जलजला, कार्तिक-१, काटेर खेतमा सुकाइएको धान भित्र्याउने बेलामा वर्षा भएसंगै भिजेर खेत मै तैरिएको छ। आइतबारदेखि अविरल रुपमा भइरहेको वर्षाका कारण उत्तरी पर्वतको जलजला गाउँपालिकाको माथिल्लो भेग लेकफाट,सालिजाको तल्लोभेग र धाइरींगको गुन्टिखेत क्षेत्रमा काटेर सुकाइएको धान भिजेर नोक्सान भएको हो ।
खेतमा काटेर सुकाउनका लागि राखिएको धान भित्र्याउन नपाउँदै भिजेर नष्ट भएपछि किसान मारमा परेका छन्। खेती भित्र्याउने बेला वर्षा भएपछि धानखेतीमै जीवन निर्वाह गर्दै आएका किसान बढी मर्कामा परेका छन्। काट्ने बेलाको धान पानि परेपछि सबै ढलेर दोत्तर भएकोले अन्य किसान समेत मारमा परेका छन्।
वर्षातका कारण लेकफाटको सिरुबारे, पधेरापातले, डाडापात्ले, स्वारा लगायतका खेतमा सुकाईएको धान बर्षाका कारण खेतमा पानी ताल परेपछि तैरिएको छ । धानसंगै खरबारीमा काटेर सुकाइएको खर समेत भिज्दा किसान चिन्तित भएका छन्।
स्थानीय जगतबहादुर खत्रीले भन्नु भयो “मसान्त र सक्रान्ती ताका पानीपर्ने हो, त्यो बेला तर्काएर धान काट्नुपर्ने हो तर यसरी निरन्तर झरी भने धेरै वर्षपछी परेको छ ।” उहाँले भन्नु भयो “भर्खरै काटेको धानलाई खेतको आलीबाट लार्काएर बाला झुन्डाएमा त्यति नोक्सान हुन्न तर एकदिन सुकिसकेको धान त काम नै लाग्दैन ।” लेकफाटमा जेठ र असार मै रोपाइँ गरिने हुदा कार्तिक पहिलो हप्ता सम्म धान स्याहारेर सक्ने बेला हो।
गैरागाउका फौज बहादुर जिसीले दुईदिन अघि काटेको धान वर्षातले नष्ट भएको बताउनुभयो । “सुकाउनका लागि खेतमै धान काटेर छाडेको थिएँ। एक्कासी वर्ष भयो, धान खेती पुरै भिजायो।” उहाँले भन्नुभयो “मेरो मात्रै हैन यहाँ फाटभरि सबैका धान चुर्लुम्म डुबेका छन्, बर्षाभयो कसको के लाग्छ र ?”
अहिले पनि निरन्तर बर्षा भैरहेको र हावा समेत लागेकोले नकाटेको धान समेत ढल्न थालेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )