म्याग्दी, असोज-१३, नेपालीहरुको घर, आँगनमा भित्रिएको बडादसैं पर्वलाई लक्षित गरेर म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पसलहरुको अनुगमनले तीव्रता पाएको छ । यसैक्रममा मङ्गलवार घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा सदरमुकाम बेनीबजारको कालीपुल आसपास क्षेत्रमा स्थलगत अनुगमन गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा दुईवटा टोलीले कालीपुल बसपार्क क्षेत्र, हस्पिटलचोक, पिपलचोक, शिक्षामार्ग क्षेत्रमा सञ्चालित किराना तथा खुद्रा, तरकारी, फलफुल, मासु पसल तथा होटल, रेष्टुरेण्टको अनुगमन गरिएको थियो । नजिकिएको चाडपर्वलाई लक्षित गरेर बेनीका विभिन्न प्रकृतिका ३५ वटा पसलहरुमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
अनुगमनको क्रममा पसल दर्ता नगरी सञ्चालन गरेको, नवीकरण नगरेको, आन्तरिक राजश्वले छापा हानेको र दर्ता तथा नवीकरणको प्रमाणपत्र नदेखाएको, म्याद सकिएका सामानहरु बिक्री गरेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् । अनुगमनमा भेटिएका कमी, कमजोरीलाई तत्कालै सुधार गर्नका लागि उद्योगी, व्यवसायीलाई एक हप्ताको समय दिइएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख पोषनाथ शर्माले बताउनुभयो । उहाँले मधेशीहरुको पसलहरुमा भन्दा पनि पहाडीयाहरुको पसलमा धेरै सामान म्याद सकिएको पाइएको जानकारी दिनुभयो ।
दसैँ पर्व आएपछि पछिल्लोपटक दुई दिनसम्म सदरमुकाम बेनीका मात्रै ७० वटा पसलहरुमा स्थलगत अनुगमन गरिएको छ । चाडपर्वलाई लक्षित गरेर तथा अन्य समयमा पनि निरन्तर रुपमा अनुगमन गरिने अनुगमन टोलीले जानकारी दिएको छ भने यसका साथै आम सर्वसाधारण तथा उपभोक्ताहरुलाई सामान खरिद गर्ने क्रममा म्याद भए, नभएको हेरेर मात्रै किन्न अनुरोध गरिएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङ र घरेलु तथा साना उद्योग कर्यालय म्याग्दीबाट १२ पटकसम्म बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कम्प्युटर अपरेटर सन्तोष ढुङ्गानाले बताउनुभयो ।
अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका सामानहरु अनुगमन टोलीले जफत गरी नष्ट गरेको बताएको छ । जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयले विभिन्न समयमा पटकपटक बजारका पसलहरुको अनुगमन गर्दै आइरहेको छ । मङ्गलबारको अनुगमनमा कालीपुल बसपार्कमा सञ्चालनमा रहेका केही होटल तथा रेष्टुरेण्टहरुमा भने सरसफाइको कमी देखिएको छ । खाना पकाउने (किचन)मा फोहोर, बासी खाना बिक्री भएको, जाँडरक्सी एकै ठाउँमा राखेको जस्ता स्वास्थ्यलाई गम्भीर रुपमा असर गर्ने खालका गतिविधिहरु भेटिएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शर्माको नेतृत्वमा भएको बजार अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, म्याग्दी उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका प्रमुख, बेनी नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र म्याग्दी र पत्रकारको सहभागिता रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )