पर्वत, भदौ-१, सरकारले ‘स्मार्ट लकडाउन’ को कार्यविधि पास गरे सँगै पर्वतमा पनि लकडाउनको विषयमा छलफल भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र पर्वतले उक्त कार्यविधि उपर छलफल गरी जिल्लाको वर्तमान अवस्थाका बारेमा समिक्षा गरेको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय पर्वतमा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको संयोजकत्वमा बसेको बैठकले जिल्लाको वर्तमान अवस्था र स्मार्ट लकडाउन कार्यविधि २०७८ उपर छलफल भएको हो । छलफलका क्रममा स्वास्थ्य कार्यालय पर्वतले जिल्लाको पछिल्लो कोभिड १९ को अवस्थाबारे जानकारी गराएको थियो । जानकारीका क्रममा मंगलबार सम्म ३ सय ४ जना सक्रिय संक्रमित रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
उक्त तथ्याङ्क हेर्दा स्मार्ट लकडाउनको कार्यविधि अनुसार ‘हार्ड लकडाउन’ (निषेधाज्ञालाई कडाई’ गर्नुपर्ने अवस्था भएपनि तत्काल हार्ड लकडाउन जारी गर्ने अवस्था नभएको बताउँदै जिल्लामा संक्रमितहरुको दर यहि अवस्थामा बढ्दै जाने र सर्वसाधरणहरुले समेत स्वास्थ्य मापदण्डका सुचकहरुलाई पालना नगर्ने हो भने एक हप्ता पछि हार्ड लकडाउन गर्नुपर्ने अवस्था रहने निष्कर्ष निकालेको छ ।
बैठकका क्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले सर्वसाधरणहरु स्वास्थ्य सतर्कता सम्बन्धि संवेदनशील नरहेको बताउँदै बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने र ग्रामीण क्षेत्रमा पिसिआर तथा एन्टिजेन परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभएको थियो । कतिपय नागरिकहरु स्वास्थ्यमा कोभिड १९ को लक्षण देखिएपनि परीक्षण गराउन आनाकानी गरेको बताउँदै स्थानीय तह र स्वास्थ्य संस्था बढी जिम्मेवार बनेर लाग्नुपर्ने उहाँको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी खत्रीले सर्वसाधरणहरुले कोभिड १९ को संक्रमण र आफ्नो स्वास्थ प्रति हेलचक्राइ गरेको बताउँदै हार्ड लकडाउन गर्नुपर्ने अवस्था सिर्जना नगर्न जिल्लाबासीहरुलाई आग्रह गर्नुभएको छ । ‘जहाँ संक्रमण बढी छ, त्यो ठाउँ शिल गर्नुपर्ने अवस्था आउन सक्छ’, उहाँले भन्नुभयो ‘स्वास्थ्य मापदण्ड पालना गरेर हरेक दैनिक क्रियाकलापहरु सञ्चालन गर्न जिल्लाबासीलाई अनुरोध छ’
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )