बेनी, कार्तिक-१०, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा सोमबार सदरमुकाम बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘स्वस्थ पशु समृद्ध किसान, पूर्ण खोप अभियान’ भन्ने मूल नारासहित पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग अन्तरक्रिया र छलफल गरिएको हो ।
खोपको बारेमा जानकारीसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख जीवनप्रसाद आचार्यले जिल्लामा पशुपालनका लागि ४८ हजार ८ सय ५८ हेक्टर क्षेत्र रहेको बताउनुभयो । उहाँले २२ हजार ४ सय ८० परिवार पशुपालनमा संलग्न रहेकोमा बाख्रापालन, घुम्ती भेडा–बाख्रापालन, कुखुरापालन, भैंसीपालन, बंगुर तथा चौंरीपालनमा कृषकहरु रहेको जानकारी दिनुभयो ।
मासुजन्य उत्पादनको निर्यात, मानिसबाट पशु र पशुबाट मानिसमा सर्ने रोगलाई रोक्न तथा पशुमा देखिने विभिन्न प्रकारका रोगको रोकथामसहित गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पशुमा खोप लगाउने कार्यक्रम सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । कार्यक्रममाथि सहजीकरण गर्दै विज्ञ केन्द्र प्रमुख आचार्यले गत आवसम्म म्याग्दी जिल्लामा ३७ हजार ६ सय ७० गाईगोरु, २४ हजार ५ सय ८२ भैंसी तथा राँगो, ९३ हजार ६ सय ८० बाख्रा र २७ हजार २ सय ७७ वटा भेडाको सङ्ख्या रहेको बताउनुभयो ।
गत आवसम्म जिल्लाभर कुल ४ हजार ७ सय ३० मेट्रिक टन दुध उत्पादन हुँदै आएकोमा मासुतर्फ १७ सय ४० मेट्रिक टन उत्पादन भएको तथ्याङ्क रहेको छ भने १ सय ९५ माछा पोखरीको सङ्ख्या रहेकोमा २७ हजार १ सय ५ केजी माछा वार्षिक रुपमा उत्पादन हुँदै आएको छ । जिल्लाभर भैंसी, बाख्रा, बंगुर, कुखुरा, भेडा, माछा र याकपालनसहित पशुपन्छी फार्मतर्फ कुल २ सयवटा रहेको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । अब बेनी नगरपालिका क्षेत्रमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि गणक छनोट, तथ्याङ्क सङ्कलन, खोप खरिद प्रक्रिया, खोप कार्यकर्ता नियुक्ति र खोप लगाइने जनाइएको छ ।
गतवर्ष प्रदेशभित्र एउटा जिल्लामा एकवटा स्थानीय तह छनोट गरी पशुलाई खोप लगाउने कार्यक्रम सञ्चालन गरिएकोमा यसवर्ष थप एकवटा स्थानीय तहमा खोप कार्यक्रम सञ्चालनको तयारी थालिएको छ । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नगर क्षेत्रमा पशुमा पूर्ण खोप लगाउने कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका सहभागीले हिउँदको समयमा दुध बिक्री नहुने हुँदा दुधजन्य अरु परिकारहरु बनाउनुपर्नेमा जोड दिए ।
विज्ञ केन्द्रका प्रमुख आचार्यको अध्यक्षता, पशु सेवा प्राविधिक तथा सूचना अधिकारी सुवास रेग्मीको सञ्चालन र नायव पशु स्वास्थ्य प्राविधिक खगेन्द्र विकको स्वागत रहेको कार्यक्रममा बेनी नगरपालिकाको वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )