बेनीको सिँगामा रहेको तातोपानी कुण्ड प्राकृतिक रुपले औषधीय गुणले भरिपूर्ण मात्र होइन चारै तर्फ सुन्दर मनोरम दृश्यले घेरिएको छ | बिभिन्न क्षेत्र र उमेर समुहका ब्यक्तिहरु आ-आफ्नो अनुकुलता अनुसार दृश्यावलोकन तथा स्वास्थ्य लाभका उदेश्यले पुग्ने गर्छन | यसैले गर्दा उक्त ठाउँको विकास पूर्वाधारकालागी आन्तरिक तथा बाह्य पर्यटनको ठुलो सम्भावना बोकेको क्षेत्र हो भन्दा अत्योक्ति नहोला |
त्यहाँ भेटिने मानवीय झुण्डमा नेपाली समाजको बिबिधता भित्रको सुन्दरता समेटेको चित्र स्पस्ट देखिन्छ | महिला र पुरुषका लागी छुट्टा छुट्टै बनाईएका तातोपानीको कुण्डमा डुब्ने झुण्डहरुलाई गत महिना नियालेर हेर्ने अवसर पाएको थिएँ | ती झुण्डका आर्थिक, सामाजिक,लैंगिक अवस्थाहरु अध्ययन गर्न फराकिलो आधारहरु भेट्न सहज नै रहेको अनुभूति हुन्छ | पुरुष सेवा ग्राहीका लागी कुण्डमा डुब्न आवश्यक पहिरनलाई खासै महत्व नदिए पनि महिलाहरुको लागी एक निश्चित डिजाईनका पहिरन आवश्यक बनाईएको रहेछ जसले गर्दा पहिरनमा एकरुपता स्थापित गर्न कोशिस गरेको बुझिन्छ र त्यसले सकारात्मक सन्देश दिन्छ तर निश्चित समयमा निश्चित सेवाग्राहीको संख्या निर्धारण गर्न नसकेकोले गर्दा समय समयमा कुण्ड भित्र अत्यधिक भिड हुने र आवाज प्रदूषणको सम्भावना अत्यधिक हुँदो रहेछ |
पुरुषहरु भन्दा महिलाहरु डुब्ने कुण्ड ब्यबस्थापन गर्न गार्हो हुने अनुभूति त्यहाँका ब्यबस्थापन सहयोगीहरुले बताउने गर्छन | तिनका अनुसार महिलाहरु बढी गुनासो गर्ने र हल्ला गर्ने हुन्छन | यसको अनुमानित कारण समाजका बिभिन्न बहुसंख्यक संरचनाहरुमा रहेका महिलाहरु प्राय: नेतृत्वदायी भूमिकामा रही ब्यबस्थापनमा सम्मान सहितको सक्रिय स्थान पाउन नसकेकाले स-साना निर्णय र ब्यबस्थापन गर्न समेत त्यहाँ रहेका पुरुष सहयोगीहरुलाई गुहार्ने गर्दा रहेछन | महिलाका लागी कुनै महिला नै ब्यबस्थापन सहयोगी राखिएको भए सेवाको प्रभावकारिता बढ्ने सम्भावना देखिन्छ तर टिकट काट्ने ठाउँमा मात्रै महिला र अन्य ब्यबस्थापनका लागी सिर्फ पुरुष मात्रै हुँदा यसले प्रभावकारी ब्यबस्थापन हुन् नसकेको भान हुन्छ |
पुरुषहरु डुब्ने कुण्डमा जनै लगाएका र नलगाएका पुरुषहरुले गर्दा बाहुन र अन्य जात स्पस्ट छुट्टिन्छ त्यस्तै गरी महिलाहरु तर्फ सुनका भारी मुन्द्रा देखि लिएर हात र घाँटीमा लगाईएका सुनका गहनाहरुले तिनका आर्थिक अवस्था र चेतना दुवै झल्किन्छ | त्यस्तै गरी बिभिन्न क्षेत्रका भाषा, लैंगिक पहिचान, बोल्ने शैली र ब्यबहारगत सामाजिक बिबिधताका साथै नेपाली समाजको अपनत्व झल्किने स्थलको रुपमा रहेको उक्त तातोपानी कुण्ड समाज जोड्ने एक भरपर्दो माध्यमको रुपमा पनि हेर्न र बुझ्न सकिन्छ | त्यसका साथै प्रकृति प्रदत्त श्रोतको रुपमा रहेको उक्त तातोपानी कुण्डलाई प्रभावकारी ब्यबस्थापन गर्ने हो भने त्यसले एक छुट्टै विशिष्ट पहिचान दिने सुनिश्चितता बढ्छ |
दैनिक रुपमा हजारौंका संख्यामा पुग्ने सेवाग्राहीले गर्दा हुने आर्थिकलाभलाई प्रभावकारी रुपमा योजना र ब्यबस्थापन तर्फ प्रयोग गरिने हो भने यसले त्यहाँ वरिपरी अन्य क्षेत्रका पर्यटन उद्योगलाई समेत टेवा पुग्ने र दीर्घकालीन विकासलाई प्रवर्द्धन गर्ने बिभिन्न आधारहरु प्रदान गर्ने निश्चित छ | जसले गर्दा मुलुकका भविष्य नेपाली युवाहरुलाई बाध्यकारी पलायन हुनबाट केहि हद सम्म रोक्न सकिने सम्भावना लाई टेवा दिने अवस्था सिर्जना हुन्छ |
बिशेष गरी नशा र छाला सम्बन्धित रोग भएका ब्यक्तिहरुको लागी प्रख्यात रहेको उक्त तातोपानी कुण्डमा डुब्न बिभिन्न किसिमका नशा र छाला सम्बन्धि समस्या भएका दिर्घ रोगी समेत पुग्ने गर्छन | छाला सम्बन्धि बिभिन्न घाउहरु भएका ब्यक्तिहरु एउटै कुण्डमा संग संगै डुब्दा कतिपय सेवाग्राहीले असहज महसुस गर्नु स्वभाविक हो | त्यसका लागी त्यस्ता रोगको अवस्था अनुसार अलग्गै तातोपानी कुण्डको ब्यबस्था गरिनु आवश्यक हुन्छ जसले गर्दा सबैलाई सहज र स्वस्थ वातावरण भएको महशुस गराउन सकियोस | साथ साथै सेवाग्राहीहरु संग गरिने प्रभावकारी सम्बाद, लैंगिक सम्बेदनशीलता जस्ता बिषय बस्तुहरुलाई पनि महत्वका साथ जोडिनु पर्छ जसले गर्दा त्यो ठाउँको पहिचान देश भित्र मात्रै होइन विश्वका अन्य भागमा पनि पुग्न सकोस र आन्तरिक तथा बाह्य पर्यटनले त्यो ठाउँमा अन्य आय आर्जनका अवसर र सम्भावनाहरु समेत बढ्न सकोस |
भनिन्छ कुनै पनि ब्यक्ति वा ठाउँको दीर्घकालीन विकास कसैले आएर गरिदिन सक्दैन त्यसैले आफ्नो समाज आफै बनाऊ भन्ने स्पिरिटका साथ स्थानीय तहको नेतृत्वमा बिभिन्न ब्यबस्थापन प्रशिक्षण र साझेदारी कार्यक्रमहरु संचालन गरिनु उपयुक्त हुन्छ | जसले आत्मनिर्भरताका साथ समृद्ध समाजको निर्माण गर्न सकोस र अन्य समाजका लागी त्यहाँको स्थानीय श्रोत साधनको उपयोग गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने एक गतिलो उदाहरण बन्न सकोस |
(वीणा झा –समाजशास्त्री )
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )