पर्वत, कार्तिक-२७, पर्वतका सातवटा स्थानीय तहका दुई हजार १८८ कोरोना प्रभावित परिवारले सरकारबाट राहत रकम पाउने भएका छन् । कोभिड–१९ का कारण रोजगारी तथा आम्दानीका स्रोत गुमाएका परिवारलाई १० हजार रुपैयाँ नगद दिने सरकारको निर्णयअनुसार पर्वतका दुई हजार १८८ परिवारले राहत पाउने भएका हुन् ।
राहत रकम प्राप्त गर्नेमा जलजला गाउँपालिकाका ४४६, मोदीका ३११, कुश्मा नगरपालिकाका ५२८, फलेवास नगरपालिका ३८६, महाशिला गाउँपालिकाका १४४, बिहादीका १७९ र पैंयुँ गाउँपालिकाका १९४ परिवार रहेका छन् । जिल्लाका स्थानीय तहहरुबाट वितरण हुने उक्त सहयोगका लागि आवेदन दिन सूचनासमेत प्रकाशन भएको छ ।
अनुदान प्राप्त गर्न मापदण्डभित्र पर्ने परिवारका कुनै एक सदस्यले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफू स्थायी वा अस्थायीरूपमा बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा कार्यविधिको ढाँचामा निवेदन पेश गर्नुपर्नेछ ।
विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोगार भएका असङ्गठित क्षेत्रका मजदुर वा कामदारले उक्त नगद सहयोग पाउनेछन् । खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोकोमा सामान बेच्ने अतिविपन्न व्यवसायीले पनि पाउनेछन् ।
नगद सयोग पाउनेमा दैनिक ज्यालादार भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया पनि पर्नेछन् । कोभिड सङ्क्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नुपरेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालिगको स्याहार गर्ने परिवारले पनि उक्त रकम प्राप्त गर्न सक्नेछन् ।
गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार एक महिनाभित्र पीडितको खातामा उक्त रकम जाने गरी व्यवस्था समेत भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )