म्याग्दी, माघ-१५, म्याग्दीमा कुष्ठरोगीको संख्या घट्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला परेका छैनन् । ७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित औषधी सेवन गर्ने ५ जना बिरामी भएपनि दुइ वर्ष यता नयाँ बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
गण्डकी प्रदेशमा १० हजार जनसङ्ख्या मध्ये उपचारमा रहेका बिरामी १ . ९ बाट घटेर हाल ०.२९ रहेको लम्सालको भनाई छ । पुराना बिरामीलाई नियमित औषधी सेवन सहित बिरामीको परिवारका सदस्य तथा आसपासका क्षेत्रमा रहेकालाई भने चेकजाँच गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुबेदीका अनुसार औषधी सेवन गर्नेमा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका २ जना र बेनी नगरपालिकाका ३ जना रहेका छन् । म्याग्दीका केही बिरामीले पोखरमा उपचार तथा औषधी लिने गरेकाले समेत जिल्लाभित्र दर्ता भएका बाहेकको तथ्याङ्क प्राप्त गर्न समस्या हुने गरेको बताउनुभयो । रोग लुकाउनेहरू अन्तिम समयमा उपचारका लागि आउने गरेकाले समस्या हुने गरेको बेनी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शंकरराज लामिछाने बताउनुभयो ।
उहाँले प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध गर्नुभएको छ । समाजमा बहिस्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामूलक कार्यक्रम सहितका अभियान सञ्चालनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
कतिपय रोगीले सामाजिक बहिस्कार र वंशाणुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाई छ । माईकोव्याक्टचोरिया लेप्रे नामक कीटाणुबाट सर्ने यो रोगको औषधि उपचार निःशुल्क रहेको छ ।
पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, स्वास्थ्य कार्यालयका सिनियर अहेव अधिकृत सोमनाथ उपाध्यक्षको स्वागतमा सम्पन्न कार्यक्रममा सूचना अधिकारी गणेश सुवेदीले सहजीकरण गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )