पर्बत, जेठ-६, त्रिविको ढिलो परीक्षा लिने प्रणालीबाट पीडित विद्यार्थीहरु कोरोना कहरले गर्दा दुईपटक परीक्षा सरेपछि अन्योलमा परेका छन् । क्याम्पस पढ्ने वार्षिकतर्फका करिब साढे दुई लाख विद्यार्थी स्नातक प्रथम वर्षको परीक्षा दिन १९ महिनादेखि कुरेर बसेका छन् ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी पोहोर भदौमा परीक्षा गराउन तालिका निकाले पनि कोरोनाले गर्दा मुलुकभर लकडाउन भएपछि सबै परीक्षा स्थगित भएको र स्नातक प्रथम वर्षको परीक्षा पनि रद्द भएको बताउँछन् । उनले भने, “सहज परिस्थितिमा गत वर्ष मंसिरदेखि चैतसम्म परीक्षा गरायौँ । स्नातककै चौथो, तेस्रो र दोस्रो वर्षको परीक्षा हुँदै थियो । फेरि, कोरोना संक्रमण बढपछि लकडाउन भइहाल्यो ।” दोस्रो वर्षकै दुई विषयका परीक्षा बाँकी छन् । अब कहिले हुने अनिश्चित भएको उनले बताए ।
सेमेस्टर प्रणालीमा भर्ना भएका विद्यार्थीको परीक्षा भइसकेको छ । परीक्षा गर्न सम्भव नभएमा आन्तरिक मूल्यांकनमा प्राप्त नतिजालाई आधार बनाई नतिजा प्रकाशित गरिएको छ । तर, वार्षिक प्रणालीमा विद्यार्थीलाई परीक्षा नै नलिई सिधै भर्ना लिने र कतिपय विद्यार्थी परीक्षा दिने बेलामा एकैपटक भर्ना लिने हुँदा आन्तरिक मूल्यांकन नहुँदा कुनै प्रकारको मूल्यांकन गर्न कठिन भएको परीक्षा नियन्त्रक जोशी बताउँछन् ।
अहिले पनि समयमै परीक्षा लिन पदाधिकारीसँग छलफल चलिरहेको तर निष्कर्ष निकाल्न नसकेको उनले बताए । तर, परिस्थिति सहज भएपछि गत वर्षको जस्तो जहाँ छन्, त्यही राखेर परीक्षा लिने व्यवस्था गर्न सकिने उनले बताए ।
हाललाई भने स्नातक दोस्रो वर्षको पढाइ सुरु गरेको र पछि प्रथम र दोस्रो वर्षको परीक्षा केही महिनाको अन्तरमा सँगसँगै लिने र यसले गर्दा वार्षिक क्यालेन्डर ६ महिना मात्र ढिलो हुने उनको दाबी छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )