म्याग्दी, कार्तिक-३०, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले मङ्गलबार बेनी नगरपालिकालाई जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै पत्राचार गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा नगरपालिकामा पुगेको पत्रकार महासंघको टोलीले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई पत्र बुझाएको हो ।
नगरपालिकाले पत्रकार महासंघको कार्यालय सञ्चालन गर्नका लागि बेनीको १४१९ कित्ता नम्बरको चार आना जग्गा वार्षिक रु. दश हजार भाडा तिर्नेगरी उपलब्ध गराएको थियो । वि.स. २०७६ सालमा नगरपालिकाले भाडामा दिएको जग्गामा रहेको भवनमा बस्दै आएका व्यक्तिले नछाडेपछि मङ्गलबार बसेको शाखाको बैठकले खाली गरिदिन अनुरोध गर्दै पत्राचार गर्ने निर्णय गरेको थियो ।
महासंघले भाडा तिर्दै आएको भवन प्रयोग गर्ने वातावरण बनाउन अनुरोध गरिएको शाखा अध्यक्ष पौडेलले जानकारी दिए ।
खाद्य संस्थानबाट जग्गा किनेका व्यक्तिले नगरपालिकालाई उपलब्ध गराएको जग्गामा पत्रकार महासंघको कार्यालय व्यवस्थापनका लागि दुई वर्षअघि भाडामा दिएको थियो । नगरपालिकाले पत्रकार महासंघलाई भाडामा दिएको जग्गामा रहेको भवनमा राजनीतिक संरक्षणको आडमा मंगला गाउँपालिका १ कुहुँकी समीक्षा विश्वकर्मा बस्दै आउनुभएको छ ।
महासंघले बुझाएको पत्र छलफलका लागि नगर कार्यपालिकामा पेश गर्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । भाडा नतिरी नगरपालिकाको भवन कब्जा गरेर बस्नुभएकी विश्वकर्माले नछोड्दा र नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाको अवरोधका कारण गण्डकी प्रदेश सरकारले महासंघको भवन निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको दशलाख रुपैयाँ बजेट कार्यान्वयनमा समस्या भएको छ । प्रहरी, प्रशासन र सुरक्षा निकायकै आँखा अगाडि खुल्ला राजनीतिमा आएको दलले सरकारी र व्यक्तिगत जग्गा तथा भवन कब्जा गर्दा समेत उनीहरु टुलुटुलु हेरेर बसिरहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )