देविजिसी/म्याग्दी, असार-१५, ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित मङ्गलवार म्याग्दीको सदरमुकाम बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा स्वर्गीय जननेता मदनकुमार भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्व.जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमले अहिले देशलाई अगुवाई गरिरहेको बताउनुभयो । उहाँले विश्वमा कम्युनिष्ट आन्दोलनले धक्का खाएको अवस्थामा नेपालमा भने कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाएपछि विश्वमा जबजले आश्चर्यचकित बनाएको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले नेकपा एमालेले गरेको कामलाई प्रचारप्रसार गर्ने मुख्य जिम्मेवारी प्रेस चौतारीको भएको बताउँदै सङ्गठनलाई आगामी दिनमा थप चलायमान र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले जिल्ला सचिव एवं बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपसचिव थमसरा पुन, सचिवालय सदस्य एवं प्रेस चौतारी इन्चार्ज डिपी शर्मा र चौतारीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले आ–आफ्नो धारणासहित बोल्नुभएको थियो ।
प्रेस चौतारी म्याग्दीको पाँचौं पूर्ण वैठकसहित आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा चौतारीको साधारण सदस्यता विस्तार, स्थानीय तह निर्वाचनको समीक्षा गर्नुका साथै भावी योजना र रणनीतिसहित विविध विषयहरुमा छलफल र निर्णय गरिएको छ । प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता, उपाध्यक्ष देवी जिसीको स्वागत र सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा चौतारीका पूर्व तथा वर्तमान पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )