१३ चैत, कालीगण्डकी र म्याग्दी नदीको दोभानमा सुन्दर नगरी बेनी बजार धेरैले नपुगेका हुनसक्छन तर बेनीको बजार भन्ने गीत नसुन्ने कमै छन् । त्यहि सुन्दर नगरी बेनी बजारलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको देहवसान भएको छ ।
‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएपछी विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो । श्रेष्ठकी श्रीमती मन छन्त्यालको स्वरमा सजिएको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको सहर भनेरसमेत चिनिन्छ ।
लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गराइरहनु भएका श्रेष्ठ जन्मथलो म्याग्दीबाट बसाइ सरी रुपन्देहीमा बसोवास गर्दै आउनु भएको थियो । उहाँको ७५ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
तबला, हार्मोनियमलगायतका थुप्रै बाजा बजाउने श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम जस्तै हुनुभएको थियो । गीतसंगीतका कुशल सर्जक, गायक, बेनीको नेवार संस्कृतिका संरक्षक उहाँको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन् ।
विसं २०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ बोलको गीत गाउनु भएको हो । सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको थियो । त्यसपछि सोही गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो । पछिल्लो समयमा बेनीको बजार गीतधेरै पतन पुनस्वरांकन समेत भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )