परिचय
गण्डकी प्रदेश पर्वत जिल्ला जलजला गाउँपालिका अन्तर्गत वडा नं ५ लेखफाँट, अवस्थित देबी भगतिको मन्दिर पूर्वमा पबित्र भुमि कालञ्जर पर्वत , उत्तरमा धवलागिरी हिमशृङ्खलाहरु, पश्चिममा जडभरत तथा पौलस्त्य ऋषिको तपोभूमि र दक्षिणमा पवित्र कृष्णागण्डकीको मध्यभागमा अवस्थित देवी मन्दिर प्राचीन एवम् ऐतिहासिक महत्व रहेको पावन पुण्यभूमि हो । समुद्री सतह देखि १९०० मिटर उचाइमा रहेको यस स्थल उत्तरी पर्वतको जलजला गाउँपालिकाको गैरागाउमा अवस्थित धार्मिक, एतिहासिक र प्राकृतिक स्थल जिल्ला सदरमुकाम कुश्माबाट १ घन्टाको सडक यात्राहुदै म्याग्दी सदरमुकाम बेनी र बेनी बजार बजारदेखि २ घन्टाको पैदल यात्राबाट पुग्न सकिन्छ । पहाडको थुम्कोमा अवस्थित सुन्दर ठाउँबाट पर्वतका ठुलीपोखरी फलेबास बाग्लुंग, गुल्मी र म्याग्दीका अधिकांश भूभाग देख्न सकिन्छ । उत्तरमा लहरै रहेका धौलागिरि, गुर्जा, मानापधि लगायतका हिमाल आँखै अगाडी देख्न सकिने यो स्थलबाट पबित्र कालिगण्डकी, म्याग्दी नदी संगै सुन्दर बेनी बजार र बाग्लुंग बजारको सम्पूर्ण भाग देख्न सकिन्छ । पुरानो, बेनी-घोरेपानी पदमार्गमा पर्ने यो स्थल पर्वतको मल्लाज भगवती कोतसंग समेत सम्बन्धित धार्मिक स्थल हो ।
एतिहासिक पृष्ठभुमि :
वि.स. १४५२ तिर कर्णाली क्षेत्रमा रहेको खस साम्राज्यको पतन पश्चात् हुम्ला जुम्लाबाट घर्ती क्षेत्रीहरुको साथमा अन्य जातिहरु रुकुम हुँदै यस क्षेत्रमा आएर बसोवास गरेका हुन् भन्ने तथ्य छ । यस क्षेत्रमा बसोबास गर्ने क्रममा आफ्ना आराध्य देवदेवता, देवी-भूमे तथा कोतमौलो स्थापना गरी यस क्षेत्रमा वंश तथा राज्य विस्तार गरेको कुरा लोकगाथामा पाइन्छ । पर्वते राजा डिम्ब मल्लको राज्यमा गाभिनु पूर्व घर्ती क्षेत्री राजा रजौटाको हातबाट कास्कीको भुरे राजा राकसे गुरुङ्गले खोसेका थिए भन्ने कुरा इतिहासका अध्येता चन्द्रप्रकाश वानियाँले “पर्वत गुञ्जन’मा उल्लेख गरेका छन । त्यस्तै साहित्यकार स्व मोहनबहादुर मल्लका विभिन्न लेखहरुमा पनि यस क्षेत्रमा घर्ती क्षेत्री राजा रजौटाको राज्य थियो भन्ने कुरा उल्लेख भएको पाइन्छ । यस तथ्यबाट पनि साबिक लेखफाट गैरागाउँमा रहेको देवी मन्दिर प्राचीन एवम् ऐतिहासिक मन्दिर हो भन्ने कुरा प्रष्ट हुन्छ ।
वि.स. १५६१ तिर राकसे गुरुङ्गले घर्ती क्षेत्री राजा रजौटाको राज्य कब्जा गरेपछि धेरै अनिष्ठ हुन थालेछ । यस क्षेत्रमा बाढी पहिरो, असिना, डढेलो, खडेरी जस्ता, आपत बिपत संगै भोकमरी र रोग व्याधिले आक्रान्त बनेको थियो । यस्तो अनिष्ट हुनुको मुख्य कारण देवदेवता, देवी-भूमे आदिको पूजा आराधना नभएर हो भन्नेकुरा पौडेल गुरु पुरोहितको भनाइ रहेको र उक्त भनाईमा सत्यता भएको मानिएको थियो । राज्यबिस्तारको क्रममा पर्वते राजा डिम्ब बम मल्लले राकसे गुरुङ्गलाई यस क्षेत्रबाट लखेटेपछि मल्लिका पौडेल नामका राज पुरोहितले लुकाएर बचाएका घर्ती क्षेत्री राजाका छोरा सन्तु र सिंहराज साथै लुकेर बाँच्न सफल भएका अन्य व्यक्तिहरु समेत यसै क्षेत्रमा आएर पुनः बसोबास गरी देवी भूमेको नित्य पुजा पाठ गर्न थालेपश्चात सबै किसिमका दुख कष्ट र बिपत्तिहरु टरेर गएको र जीवनयापन सामान्य हुदै आफ्ना वश विस्तार गरेको भनाइ समेत रहेको छ ।
डिम्बबम मल्लले यस क्षेत्रलाई आफ्नो राज्यमा गाभी मल्लाज नामांकरण गर्नुपुर्व यस क्षेत्रको नाम “डाँडाकोट” थियो । “डाँडाकोट” भन्ने नाम पछी अपभ्रम्स भइ अहिले “डडुवाकोट” भएको छ जुन साबिकको लेखफाट गाबिसको वडा नम्बर ६ गैरागाउँमा पर्छ । यहि “डाँडाकोट” आसपासका क्षेत्रमा घर्ति क्षेत्री, पौडेल कार्किहरु र अन्य जातिहरुको समेत बसोबास रहेको पाइन्छ ।
हाल देवी मन्दिर रहेको स्थानमा आठवटा ढोका र झ्याल भएको घर थियो भन्ने भनाईलाई मन्दिर पुननिर्माणको क्रममा वि.सं. २०४४ मा जमिन खन्दा ढिकीमा प्रयोग हुने एउटा ठूलो ढुंगाको ओखल, जाँतो तथा मसला पिस्ने सिलौटो र लोहोरा भेटिनुले पनि पुष्टि गरेको छ । यहि ठाउँबाट पर्बत बाग्लुंग र म्याग्दी जिल्लाको विभिन्न भागमा बसाइ सरेको प्रसस्त प्रमाण पाइन्छन । २१ औं सताब्दिमा आइपुग्दा समेत यहाँको देवी मन्दिरमा पौडेल थरका पुजारी र घर्ति क्षत्री थरका कर्ता रहने परम्परा विद्यमान रहेको समेतले यो देवी मन्दिर प्राचीन एवम् ऐतिहासिक महत्व रहेको छ भन्ने कुरामा कुनै दुईमत छैन ।
अन्तमा ;
विभिन्न समयमा पुनः निर्माणगरी अहिले मन्दिरलाई सुन्दर बनाइएको छ । बाह्य स्वरूप आकर्षक रुपमा निर्माण गरिएको भएपनि मन्दिर भित्रको मुर्ति सामान्य रुपमा ढुङ्गाको रहेको छ । चैत्राष्टमीको अवसर पारेर शुभचिन्तक तथा स्थानीयहरुको सहयोगमा आकर्षक र कलात्मक मुर्ति स्थापना, मन्दिरको नाममा पाच लाख रुपैयाँ सम्मको अक्षयकोष स्थापना गरी नियामित पुजापाठ गर्ने उद्देश्य सहित चैत्राष्टमीको सुभ घडीमा विविध कार्यक्रमको आयोजना गरिएको छ । धार्मिक, एतिहासिक प्राकृतिक सुन्दरताले समेत महत्पूवर्ण यस स्थलको संरक्षण र प्रवर्धन भएमा धार्मिक पर्यटनको समेत प्रचुर सम्भावना रहेको छ । त्यसैले देवी मन्दिर संरक्षण तथा पूजा व्यवस्थापन समिति समितिले यस कार्यमा सहयोग र सहभागीताको लागी आमन्त्रण समेत गरेको छ ।
हामीलाई गौरवान्वित बनाउने कुरा यस्तै प्राकृतिक धार्मिक,एतिहासिक र प्राकृतिक सम्पदा नै हुन् । साधारण जनसमुदायले धार्मिक आस्था र श्रद्धाभावले पुज्ने गरेका मठ, मन्दिर, दरबार र मूर्तिलगायतका सम्पदा इतिहास र संस्कृतिका लागि पुरातात्विक आधार हुन् । यस्ता सभ्यताका धरोहर हाम्रोमात्र नभएर समग्र विश्व सभ्यताकै अमूल्य निधि बन्न पुगेका छन् । त्यसैले मनाव सभ्यता संगै जोडिएका यस्ता धरोहरको उचित संरक्षण र प्रवर्धन हुनु जरुरि समेत रहेको छ ।
आलेख तयारकर्ता : डेग बहादुर जिसी
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )