चैत्र १४, दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको शनिबार अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गीय जोशीको पार्थिव शरीरमा उहाँका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिनु भएको थियो ।
नेता जोशीको शवलाई श्रद्धाञ्जलीका लागि उहाँको निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा जोशीको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
स्वर्गीय जोशीको शवलाई श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, एमाले नेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत कांग्रेस पार्टी कार्यालय सानेपा पुग्नु भएको थियो ।
राजनीतिलाई सधैं जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो । मस्तिष्कघात हुनुभन्दा पहिले जोशी आफ्नो निर्वाचन क्षेत्रको घरघरमा पुगेर कोरोना संक्रमण नियन्त्रणका सामग्री वितरण गर्दै आउनु भएको थियो ।
२०७३ सालमा उद्योगमन्त्री बनेका नेता जोशी नेपाली कांग्रेसको १२ औं र १३औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बन्नु भएको थियो । स्वर्गीय जोशीका श्रीमती र एक छोरी रहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )