कास्की, असार-२८, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले निषेधाज्ञा नमान्ने घोषणा गरेको छ । सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै उसले यहि असार ३० गतेबाट देशभर गाडी सञ्चालन गर्ने बताएको छ । कम्पनीले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै असार ३० गतेबाट नियमित गाडी सञ्चालन गर्ने जानकारी दिएको हो ।
सरकारले असार ३० सम्म निर्णय गरेर लामो दूरीका सार्वजनिक यातायात सञ्चालन नगरे आफूहरुले काउन्टर खुला गरी टिकट बुकिङ गर्ने कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर बताउनुभयो ।
कम्पनीले तोकिएको मितिबाट टिकट बुकिङ काउन्टर खोल्ने र मागका आधारमा गाडी सञ्चालन गर्ने जनाएको छ । अध्यक्ष केसीले गाडी सञ्चालन गर्दै गर्दा प्रशासनले रोकेको खण्डमा जहाँ रोकेको हो त्यहिंको प्रशासनसँग समन्वय गरेर गाडीलाई गन्तव्यसम्म पुर्याइने बताउनुभयो । अध्यक्ष केसीले गाडी सञ्चालन गर्दा प्रशासनले गिरफ्तारी गरे आफूहरु गिरफ्तारी दिनपनि तयार रहेको बताउनुभयो ।
निषेधाज्ञाका बीच नीजि सवारी साधनलाई सञ्चालन गर्न दिने तर लामा दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न नदिने राज्यको नीति नै पूर्वाग्रहपूर्ण रहेको कम्पनीको गुनासो छ । ‘नीजि सवारी साधनमा कोरोना नसर्ने, अनि हामीले चलाउने सार्वजनिक गाडीमा मात्रै कोरोना सर्ने ? त्यस्तो त दुनियामा कहिंपनि हुँदैन’–अध्यक्ष केसीले भन्नुभयो । यदि वैज्ञानिक हिसाबले सार्वजनिक गाडीमा मात्रै कोरोना सर्ने पुष्टि भएमा मात्र आफूहरुलाई मान्य हुने उहाँको भनाई थियो ।
अध्यक्ष केसीले बैंक तथा वित्तिय संस्थाले लोनको किस्ता र ब्याज तिर्न ताकेता जारी राखेको, मजदुरहरुले भोकभोकै बस्नुपर्ने स्थिति रहँदापनि सरकारले आफूहरुको माग सम्बोधन नगरेपछि आफूहरु भद्र रुपमा गाडी सञ्चालन गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेको बताउनुभयो ।उहाँले भाडा समायोजन गर्ने माग पनि राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
कम्पनीले गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने जनाएको छ । कम्पनीले बस चढ्ने यात्रुलाई सेनिटाइजरको ब्यबस्था गरिने बताएको छ भने बसमा चढ्दा मास्क अनिवार्य गर्ने तर मास्क यात्रु आफैले लिएर आउनुपर्ने नभएर १० रुपैयाँमा खरिद गर्नेगरी बसमै उपलब्ध गराउने अध्यक्ष केसीले बताउनुभयो । साथै हरेक दिन बसलाई निसंक्रमण गर्ने उहाँको भनाई छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )