कृष्ण जिसी
स्थानीय तह निर्वाचन लगत्तै जेठ पहिलो सातादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरुभयो । विद्यालय खुले तर विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । समयमा विद्यार्थीले पाठ्यपुस्तक नपाउनु कुनै नौलो कुरा भने हैन । हरेक वर्ष सामुदायिक विद्यालयका विद्यार्थीले यहि र यस्तै समस्या झेलिरहेका छन् ।
विद्यालय खुलेको झन्डै २ हप्ता हुनै लाग्दापनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । कागज बेलैमा आपूर्ति नहुँदा र जनशक्ति पनि मतपत्र छपाइमा व्यस्त भएकाले पाठ्यपुस्तक छाप्न ढिलो भएको बताइएको छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले असार पहिलो सातासम्म बाँकी पुस्तक छापिसक्ने प्रतिवद्धता जनाएका छन् ।
राज्यको नालायकीपन एकातिर छ, विद्यार्थीको पिडा अर्कोतिर छ भने अभिभावकको चिन्ता आफ्नै ठाउँमा छ । सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नहुदा पठन-पाठन हुन सकेन भन्ने समाचार हरेक मिडियामा आइरहेका छन् । समस्या आफ्नो ठाउँमा छन् तर हामी शिक्षकले केहि न केहि समाधानको उपाय खोज्नैपर्छ। जवसम्म पाठ्यपुस्तक उपलब्ध हुन्न तवसम्म कसरी पठन पाठनलाई ब्यबस्थित गर्ने भन्ने विषयमा शिक्षण पेशामा थोरै समय संलग्न भएको कारणले मेरा केहि कुरा अभिब्यक्त गर्न लागेको छु :
पाठ्यपुस्तक ढिलो चांडो उपलब्ध होला तर शिक्षा मन्त्रालय पाठ्यक्रम बिकास केन्द्रले पाठ्यक्रम उपलब्ध गराएको छ । पाठ्यक्रम अनुसार शिक्षकले चाह्यो भने पाठ्यपुस्तक बिना पनि सिकाइ सहजीकरण गर्न सक्छ ।
एकातर्फ हामी पाठ्यपुस्तक बिनाका कक्षा निर्माणको कुरा गर्दैछौं तर पाठ्यपुस्तक नभई सिकाइ नै हुदैन भन्ने जस्ता कुरा पनि गर्दैछौं जुन आफैमा विरोधाभास पूर्ण छ ।
पाठ्यक्रम नै शिक्षण सिकाइको मुख्य आधार हो भने पाठ्यपुस्तक सहयोगी सामाग्री हो ।
पाठ्यक्रमको आधारमा सिकाइका लागी सामाग्री तयार पारी विद्यार्थीलाई सिकाइमा सक्रिय सहभागी गराउन सकिन्छ ।
शिक्षक केन्द्रित सिकाइमा कक्षामा पाठ्यपुस्तक आगाडी राखेर शिक्षकले बाचन गर्ने शैलीलाई महत्व दिने हो भने त फरक कुरा हो तर विद्यार्थी केन्द्रित सिकाइलाई आधार मान्ने हो भने किताव बाधक हुदै होइन ।
सवाल यो पनि हुनसक्छ विद्यार्थीलाई घरमा पुगेर गृहकार्य गर्न किताव चाहिन्छ । तर कक्षा कोठा मै पर्याप्त अभ्यास गर्ने हो भने गृहकार्य जरुरी छ जस्तो मलाइ लाग्दैन ।
पाठ्यपुस्तक आवस्यक छ तर जहिले सम्म सर्वसुलभ हुदैन तव सम्म नपढ़ाई बस्ने त ? पाठ्यक्रमका आधारमा पाठ्यसामग्री निर्माण गर्न सकिन्छ ।
जुन-जुन कक्षाका पाठ्यपुस्तक परिबर्तन भएका छैनन् ति कक्षामा पुराना कितावलाई ब्यबस्थापन गरेर सिकाइ सहजीकरण गर्न सकिन्छ ।
पाठ्यपुस्तक परिबर्तन भएका कक्षामा पनि सत-प्रतिशत परिबर्तन भएको त छैन त्यसैले अघिल्लो वर्षको /पुरानो पाठ्यपुस्तकका आधारमा पढाउन सकिन्छ ।
उदाहारणका लागी मैले कक्षा ९ मा सामाजिक शिक्षा पढाउछु परिबर्तित कोर्स अनुसार जनसंख्या परिचय र ब्यबस्थापन, हाम्रो अन्तराष्ट्रिय सम्बन्ध र सहयोग लगायतका पाठ्यसामग्रीहरु थपिएका छन् जुन कुरा जहिले पाठ्यपुस्तक उपलब्ध हुन्छ त्यतिबेला सम्म पढाउन सकिन्छ भने बाकि कुरा अघिल्लो बर्षको पाठ्यपुस्तकमा भएकै कुरा छन् त्यसैले पाठ्यपुस्तक बिना पठन-पाठन अगाडी बढ्न सकेन भन्ने कुरामा म सहमत छैन ।
अहिले मात्रै हैन २०५५ सालमा विद्यार्थीले पाठ्य पुस्तक नपाई नयाँ शैक्षिक सत्र सुरु भयो भनेर आन्दोलन नै भएपछि सरकारले १५ दिन विद्यालय बन्द गरेको थियो । ०६८ सालमा पनि त्यस्तै आन्दोलन भएको थियो परिस्थिती अहिले पनिबुस्तै छ । ‘भर्नाकै बेला विद्यार्थीको हातहातै पाठ्यपुस्तक’ भन्ने नारा घोषणा गरेको छ जुन नारा ब्यर्थ भएको छ।
ठूला–ठूला कुरा गर्ने शिक्षामा क्रान्ति ल्याउने भन्ने तर, समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा शिक्षाको हालत के होला ? विद्यार्थीलाई पाठ्यपुस्तक समयमा दिन नसक्ने सरकारले कसरी शिक्षाको गुणस्तरमा सुधार आउन सक्छ ?
समय मै पाठ्यपुस्तक उपलब्ध हुन त नसक्ने नै भयो तर जवसम्म पाठ्यपुस्तक उपलब्ध हुन सक्दैन तवसम्म शिक्षक आफु पुस्तक बनेर पाठ्यक्रमका आधारमा सिकाइलाई प्रभावाकारी गराउन सक्नुपर्छ । निकम्मा राज्यलाई गाली गरेर शिक्षक उम्कन मिल्दैन ।
(लेखक वेष्ट पोइन्ट स्कुल बेनीका भाइस प्रिन्सिपल हुन् )
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )