राजकुमार राज्यमा सुख सुबिधा ऐश आराम मान सम्मान प्राप्त भएर पनि त्यति खुसी हुन सकेनन्।राजा राजकुमारको खुसीका लागि जे गर्न पनि तयार थिए।राज्य सञ्चालन गर्ने मोह राजकुमारमा नभएकोमा राजा चिन्तिन थिए।एक्लो राजकुमारमा सत्ता मोह नभएकोमा राजा चिन्तिन हुनु स्वभाबिक थियो।सानै उमेरबाट राजकुमार आध्यात्मिक सोचका थिए।बस्तु चेतना जीबन जगत अस्तित्व सम्बन्धी प्रश्नहरूमा राजकुमार खुब रुचि राख्थे।युद्धकौशल कूटनीति राजनिति प्रति राजकुमारको खासै चासो थिएन।चेस राजकुमारको मन पर्ने खेल थियो।दरबारमा राजकुमारलाई चेसमा कसैले हराउन सकेको थिएन।
राजकुमार बिगत देखि नै मनभित्र अनुत्तरित प्रश्नले जीबनमा बैराग्यताको अनुभुति गर्न थाले।जीबनमा पद प्रतिष्ठा मान सम्मान बिना खुसी प्राप्त गर्ने उपायबारे राजकुमार ध्यान केन्दित गरे।सो समय राज्यमा एउटा मुक्त योगीको चर्चा थियो।दरबार भन्दा धेरै टाढा जङगल नजिक नदीको तटमा कुटीमा बस्थे ति योगी।योग ध्यान साधना उपासना प्रवचन शैलिका कारण उनको चर्चा चुलिएको थियो।योगीको बारेमा चर्चा सुनेका राजकुमार जीबनको अनुत्तरित प्रश्नको उत्तर योगी सङग हुन सक्छ भन्ने ठम्याईका साथ योगी भेट्न जाने निर्णयमा पुगे। जीबनमा सबै थोक त्यागेर पनि जीबन जगत प्रति अत्यन्त सकारात्मक सोच योगीमा देख्दा राजकुमार योगीबाट छोटो समयमा नै प्रभावित भए।
राजकुमारले योगीको कूटीमा आउनुको कारण योगीलाई सविस्तार सुनाए।वातचितको क्रममा राजकुमारलाई चेस खेल मनपर्ने कुरा राजाले चाल पाए।मुक्त पुरुष सबै परिबेश घटना बस्तु बाट पाठ सिक्छन र सिकाउन पनि सक्छन्।योगीले राजकुमारलाई उनकै कुटीमा रहेका शिष्य सङग चेस खेल्न आग्रह गरे।मुक्तिको अर्थ बुझ्न कुटी छिरेका राजकुमार अलमलिए।योगीले चेस खेल समाप्त पछि मुक्ति योग साधनाको बारेमा चर्चा गर्ने कुरा राजकुमारलाई बताए।राजकुमार रुचिको खेल खेल्न तैयार भए किनकी उनलाई हार्छु भन्ने रत्ती भर डर थिएन। योगीले राजकुमारलाई चेस खेलमा जीत हासिल गरे मात्र मुक्तिको बाटो बोध गराइदिने तर हार भएमा राजकुमारको शिर छेदन गर्ने र सङगै चेस खेल्ने शिष्यले हारे भने उनको पनि शिर छेदन गर्ने शर्त राखे।राजकुमारमा चेस खेल प्रति तिब्र रुचि जितिन्छ भन्ने आत्मबिश्वास उच्च भएकोले योगीको शर्त स्विकारे।
योगी शिष्य चेस खेल सामान्य नियम पुर्बक खेल्थे तर दक्ष थिएनन्।राजकुमारले दुई चार गोटी चाल्दा नै शिष्यको दक्षता चाल पाईहाले।राजकुमार जीतको नजिक पुग्दै थिए।छल्यास्स खेलको शर्त याद आयो।उनीमा करुणा जाग्यो।खेल जित्दा शिष्यको शिर छेदनको पिडाले पोल्यो।राजकुमार खेल हार्ने गरी खेल्न थाले जसको लागि उनले राम्रै मेहनत गर्नु पर्यो।राजकुमार खेल हार्न दत्तचित्त लगाएर खेल्दै थिए भने योगी रमिते बनेर खेल हेर्दै थिए। नजिकबाट खेल नियालिरहेका योगीले राजकुमार र शिष्यलाई खेल रोक्न आग्रह गरे।राजकुमारले राजालाई खेल रोक्नुको कारण सोधे।योगीले राजकुमारलाई खेलबाट हजुरले धेरै सिकीसक्नु भयो जीबन जगत ध्यान करुणाको बारेमा भने तर राजकुमारले योगीको कुराको केहि भेउ पाएनन्।
योगी राजकुमार तर्फ इङकित गर्दै अझ प्रष्ट पार्दै थप्छन्-“तपाईमा शिष्य प्रति करुणा भाव उत्पन्न भयो।सजिलै जित्ने खेल हार्न चाहानु भयो।हार्न लागि तपाई ध्यान केन्द्रित गर्न लागि पर्नु भयो।आध्यात्मिक अन्तरयात्राको लागि आबश्यक पर्ने करूणाभाब र एकाग्रता तपाईमा मैले पाए।अब बिस्तारै भोलिका दिनहरुमा थप सिक्दै जानुहुनेछ अब तपाई दरबार जान सक्नु हुन्छ।”योगीको उदाहरण सहितको बोधित्व कला प्रति राजकुमार प्रभावित भए।
मानव भित्र नै अथाह गुण क्षमता हुदाहुदै पनि कस्तुरी झै हामी बाहिरी सन्सारमा भोतारिन्छौ।धन दौलत पद प्रतिष्ठा रुप सौन्दर्य बर्ण क्षेत्र धर्म भूगोलको जलप लगाएर हामी म भित्रको म लाई लुकाउन खोज्छौ।जीबनमा म भित्रको म बाहेक हामी सबैलाई चिन्छौ।जन्म देखि नै जात सस्कार धर्म भूगोल लिङ्ग आदिको बिल्ला भिराएर हामीलाई हाम्रो समाज आफन्तले उठ्न नसक्ने भारी बोकाइदिन्छन्।धन दौलत पद प्रतिष्ठा प्राप्त गर्न हामी जीबनभर प्रतिस्पर्धाको अनन्त यात्रा तय गर्छौ।अरुलाई पछि नपारी अघि बढ्न सकिन्न भन्ने सोच बिकास हुदा हामी सबैलाई शत्रु देख्छौ जसले करुणा भाव सदाको लागि मर्दछ र हाम्रो आध्यात्मिक अन्तरयात्रामा पूर्णबिराम लाग्छ।
हामीमा धन दौलत पद प्रतिष्ठाको आशक्ति चुलिन्छ जसको कारण मानव भएर जन्मनुको अर्थ खोज्न म भित्रको मलाई बुझ्न ज्ञान ध्यान योग साधना ब्यायाम सकारात्मक सोचको माध्यमबाट मानशिक शारिरिक रुपमा स्वस्च्छ र सवल हुनबाट समेत चुक्छौ।जीबनमा गलत यात्रा तयका कारण हामी जन्म मृत्यू र बीचका केहि घटनाहरुमा रुमल्लिन्छौ।महर्षि पतञ्जलिले सुझाएका-अथ योगानुशासनम्। योगश्चित्तवृत्तिनिरोध:।तदा द्रष्टु:स्वरौपेSवस्थानम्।वृत्तिसारुप्यमितरत्र।चार श्लोकको भाब बोधित्वबाट अन्तरयात्रा तय गर्न सके जीबन सार्थक बन्छ।
लेखक: नारायण प्रसाद रेग्मी उप -प्राध्यापक सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )