म्याग्दी, माघ-११, पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा पोष्ट हार्भेष्ट व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरि गाउँपालिका–७, ताकममा बाली संरक्षण र व्यवस्थापनबारे पोष्ट हार्भेष्टसम्बन्धी तालिम शनिबार सकिएको हो ।
मुख्य मौसममा उत्पादन भएका तरकारीहरुलाई पोषण तत्वहरु नष्ट नहुने गरी उपयुक्त पोष्ट हार्भेष्ट प्रविधिद्वारा अभाव हुने मौसममा उपयोगका लागि उपलब्ध गराउने तालिमको उद्देश्य राखिएको थियो ।
यसैगरी उत्पादित तरकारीहरुको पौष्टिक तत्वहरु नष्ट नहुने गरी खाद्य वस्तुहरुलाई प्रशोधन गरी संरक्षण गर्ने, उत्पादित खाद्यवस्तुलाई सुरक्षित तरिकाले भण्डारण गर्ने र उत्पादनलाई सुरक्षित तरिकाले बजारसम्म पु¥याउने विषयमा ज्ञान, सिप हासिल गर्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको आयोजकले जनाएका छन् ।
तालिमको प्रयोगात्मक कक्षामा सोलार डायरमा काउली र गाजर तथा मासुको सुकुटी बनाउने, जाम, सस र आलु चिप्स बनाउने तरिकाको बारेमा सिकाइएको थियो । कृषक समूहले आगामी दिनमा जाम, आलु चिप्स र तरकारीको सुकुटी बनाउनका लागि व्यवसायिक रुपमा अगाडि बढ्ने भनेर कार्ययोजना समेत बनाएको छ । यस कार्यमा गाउँपालिकाले बेसार, अदुवा र मुलाको बिउबिजन, विषादी, औजार तथा उपकरणहरु सहयोग गर्ने भएको छ ।
खाद्यवस्तुको प्रशोधन र भण्डारण गर्नका लागि सुनौलो हजार दिनका आमाहरुले बाह्रैमास पोषणयुक्त तरकारी तथा फलफुलहरुको सेवन गराउनका लागि सुआहारा कार्यक्रममार्फत जोड दिएर पालिकाको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको जनाइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )