अघिल्लो वर्ष देखि केटाकेटीको पढाइ लथालिङ्ग भएकोछ । शुरुका केहि दिनमा त केटाकेटी खुब रमाए । न त स्कुल जानु पर्ने, न होमवर्क, न त समयमा उठ्नु पर्ने क्या गज्जव !!! अभिभाबकलाइ पनि लाग्यो “हो त ! ज्यान रहे त पढाइ अर्को वर्ष पनि त हुन्छ नि । ” लकडाउन ७ अंकको पहाडा जस्तै थपिदै गयो अन्तत बैशाखबाट शुरुहुने शैक्षिक सत्र आज-आज, भोलि-भोलि भन्दा भन्दै ७ महिना पर धकेलियो । सहरबजार र केहि सक्षम स्कुलले बैकल्पिक सिकाइको एउटा तरिका अनलाइनलाई निरन्तरता दिए । थुप्रै चुनौती र अफ्ठेरा अवस्थाका बाबजुत बिद्यार्थीहरु जोडिने काम चै भयो । सामान्यतया मंसिरको आधा-आधीबाट विद्यालयमा भौतिक उपस्थितिमा पढाइ शुरुहुन थाल्यो ।
संक्रमणको त्रासबीच विद्यालय त खुले तर चैतको आधा-आधि मै (अन्तिम परीक्षा हुन नपाउदै) फेरी बन्द भए । सरकारले बैकल्पिक बिधीबाटै मुल्यांकन गरेर कक्षा उन्नति गर्न भन्यो सबैले त्यसै गरे । असार १ गतेबाटै नया शैक्षिक सत्र शुरुपनि भयो । निजि विद्यालयले कक्षा शुरु गरिहाले किनकि अब अनलाइन जत्तिको उत्तम विकल्प अरु थिएन।
म निजि विद्यालयमा पढ़ाउँछु । असारको ६ गतेबाट अनलाइन माध्ययमबाटै नयाँ शैक्षिक सत्रको पठनपाठन शुरुभयो । २-४ जना हुदै यो आलेख तयार पार्दा सम्म मेरो बिषयमा ९०% विद्यार्थी जोडिएका छन् । सबै जोडिन नसक्नुका पछि धेरै कारण छन् । कक्षा नर्सरी देखि १० सम्म नै अनलाइन मार्फत पढाइ भइरहेको छ । यसको प्रभावकारीता के कति छ भनेर खोज्नु भन्दापनि यसको अर्को उपयुक्त बिकल्प छैन ।
अर्को कुरा म जुन ठाउमा बस्छु त्यहाँ धेरै नानिबाबुहरु छन् । फरक-फरक विद्यालयमा पढ्ने ति नानिबाबुहरू पनि अनलाइन क्लास नै पढ्छन । अभिभाबकहरुले खुशी नै मानेका छन् र भन्छन ” के गर्ने यहि अनलाइन भए पनि भुल्ने बाटो भएको छ ।” साना-साना नानिबाबुहरुलाइ भने गाह्रै भएको छ । अनलाइन पढ्न /पढाउन त्यति सजिलो छैन । झ्याप्प-झ्याप्प लाइन जाने, लाइन गयोभने इन्टरनेट गैहाल्ने, मोबाइलडाटा किनेर साध्यै छैन ।
असारको तेश्रो हप्ता त २-३ दिनसम्म विद्युत यसरी गयो कि ३६ घण्टा सम्म आएन । बत्ति नआएपछि कक्षा त अबरुद्द भयो नै टेलिभिजनपनि चलेन । कक्षा नहुँदा कस्तो हुन्छ आफै बुझ्नुस । केटाकेटीलाइ सम्हाल्न कति गाह्रो हुन्छ । बत्ति नहुदा, इन्टरनेट नचल्दा, टेलिभीजन नहुदा कस्तो हालत भयो होला । तर मलाइ खुसि लाग्यो अनि मन-मनै सोचें एक हप्ता यस्तै भैदिए हुन्थ्यो तर भएन । सोच्नुहोला पढाउन नपर्दा खुसि भयो त्यो पनि हैन । म खुसि भएँ कारण यस्तो छ ।
जतिबेला बिद्युत आउछ नानिबाबुहरु मोबाइल मै झुम्मिएका हुन्छन । कि त पढाइको बहाना कि त गेम । त्यो पनि नभए टेलिभिजन । जव बत्ति भएन केटाकेटी सबै घर बाहिर निस्किए । चौर र चोक, गल्ली अनि खाली ठाउँमा खेल्न थाले, स-साना केटाकेटी पात, फुल टिपेर माटो, बालुवामा रमाई रमाई खेले, अलि ठुला नानिबाबुहरु आसपास, लुकामारी जस्ता खेल खेले । कोहि घुम्न निस्किए , अभिभाबक पनि घरको पेटी या खुल्ला ठाउँमा निस्किएर गफिन थाले । गुमेको सामाजिक जीवन फेरी जीवित भयो ।
आहा !!! यो पो त सामाजिक जीवन । तर आजभोलि प्रविधिको बिकास संगै हाम्रा लुकामारी, आसपास, डन्डीबियो , माटोको भात पकाई खेल, हिलो, बालुवा फुल र झारपात संगका खेल सबै हराए । हामी पाका मान्छे पनि कानमा “इयर फोन” जोड्यो मोबाइल हेर्यो घोप्टो पर्यो । यो भन्दा अर्को खेति भएन । आँखा खुल्दासाथ् फेसबुकमा कसैका टिप्पणी, गालि-गलौज, घोचपेच यसैबाट दिनको शुरुवात हुनेगर्छ । हामीमा कति नकारात्मक उर्जा बढेर गएको छ त्यो हामीलाई नै थाहा छ । त्यसैले त्यो ३६ घन्टाको परिस्थितिले एक प्रकारको आनन्द दियो । सोचें सधै यस्तै भैदियोस तर सम्भव नै छैन । प्रविधिले हामीलाई घाइते बनाएको छ, थिलोथिलो पारिसकेको छ, हामी सायदै रिकभर हुन्छौं ।
विभिन्न प्रकराका डिभाइस हाम्रो जीवन संग “एट्याच” भैसके तर त्यसलाई ब्यबस्थापन गर्न भने सकिन्छ । इच्छा शक्ति सबैभन्दा ठुलो हो त्यसैले बास्तविक जीवन जिउन प्रकृति सबैभन्दा मनोरम स्थल हो , विद्यालय हो, मन्दिर हो , घर हो, गुरु हो, साथि हो र सबथोक हो । प्रकृति संग रमाउन सिकौं ।
कृष्ण बहादुर घर्ति क्षेत्री
(भाइस-प्रिन्सिपल, वेष्ट पोइन्ट कलेज, बेनी म्याग्दी )
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )