पर्वत, साउन-८, पर्वतमा पाँचौ चरणको खोप अभियान सम्पन्न भएको छ। साउन ४ गतेदेखि शुरु भएको अभियान बिहीवार सकिएको हो ।साउन ४ र ५ गते कुश्मा बाहेकका पालिकामा र साउन ६ र ७ गते कुश्मा नगरपालिकामा लगाईएको हो । यो चरणमा झण्डै ९ हजार पाँच सय जनालाई भेरोसेल खोप लगाईएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
कार्यालयका अुनसार ५५ वर्ष उमेर भन्दा माथिका नागरिक, शिक्षक तथा विद्यालयका कर्मचारी, चालक र सहचालक, अपाङ्ग लगायत पहिला खोप लगाउन छुटेका ५५ वर्ष उमेर भन्दा माथिका जेष्ठ नगारिक, अत्यावश्यक सामान विक्रिवितरण गर्ने व्यावसायी र जिल्ला प्रशासन कार्यालयको सिफारीस भएका व्यक्तिहरुलाई लगाईएको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रविण भण्डारीले जानकारी दिनुभयो ।कोभिसिल्ड र भेरोसेल गरी अहिलेसम्म झण्डै २६ हजार नागरिकहरुलाई खोप लगाईएको छ ।
उहाँका अनुसार अब पर्वतमा साउन १० र १८ गते जोनसन एण्ड जोनसन खोप लगाईने भएको छ । ५० वर्ष भन्दा माथिको उमेर समुहका नागरिकलाई जोनसन एण्ड जोनसन खोप लगाईने भण्डारीले जानकारी दिनुभएको छ ।
यसैबीच लामो समयदेखि आन्दोलनरत शिक्षकले पनि खोप पाएका छन् । कुश्मा नगरपालिकाले बिहीबार आफ्नो क्षेत्रभित्रका शिक्षकहरुलाई खोप लगाएको छ । अन्य स्थानीय तहले समय तालिका बनाएर खोप दिइसकेका छन् । खोप लगाउन लाइनमा बसिरहेका धेरै शिक्षकहरू ढिलै भए पनि खोप पाउँदा हौसिएका देखिन्थे । तर उनीहरू सबैको गुनासो थियो की राज्यले अन्तिममा मात्र खोप दियो त्यो पनि आन्दोलन गरेपछि ।
यस पटकको खोप अभियानमा केहि डोज दुरुपयोग भएको ब्यापक गुनासो आएको छ । सरकारले मापदण्ड तोकेको भन्दा अन्य व्यक्तिहरुले खोप लगाएको गुनासो बढेको हो । केहि दिन धैर्य गर्न सक्ने क्षमता नहूँदा दुरुपयोग बढेको हुनसक्ने कार्यालयको भनाई छ । यद्यपी वितरण गरिएको खोप र लाभग्राहीहरुको नामावली कार्यालयमा सुरक्षित रहेकोले कहाँ के कसरी खोप दुरुपयोग भयो भन्ने थाहा हुने समेत कार्यालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )