४ भाद्र २०७८, शुक्रबार
प्रताप बानियाँ, म्याग्दी ।
युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सञ्चालित कृषिसम्बन्धी तालिम शुक्रबार सकिएको छ । सुआहारा दोस्रो कार्यक्रमद्वारा पोषण संवेदनशील विषयमा कृषिसम्बन्धी तालिम सम्पन्न गरिएको हो ।
नेपाल सरकारले अबलम्बन गरेका बहुक्षेत्रीय पोषण योजना दोस्रो तथा अन्य कृषि नीति मूलतः कृषि विकास रणनीति (२० वर्षे), खाद्यसुरक्षा र पोषण योजना (१० वर्षे) अन्तर्गत उल्लेखित पोषण र खाद्यसुरक्षा लक्ष्य प्राप्तिका लागि कृषि क्षेत्रको भूमिका र दायित्व लगायतका बारेमा छलफल तथा समीक्षा गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको थियो ।
तालिममा सुआहारा दोस्रो कार्यक्रम र बहुक्षेत्रीय पोषण योजना दोस्रो, प्रदेश सरकारले अबलम्बन गरेका कृषि नीति, रणनीति, खाद्यसुरक्षा र पोषण योजना, नेपाल सरकारले अबलम्बन गरेका पशुपंक्षी नीति, रणनीति, खाद्यसुरक्षा र पोषण योजनाअन्तर्गत उल्लेखित पोषण र खाद्यसुरक्षा प्राथमिकता साथै पोषण संवेदनशील पशुपंक्षीसम्बन्धी कार्यक्रम तथा प्रणाली विकास लगायतका विषयहरुमा सहजीकरण गरिएको छ ।
तालिमको सुआहारा कार्यक्रमको बागलुङ–म्याग्दी संयोजक राजेन्द्र अधिकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर ईन्द्रबहादुर भट्ट, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डे, सुआहारा कार्यक्रमका घरायसी खाद्यान्न उत्पादन तथा बजारीकरण अधिकृत केशव भूषाल, किरण मास्के, पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थी र फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरेका थिए ।
दुई दिनसम्म चलेको तालिममा म्याग्दी जिल्लाको ६ वटा स्थानीय तहका पशु र कृषि शाखामा कार्यरत १२ जना कर्मचारीको सहभागिता रहेको थियो । तालिमको समापनसत्रमा बेनी नगरपालिकाको कृषि शाखाका प्रमुख आकृति ढुङ्गाना र पशु शाखाका प्रमुख जनआश्रित श्रेष्ठले अनुभव सुनाएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )