालन भवनमा भए यात्रुलाई सहज हुन्छ,’ मेयर केसीले भन्नुभयो ‘भवनमा काउण्टर राख्नका लागि यातायात व्यवसायीलाई आवेदनका लागि नगरले सूचना सार्वजनिक गरेको छ।’
बेनीदेखि काठमाडौं, पोखरा, सुनौली, हिमालपारिको जिल्ला मुस्ताङ र देशको विभिन्न स्थानबाट आउने र जाने सवारीसाधनको पार्किङस्थल कालीपुल बसपार्क हो। यातायातको बढ्दो चापलाई मध्यनजर गर्दै बसपार्कमा रहेका पुराना अव्यवस्थित संरचना हटाउँदै बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिका लागिपरेको छ।
बसपार्क निर्माण गर्ने २०७४ को सहरी विकास मन्त्रालयले २१ करोड लागत अनुमानमा बसपार्क गुरुयोजना बनाउने डीपीआर तयारी पारेको थियो। गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघ सरकारको सहकार्यमा बजेट विनियोजनबाट पूर्वाधार निर्माणले निरन्तरता पाएको छ। २०६४ सालमा पर्वत र म्याग्दी जोड्ने कालिगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सुरु भएको थियो। थाहाखबरबाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )