पर्वत, फागुन-१७, पर्वत र बागलुङको मालढुङ्गाका माझी समुदायले मंगलबार लदी पर्व धुमधामसँग मनाएका छन् । पछिल्लो समय लोप हुँदै गएको लदीपूजा (नदीपर्व) यो क्षेत्रमा बसोबास गर्ने माझि समुदायले पहिलो पटक मनाएका हुन् ।
सडक निर्माण र नदीहरूमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा माछा मार्ने, डुङ्गा (नाउ)मा मानिसलाई नदी तार्ने काम बन्द भएपछि लदीपूजा पनि हराउँदै गएको थियो । पर्वतको कुश्मा नगरपालिका वडा नं १ मालढुङ्गामा अहिलेसम्म लदीपूजा हुनसकेको थिएन ।
द्वन्द्वकालमा आएको समस्याका कारण नदीमा पूजा हुनसकेको थिएन । अल्पसङ्ख्यक समुदायअन्तर्गत पर्ने माझी समुदायको परापूर्वकालदेखि नै खोलाको किनारमा बसी माछा मार्ने, डुङ्गामा राखी मानिसलाई नदी तारिदिने काम गर्थे । उनीहरू सधैँ खोला तथा नदीको नजिक हुने, त्यहीँ बस्ने र त्यसैमा आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहिआएको बताइन्छ ।
लदीपूजा गर्नाले माझी समुदायको मुख्य पेसाका रूपमा परिचित पुख्र्यौली पेसा नदीमा डुङ्गा चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास रहेको छ । साथै नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यतासमेत रहेको छ । वर्षातको समयमा नदीले बर्सेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपुर्याओस् भनेर नदीको पूजा गरिँदै आएको स्थानीय बलबहादुर माझीले बताए ।
लदीपूजामा आएका माझी समुदायले मौलिक पोशाक गुन्युचोली र फेटा इस्टकोटमा सजिएका थिए । आफ्नै समुदायमा समेत यसको महत्व उजागर गर्न आवश्यक रहेको उनले बताए । माझी समुदायले मुख्य पर्वका रूपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ । माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरूको माग छ ।
कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले माझी समुदायका समस्या समाधानका लागि नगरपालिकाले आवश्यक पहल गर्ने बताए । उनले माझी समुदायलाई वैकिल्पक बासस्थानको व्यवस्था र पेसाका लागि नगरले पहल गर्ने बताए ।
पर्वत र बागलुङको सङ्गमस्थलमा पर्ने मालढुङ्गामा झन्डै तीन सय माझी समुदायका परिवार बस्दै आएका छन् । लदीपर्वका लागि कुश्मा नगरपालिकाले आर्थिक सहयोग गरेको हो । पोखरा–बागलुङ सडक खुलेपछि सोही आयोजनामा काम गर्ने कामदार पछि माझीको रूपमा यहाँ बस्दै आए पनि अहिलेसम्म राज्यले कुनै सहयोग नगरेको स्थानीय सरु माझीले बताए । उनीहरु अहिले कालीगण्डकी नदीबाट बालुवा निकालेर बिक्री गर्ने तथा बङ्गुरपालनलगायतका व्यवसाय गर्दै आएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )