कैलालीमा एमाले भित्रका दुई समूह बिच कुटाकुट भएको छ । प्रदेश इन्चार्जको विषयमा विवाद उत्पन्न भएपछि प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको हो ।
पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरूले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए । यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि कुटाकुट भएको हो ।
बुधवार प्रदेश पार्टी कार्यालयमा नेकपाको ब्यानर हटाएर नेकपा एमालेको ब्यानर राख्ने कार्यक्रम तय भएको थियो । ११ बजे नेकपा एमालेको ब्यानर लिएर प्रदेशका अध्यक्ष कर्ण थापा पार्टी कार्यालयमा पुग्नुभएको थियो तर, त्यहाँ उपस्थित प्रहरीले नेता थापालाई पार्टी कार्यालय भित्र छिर्न दिएन ।
प्रदेश अध्यक्ष थापा कार्यालय प्रवेश गर्दा सम्म नेकपाको ब्यानर हटाएर एमालेको ब्यानर राखिसकिएको थियो । नेपाल समूहका कार्यकर्ताहरूले ब्यानर राखेका थिए । थापा प्रवेश गर्दा प्रदेश पार्टी कार्यालयमा अध्यक्षको कार्यकक्ष बाहिर भानुभक्त जोशी र इन्चार्जमा भीम रावलको नेम प्लेट थियो । त्यही समयमा दुवै जनाको नेम प्लेट निकालियो । ती दुई स्थानमा कर्ण थापाको र लेखराज भट्टको नाम राखिएको थियो ।
त्यस लगत्तै नेपाल समूहका कार्यकर्ताहरूले लेखराज भट्टको नेम प्लेट हटाएका थिए । उनीहरूले पार्टीको प्रदेश इन्चार्ज भीम रावल रहेको दाबी गरे । भीम रावल जिन्दाबाद भन्दै नाराबाजी गरिरहेको अवस्थामा केपी ओली जिन्दाबाद भन्दै ओली समूहका युवाहरूले नाराबाजी गरेका थिए । विवाद बढेपछि झडपको स्थिति भएको थियो । झडप पछि एमालेका प्रदेश अध्यक्ष कर्ण थापाको नेतृत्वमा त्यस अघि लगाइएको एमालेको ब्यानर लगाएर नयाँ ब्यानर लगाइएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )