चितवन, मङ्सिर-१०, मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको १० औँ महाधिवेशन मङ्सिर १०गते देखि शुरु भएको छ । चितवनको नारायणी नदी किनारमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेकाहुन् ।
एमालेलाई महाधिवेशन सफलताको शुभकामना दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेल, राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरु चितवन पुगेका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले परमादेशबाट आफ्नो पार्टीलाई सरकारबाट हटाइएको र छिट्टै जनमतबाट फेरि सत्तामा फर्किने बताएका छन् । उनले भनेका छन्, ‘जनादेशको सरकारलाई परमादेशको सरकारले विस्थापन गरिएको छ । तर, हामी जनमतबाट फेरि सत्तामा फर्किन्छौँ र देशको नेतृत्व सम्हाल्छौँ ।’
ओलीले यतिमात्रै भनेनन्, उनले देश बनाउन एमालेलाई एकल बहुमत दिनुपर्ने पनि बताए । ‘देश बनाउने एमाले मात्रै हो,’ उनले भने, ‘देश बनाउन, विकासको लहर ल्याउन, राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र संविधानको रक्षाका लागि भए पनि एमालेले एकल बहुमत ल्याउनुपर्छ ।’
ओलीले आउँदो चुनावपछि आफ्नै नेतृत्वमा सरकार बन्ने पनि दाबी गरे । ‘आउँदो चुनावपछि एमालेको सरकार बन्छ । र, एमालेले बाँकी विकासका काम गर्छ,’ उनले भने । स्थानीय तहको निर्वाचनमा एमालेले ५० प्रतिशतभन्दा बढीमा जित हासिल गर्ने पनि दाबी ओलीले गरेका छन् ।
ओलीले एमालेमा प्रवेश गर्नेको लहर चलेको भन्दै फागुनसम्म पार्टी प्रवेश अभियान पनि चलाउने बताए । ‘मौका मिल्ने हो भने आजै हजारौँ होइन, लाखौँ मान्छेहरु प्रवेश गर्नुहुन्थ्यो । यो मञ्च त्यसका लागि होइन,’ उनले भने, ‘अब फागुनसम्म पार्टी प्रवेश अभियान नै चलाउँछौँ ।’
अध्यक्ष ओलीले माओवादी केन्द्रमा रहेका पूर्वलडाकुहरुलाई आफ्नो पार्टीमा आउन पनि अपिल गर्न भ्याए । ‘गल्तीले तपार्इंहरु अलमलमा पर्नुभयो । अब तपाईंहरुले गल्ती नगर्नुस् । आउनुस् तपाईंहरुलाई एमालेले राम्रो स्थान दिन्छ,’ उनले भने । माधव नेपाल र पुष्पकमल दाहालप्रति इंकित गर्दै कतिपय दल चुनावसँग डराउने गरेको टिप्पणी समेत गरे । शिलापत्रको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )