म्याग्दी, कार्तिक-२२, आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ११ सय जना कर्मचारी परिचालन हुने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयार पारेको सूचीअनुसार उक्त संख्यामा कर्मचारी परिचालन हुने भएका हुन ।
जिल्लामा रहेको ८२ मतदानस्थल र १ सय २० मतदान केन्द्रका लागि करिव १ हजार १ सय कर्मचारी परिचानल गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । एक मतदान केन्द्रका लागी ४ जना देखि ८ जना कर्मचारी परिचालन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय २० मतदान अधिकृत, एक सय २० सहायक मतदान अधिकृत सहित सहायक कर्मचारी र सहयोगी कर्मचारी मतदान केन्द्रका लागि छनोट गरिएको छ। मतदान केन्द्रमा छनोट भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ दूई दिनको निर्वाचन सम्वन्धी तालिम दिईने सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । मतदान केन्द्रमा खटिएका कर्मचारी मंसिर १ गतेसम्म केन्द्रमा पुगिसक्नुपर्ने छ ।
जिल्ला सुरक्षा समितिले म्याग्दीका ८२ मतदानस्थलमध्ये १५ वटालाई अतिसंवेदनशील, ५८ लाई संवेदनशील र नौवटालाई सामान्य समूहमा राखेर योजना बनाएको नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभएको छ । निर्वाचनका लागि ७ सय ३२ जना म्यादी प्रहरी परिचालन गरिएका छन् ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार १२० मतदाता रहेका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )