प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी हिन्दु परम्पराअनुसार आज नागको पूजा अर्चना गरी मनाइंदै छ । घरका मूलढोकामा नागको टाँसेर मनाइने नाग पञ्चमीको हिन्दू समाजमा ठूलो महत्व छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास छ ।
नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि सूर्योदयकाल शुभ मानिने गरिन्छ।
नागलाई पूजा गर्ने प्रचलन वैदिककालदेखि नै शुरु भएको तथ्यहरू भेटिने गरेका छन् । पौराणिक र वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ ।
वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा सुरू भएको थियो ।
वैदिक सनातन कालदेखि नै नागलाई विष्णु र शिवका रुप मान्ने प्रचलन छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो ।
हरेक पूजामा प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।
दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
विभिन्न पुराणमा श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको देखिन्छ ।
मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
हाम्रो समाजमा सनातनदेखि लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ ।
यस्तो छ किम्बदन्ती
एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेकोदेखि किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।
संयोगले किसानकी छोरी घर बाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।
मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाईहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।
प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।
गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।
संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ ।
नागका बाह्र नाम भएपनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहँुदैन भन्ने मान्यता छ ।
आज काठमाडाँैको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।
वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।
नाग पुजा गर्ने तरिका ठ्याक्कै एउटै पाइदैन, कसैले के कसैले के गरी पुजा सम्पन्न गरेका हुन्छन् । तर भाव भने एउटै पाइन्छ । नाग प्रसन्न होउन्, कुनै बिघ्न वाधान परोस्, सबैको भलो होस् । तसर्थ परम्परादेखि नै चलेको विधि राम्रो हो त्यसैको अनुशरण गर्नु राम्रो हुन्छ । नागपुजा गर्ने कुनै एउटा विधिलाई यसरी प्रस्तुत गरिन्छ ।
एउटा टपरीमा धान र त्यसमाथि अर्को टपरीमा चामल राखी त्यसमाथि दियो र त्यसैगरी कलश अनि गणेशको स्थापना गरी पाध्य, अर्ध, आचमन, स्नान, वस्त्र(कपास), गन्ध(श्रीखण्ड), पुष्प, धुप, दिप र नैवेधले पुजा गर्ने । नागलाई पुजा गर्न १०८ काने दुना तयार पार्ने र जस मध्ये :
– हातखुट्टा धुनका लागि नागनागिनिलाई ८ वटा दुनामा र नागका बच्चाहरुलाई एउटा दुनामा जल टक्र्याउने ।
– पहिल्यै तयार गरी राखेको अर्घ ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने
– धानको लाभा तयार गरी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– रोटीलाई पनि ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– गाईको दुधलाई ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– गाईको दुधबाट बनेको खिर ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– नागलाई खानेपानी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
– नागलाई चुठ्नेपानी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने
– अलैचि वा सुपाडी ८ दुनामा नागलाई र एउटा दुनामा नागका बच्चाहरुलाई टक्र्याउने ।
र यसरी पुजा गरि बाँकी रहेका दुनामा पानीले भर्नु पर्दछ । यसरी पुजा गरिसकेपछि गाईको दुधको खिरले १०८ पटक हवन गर्नुपर्दछ । साथै, कर्मपात्रोको जल चोबेर अर्को दुनामा राख्ने गरिन्छ । हवनको मन्त्र भने आफ्नो आफ्नो इच्छा र सहजताको आधारमा प्रयोग हुन्छ (गायत्रीमन्त्र, पुरुषशुक्त, सर्पसर्वाङ्गी आदी ।)
अष्ठनाम बनाइ माछा, गंगटो, खजुरो, सर्प आदि वरिपरी पारी तयार गरिएका सचित्रहरुलाई पनि सिन्दुर, अक्षता, जौ, तिल, दुवोले पुजा गरिन्छ । सो तस्विरलाई घरमा लगी मुलढोका माथि भित्तामा गाइको गोवरको लेप लगाइ टाँसिन्छ । पुजाको अन्त्यमा हे नाग देवता मैले केही जाने बुझेको छैन, पुजा गर्दा गल्ती कमिकमजोरी भएको भए माफ पाँउ, मेरो पुजाबाट खुसी हुनु होस् भनि विनम्रभाव प्रकट गर्नुपर्दछ । यसरी शरणागत भइ पुजा सम्पन्न हुन्छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )