बागलुङ, भदौ-१४, कोरोना सङ्क्रमण दर न्यून भएसँगै जिल्लामा विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् ।
कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताउनुभयो । ‘बालबालिकालाई कहिलेसम्म पढाइबाट वञ्चित गर्ने ?’, उहाँले प्रश्न गर्नुभयो , ‘महामारीको जोखिम कम भएका ठाउँमा विद्यालय खुलेका छन् ।’
नेपाल माविमा पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म आइतबार, मङ्गलबार, बिहीबार ६ देखि ९ सम्मको कक्षा सोमबार, बुधबार, शुक्रबार र कक्षा १० आइतबारदेखि शुक्रबारसम्म सञ्चालन भइरहेको छ ।
सानो उमेरका बालबालिकाका लागि अनलाइन कक्षा प्रभावकारी नभइरहेका बेला गाउँका विद्यालयले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्रत्यक्ष सिकाइविधि अपनाएका हुन् । दुर्गममा इन्टेरनेटको सहज पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालनमा चुनौती छ ।
केही समय विद्यार्थीका घरघरमा पुगेर टोल शिक्षामार्फत सिकाइ सहजीकरण गरिए पनि त्यसलाई निरन्तरता दिन व्यवस्थापकीय कठिनाइ भएको प्रधानाध्यापक अधिकारीको भनाइ छ । कक्षाकोठाभित्र भौतिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने कुरामा भने कडाइ गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कोरोना सङ्क्रमणको अवस्था हेरेर जोखिम नभएका ठाउँमा विद्यालय खोल्ने निर्णय गरिएको बताउनुभयो । ‘सङ्क्रमण बढेको स्थितिमा त खोल्ने कुरा भएन, जोखिम नभएका ठाउँमा जनस्वास्थ्यका मापदण्डपालना गरेर विद्यालय चलाउनुपर्छ’, उहाँले भन्नुभयो ।
शिक्षकले कोरोना विरुद्धको खोप लगाएका कारण पनि प्रत्यक्ष सिकाइ सहजीकरणका लागि केही सजिलो भएको अध्यक्ष घर्तीले बताउनुभयो । गाउँपालिकाका अन्य विद्यालयले पनि स्थानीय अनुकूलता हेरेर विद्यालयमै प्रत्यक्ष पठनपाठनको प्रबन्ध मिलाएका छन् । कतिपयले तल्लो कक्षाका बालबालिकालाई भौतिक उपस्थितिमा र माथिल्लो तहकालाई अनलाइनमार्फत पढाइरहेका छन् ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले भने अझैपनि विद्यालय सञ्चालनमा रोक लगाइरहेको छ । वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन भनिए पनि गाउँका विद्यालयमा त्यो सम्भव हुन सकिरहेको छैन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )