म्याग्दी, साउन-७, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको बिहीबार म्याग्दीमा एक कार्यक्रमको आयोजना गरी स्मृति दिवस मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा औपचारिक कार्यक्रममार्फत पुष्पलालको सम्झना गरिएको हो ।
४३औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा नेकपाका संस्थापक नेता समेत रहेका महासचिव श्रेष्ठले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरी नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको विषयमा चर्चा गरिएको थियो । तत्कालीन समयमा देशमा निरङ्कुश राणाशासन चलिरहेको अवस्थामा श्रेष्ठले राणाहरुको शासनबाट पीडित जनताहरुको पक्षमा विभिन्न आन्दोलनको नेतृत्व गरेका थिए ।
एमाले म्याग्दीले शहिद स्मृति भवन पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्ने नेताहरुले देश अहिले पुष्पलाले देखाएको बाटोमा अगाडि बढिरहेको बताए । उनीहरुले नेपालमा राणाशासन र पञ्चायतको विरुद्धमा नेकपाका महासचिव श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनको सम्झना गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य नवराज शर्माले एमाले सत्ताबाट बाहिरिए पनि अब जनताको माझमा पुगेर यसअघि सरकारले गरेका कामहरुको बारेमा बुझाउनुपर्ने बताएका छन् । उनले एमाले अबको केही समय प्रतिपक्ष बनेकाले जनताको पक्षमा चालेका कदमबाट देउवा नेतृत्व सरकार कहाँ कहाँबाट पछि हट्छ त्यसमा एमालेले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री एवं प्रदेश सभा सदस्य नरदेवी पुनले आफू मन्त्री हुँदा शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै सुधारका कामहरु गरेको बताइन् । उनले वर्तमान कांग्रेस नेतृत्वको प्रदेश सरकारले एकैदिन बजेट माग गर्ने, सोही दिनमा मन्त्रालयले निर्णय गर्ने र सम्झौता गरेकाले आर्थिक नियम मिचेर गलत कामको सुरुवात गरेको बताइन् । उनले कांग्रेस नेतृत्वको प्रदेश सरकारले १६ करोड रुपैयाँ बजेट आर्थिक नियमविना नै बाँडफाँड गरेको भन्दै यसअघि म्याग्दीको विभिन्न स्थानमा परेको बजेटलाई अहिलेको सरकारले कटौती गरेको आरोप लगाएकी छन् ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँले मन्तव्य राखेका थिए । कार्यक्रम नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिवालय सदस्यद्वय प्रमोद श्रेष्ठको स्वागत र दिपक कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले पार्टीसहित जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ता लगायतले सहभागिता जनाएका थिए ।
नेपालमा कम्युनिष्ट पार्टीमार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए । पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । विश्व कम्युनिष्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका पुष्पलालको वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्म भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )