चैत १२, कोरोना संक्रमण बढे संगै सरकारले आइसोलेसन र क्वारेन्टाइनलाई तयार राख्न निर्देशन दिएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सो निर्देशन जारी गरेको हो । कोरोना महामारीको जोखिम बढेको भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।
कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवनलगायतलाई क्वारेन्टाइन र आइसोलेसन बनाइएको थियो । गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टाइन र आइसोलेसनको विवरण पनि पठाउन जिल्ला प्रशासनलाई निर्देशन गरेको छ । होलीमा बढी भीडभाड नगर्न भनिएको छ ।
मास्क र सेनिटाइजर अनिवार्य रूपमा प्रयोग गराउन पनि गृहले प्रशासन र सुरक्षा निकायलाई निर्देश गरेको छ । सरकारको निर्देशन अटेर गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को जनस्वास्थ्यसम्बन्धी व्यवस्थाअनुसार कारबाही गर्ने भनिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले महामारीलको जोखिम ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न र संक्रमण देखिएका तथा बाहिरबाट आएकालाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन परिपत्र गरिएको बताउनुभएको छ ।
गृहले होटल रेस्टुराँ, डान्सक्लब, पार्टीलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार प्रशासनलाई दिइएको छ । यसअघि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गरेर रात्रिकालीन व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गरेको थियो । तर, निर्देशिकामा उल्लेख भएका प्रावधानअनुसार जनस्वास्थ्य मापदण्ड पालना भएको छैन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )