जुम्ला, चैत-१७, जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका ५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको जुस खाँदा उनीहरू बिरामी परेका हुन् ।
स्कुलका प्रधानाध्यापक मन्जील गिरीले म्याद नाघेको जुस खाँदा दुई सय ६० मध्ये २५ जना विद्यार्थी बिरामी भएको जानकारी दिनुभयो । पानीमा पनि केही मिसिएको हो कि भन्ने आशङ्कामा पानी परीक्षण गर्न थालिएको उहाँको भनाइ छ ।
विद्यार्थीमा पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएपछि विद्यालय आज बुधवारदेखि आउँदो आइतवारसम्म बन्दगर्ने निर्णय गरेको प्रधानाध्यापक गिरीले बताउनुभयो । औषधि खाएपछि अहिले विद्यार्थीहरूको अवस्था सामान्य भएको उहाँले जानकारी दिनुभयो । यस विषयमा अभिभावकसँग पनि छलफल गर्ने तयारी गरेको उहाँको भनाइ छ ।
यहाँका गाउँघरतिर रहेका साना बजारमा म्याद नाघेका अखाद्य वस्तु भेटिँदै आएको छ । बजार अनुगमन गर्ने र अखाद्य वस्तु नियमन गर्ने अधिकार स्थानीय तहलाई भए पनि यस्ता विषयमा जनप्रतिनिधिले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।
श्रोत : उज्यालो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )