पर्वत, जेठ-९, पर्वतमा स्वावको नतिजा ढिलो आउँदा समस्या भएको छ । कोरोनाको आशंकामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको हो ।
जिल्लाबाट पठाइएका करीब २५० जनाको स्वाबको नतिजा आउन अझै बाँकी छ । गत वैशाख २८ गतेदेखि यताका स्वाबको नतिजा नआउँदा जाँच गराएका व्यक्ति अन्योलमा परेका छन् भने व्यवस्थापकीय जिम्मेवारीमा रहेका निकाय पनि अन्योलमा परेका छन् । कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाका अनुसार एक हप्तादेखि १० दिनसम्मका रिपोर्ट अझै आएका छैनन् ।
सङ्क्रमितको आशङ्कामा परीक्षण गरिएको रिपोर्टको नतिजा ढिलो आउँदा आफूहरु अन्योलमा रहेको सापकोटाले बताउनुभयो । प्रयोगशालाले ढिलो रिपोर्ट दिँदा कन्ट्याक्ट ट्रेसिङको कुनै अर्थ नरहने सापकोटाको गुनासो छ । सङ्क्रमणको आशङ्का गरिएकाहरु समुदायमा घुलमिल भैरहेका र अलिअलि रुघाखोकी लागेका पनि निको भइसकेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोना सङ्क्रमित भएको १० दिनपछि एकले अर्कोलाई सर्दैन र गम्भीर लक्षण पनि देखिँदैन भनेर भनेको छ । सातदेखि १० दिनअगाडि पठाएका स्वाबको नतिजा अब आउँदा पोजेटिभ आयो भने उनीहरु सङ्क्रमितसरह मानिने कि नमानिने बहसको विषय बनेको छ ।
कुश्माका ९७, बिहादीका ६७, फलेवासका र १०२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना परीक्षणको नतिजा ढिलो आउँदा आम मानिसमा चिन्ता बढेको छ ।
स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक विनोदविन्दु शर्माले धेरै जिल्लाबाट स्वाब बढी मात्रामा आउँदा प्रयोगशालामा लोड भएकाले नतिजा दिन ढिला भएको बताउनुभयो ।
उहाँले केही रिपोर्ट पोखराबाट काठमाडौँको प्रयोगशालामा पनि पठाइएको र त्यहाँबाट रिपोर्ट दिन झनै ढिलो हुँदा समस्या भएको सुनाउनुभयो । उहाँले सोमबारसम्म रिपोर्ट आइपुग्ने जानकारी दिनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )