म्याग्दी, बैशाख-२२, जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनीमा नमुना मतदान कार्यक्रम गरेको छ । स्थानीय तहको निर्वाचन आउन ८ दिन मात्रै बाँकी रहँदा मतदानगर्ने तरिका सिकाई र बदर मतलाई कमगर्ने उद्देश्यले बिहिबार नमुना मतदान कार्यक्रम गरेको हो । नमुना मतदान कार्यक्रम निर्वाचन कार्यालय म्याग्दी र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको संयुक्त आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायिक माध्यामिक विद्यालयमा गरिएको थियो ।
नमुना मतदान गर्नुहुँदै जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मतदातालाई मतदान गर्ने तरिका सिकाउन नमुना मतदानले सहयोग पुग्ने बताउनुभयो । मतदानमा सहभागी भएका विद्यार्थीहरुले घरमा पुगेर आफ्ना अभिभावकलाई मतदान गर्ने तरिका सिकाउन विद्यार्थीहरुलाई मुख्य निर्वाचन अधिकृत पौडेलले अनुरोध गर्नुभयो ।
नमुना मतदानमा कक्षा १२ मा अध्ययनगर्ने विद्यार्थी, पत्रकार र समाजका अगुवाहरु सहित एकसय ८ जना सहभागि भएका थिए । जसमध्य १ मत बदर, १९ मत आंशिक सदर, कसैलाई पनि मतदान नगरेको एक मत र ८६ मत सदर भएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।
नमुना मतदानका क्रममा कसरी मतपत्रमा छाप लगाउने, उक्त मतपत्रलाई कसरी पट्याएर मत पेटिकामा राख्ने र बाहिर कसरी निस्किने सम्मको प्रक्रियाका बारेमा जानकारी गराईएको थियो । मतपत्रको सात ठाउँमा छाप लगाउनुपर्ने व्यवस्था भएकाले धेरै मत बदर हुनसक्ने कुरालाई मध्यनजर गरेर सरोकारवालाहरुले मतदातालाई राम्रो सँग सिकाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।
नमुना मतदानमा महिला पुरुष, अशक्त र बृद्धबद्धाहरुको लाईन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगेर उम्मेदवारलाई मतदान गर्ने र मतदातालाई मतपत्र पटयाउने तरिका सिकाईएको थियो । कार्यालयले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, मोवाईलका टोन मार्फत पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )