म्याग्दी, कार्तिक-४, राष्ट्रिय राजमार्गसहित हिमाली जिल्ला म्याग्दीका ग्रामीण सडकहरुको स्तरोन्नतिको मागसहित ध्यानाकर्षणपत्र बुझाइएको छ । निर्माण व्यवसायीले सडक निर्माण तथा स्तरोन्नतिको जिम्मा लिएको भए पनि नियमित सञ्चालन तथा स्तरोन्नतिमा चासो नदेखाएको हुँदा ध्यानाकर्षणपत्र बुझाइएको हो ।
हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकमा यात्रा सहज बनाउने मागसहित ध्यानाकर्षणपत्र बुझाइएको छ । हालै परेको अविरल वर्षाले बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दी क्षेत्रमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको भन्दै म्याग्दी उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको हो ।
शुक्रबार म्याग्दी उद्योग वाणिज्य संघको एक टोलीले सडक अवरुद्ध क्षेत्र गलेश्वरमा पुगेर म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानासहितको सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा सरकारको ध्यानाकर्षण गराउँदै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले प्रजिअ रानालाई ध्यानाकर्षणपत्र बुझाउँदै बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नतिको जिम्मा लिएको निर्माण व्यवसायीमार्फत सडक नियमित रुपमा प्रभावकारी सञ्चालनको माग गरिएको बताउनुभयो ।
सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका पालिका सरकारले सडक निर्माण तथा स्तरोन्नतिमा चासो नदेखाएको भन्दै निजी क्षेत्रको तर्फदेखि ध्यानाकर्षण गराइएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले बताउनुभयो । सम्बन्धित सडक आयोजनाका ठेकेदार, सम्बन्धित कार्यालयको बीचमा विशेष पहलकदमी गरी तुरुन्तै बेनी–जोमसोम, बेनी–दरबाङलगायत वर्षाले पटकपटक अवरुद्ध हुने सडकहरु नियमित सञ्चालनको व्यवस्था मिलाउनका लागि अनुरोध गरिएको छ ।
वर्षाले सडक अवरुद्ध हुदा आवतजावत तथा मालसामान ढुवानीमा असहज परिस्थिति उत्पन्न भएको बताउँदै आवश्यक सहयोगका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको ध्यानाकर्षण पत्रमार्फत जनाइएको छ । निजी क्षेत्रको मागलाई वेवास्ता गरेको खण्डमा आन्दोलन गरिने पत्रमार्फत सम्बन्धित पक्षलाई चेतावनी समेत दिइएको छ । यसवर्ष दसैँपछि परेको अविरल वर्षाले खासगरी बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रु, पर्यटक, सर्वसाधारण लगायतले सास्ती भोग्नुपरिरहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )