१७ भाद्र २०७८, बुधबार
प्रताप बानियाँ, म्याग्दी ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीमा रहेको पुस्तकालयलाई पुस्तकहरु सहयोग भएको छ । १४औं पुस्तकालय दिवसको अवसर पारेर मङ्गलबार म्याग्दी सामुदायिक पुस्तकालयद्वारा पुस्तकालय भिजिट तथा पुस्तक हस्तान्तरण कार्यक्रममा पुस्तकहरु सहयोग गरिएको हो ।
‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नारासहित पुस्तकालय भिजिट तथा पुस्तकहरु हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको अवसरमा विभिन्न घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयभित्र रहेका थुनुवाहरुलाई लक्षित गरेर पुस्तकहरु सहयोग गरिएको म्याग्दी सामुदायिक पुस्तकालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको पुस्तकालयलाई सहयोग गरिएको पुस्तकहरुमा साहित्य, दर्शन, कला, राजनीति, मनोरञ्जन लगायतका विभिन्न विधाका ३१ थान पुस्तकहरु रहेका छन् । उक्त पुस्तकहरु खासगरी प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवालाई समय कटाउनका लागि अध्ययन गर्न उपयोगी हुने अपेक्षा गरिएको छ । यसैगरी हिरासतका थुनुवालाई ५ थान मास्क र स्यानीटाईजर समेत सहयोग गरिएको म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो ।
उक्त पुस्तक, मास्क तथा स्यानीटाईजर म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र पुस्तकालयका अध्यक्ष रावलले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी वीरेन्द्रराज गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो । पुस्तक हस्तान्तरण गर्दै प्रजिअ अधिकारीले मानिसलाई गाइड गर्न र सामाजिक बनाउन पुस्तकहरु महत्वपूर्ण हुने बताउनुभयो । उहाँले मानिसलाई उत्कृष्ट र सभ्य बनाउनका लागि पुस्तक टुल र औजारको रुपमा रहेकाले यसको विकास र विस्तार गर्नुपर्ने बताउँदै आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रजिअ अधिकारीले सहयोगी पुस्तक, मास्क र स्यानीटाईजरले हिरासतमा बस्नेलाई महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले वर्तमान अवस्थामा पुस्तकालयलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले पछिल्लो पुस्ता प्रविधिको प्रयोगमा धेरै समय बिताउने भएकाले पुस्तकालयमा आएर अध्ययन गर्ने बानीको विकास गर्नेतर्फ फरक तरिकाले सोच्नुपर्ने बताउनुभयो ।
म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावलले पुस्तकालय कक्षभित्र ई–लाइब्रेरी स्थापना गरिएको भए पनि त्यसको प्रयोग गर्ने पाठकहरु भने थोरै रहेको बताउनुभयो । उहाँले हाल दैनिकजसो १५ जनाको हाराहारीमा पाठकहरु पुस्तकालयमा आउने गरेको बताउँदै बालकक्षामा करिब ४० जना बालबालिकाहरु अध्ययनका लागि आउने गरेको जानकारी गराउनुभयो । उहाँले जिल्लाको एउटा मात्रै सामुदायिक–सार्वजनिक पुस्तकालय म्याग्दी सामुदायिक पुस्तकालय रहेको बताउँदै यसलाई आधुनिक पुस्तकालयका रुपमा विकास गरिएको दावी गर्नुभयो ।
२०२७ सालमा स्थापना भएको म्याग्दी सामुदायिक पुस्तकालयमा हाल १० हजार थान विभिन्न विधाका पुस्तकहरु रहेका छन्भने बाल, सङ्गीत र खेल कक्ष रहेको छ । यसैबीच कोरोनाका कारण विदेशबाट फर्किएका वा विदेश जानेलाई लक्षित गरेर हालै रिड नेपालको सहयोगमा पुस्तकालयभित्रै सुरक्षित आप्रवासन कक्ष समेत सञ्चालनमा ल्याइएको छ । यसबाट विदेश जाने युवालाई आवश्यक परामर्श दिन थालिएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )