जलजला, असोज-२७, मल्लाजको कोत मन्दिरमा दशैको सरकारी राँगो ७० हजार ५ सयमा छेदन गरिने भएको छ । जलजलाको प्रमुख शक्ति पीठ मल्लाज कोतमा नवमीको दिनमा छेदन गरिने सरकारी राँगो यस बर्ष जलजला ४ फड्केढुङ्गा निवासी युवा ब्यवसायी सुनिल सेनले सत्तरीहजार पाँचसयमा छेदन गर्नुहुने भएको हो । गोप्य बोलपत्रको आधारमा आफुले इच्छाएको रकम उल्लेख गर्दा सर्बाधिक रकम उल्लेख गर्ने व्यक्तिले सरकारी राँगो छेदन गर्ने ब्यबस्था मल्लाजमा रहेको छ ।
यो भन्दा पहिला खुल्ला बढीबढाउ प्रक्रियाबाट रकम बिलने प्रचलन रहेकोमा २०५८ साल देखि गोप्य बोलपत्रका आधारमा रकम निर्धारण गर्ने ब्यबस्था भएको अध्यक्ष डम्मर बहादुर जिसीले बताउनुभयो । यसरी गोप्य बोलपत्रद्वारा रकम उल्लेख गर्दा कसैको कसैसंग रिस राग झैझगडा नहुने र एकै पटकमा रकम निर्धारण हुनेहुदा यो तरिका उत्तम रहेको उहाँले बताउनुभयो ।
सरकारी राँगो छेदन गर्नुलाइ इज्जत र प्रतिष्ठाको रुपमा समेत हेर्ने गरिएको हुन्छ साथै आफ्नो मनोकांक्षा पुराहुने समेत बिश्वास रहेको छ । जुठो-सुतक परेको अवस्थामा छेदन गरेमा छेदन नहुने र अनिस्ट समेत हुने भन्ने जनविश्वास रहेको छ तर अहिलेसम्म आफु कोत मन्दिर ब्यबस्थापन समितिमा रहेयता छेदन भइरहेको जिसीले बताउनुभयो ।
छेदन गर्ने व्यक्तिलाई साफा (फेटा) प्रसंसापत्र कोत पुजा व्यबस्थापन समिति र आफन्त इष्टमित्रले नगद पुरस्कार समेत प्रदान गर्दै पन्चेबाजा नगरा सहित मन्दिर परिक्रमा र घरसम्म पुर्याउने चलन रहेको छ । दशैको महानवमीको दिनमा देशभरका कोतमन्दिरमा बलि दिने प्रचलन रहेको छ । मल्लाजकोतमा २८ गते दिनको ४ बजेपछी सरकारी राँगो छेदन गरिने कार्यक्रम तय भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )