काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूह पछिल्लो समय अलमलमा परेको छ ।प्रतिनिधिसभा पुनःस्थापना भएको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्रीविरुद्ध कसरी अघि बढ्ने भन्नेमै दाहाल–नेपाल समूह स्पष्ट हुन सकेको छैन । अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री हटाउन दाहाल–नेपाल समूहलाई अन्य दलको निर्णय कुर्न बाध्यता छ ।
नेकपाको दाहाल–नेपाल समूहको लागि सजिलो र प्रक्रियासँग उपाय हो संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने । तर, गुटगत बैठक बसेर ओलीलाई दलको नेताबाट हटाए पनि दाहाल–नेपाल समूहले आफ्नै दलको विधान र प्रक्रियासङ्गत ढङ्गले अविश्वासको प्रस्ताव दर्ता गर्नसमेत सकेका छैन ।
दाहाल–नेपाल समूहका नेता देव गुरुङले प्रधानमन्त्री ओलीले राजीनामा दिएर सहज वातावरण बनाउनुपर्नेमा जाेड दिनुहुन्छ । आफूहरुको पहिलो भनाइ र आग्रह भनेको प्रधानमन्त्रीको राजीनामाको सन्दर्भ रहेको उहाँको भनाइ छ । यदि राजीनामा नआएको खण्डमा मात्र आफूहरूले अविश्वासको प्रस्तावको विकल्पमा जाने उहाँले बताउनुभयो ।
यद्यपि प्रधानमन्त्री ओलीले यसअघि नै पदबाट राजीनामा नदिने स्पष्ट पार्दै अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती पनि दिइसक्नुभएको छ । गुटगत भेलामा उपस्थित सांसदको हस्ताक्षर देखाएर आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आए पनि दाहाल–नेपाल समूहले वैधानिक निकाय र प्रक्रियामा बहुमत देखाउन सकेको छैन ।
संसद अधिवेशन सुरु हुने मिति नजिकिँदा पनि दाहाल–नेपाल समूहमा प्रधानमन्त्रीविरुद्ध कसरी अघि बढ्ने भन्ने ठोष रणनीति नै बनेको छैन । प्रधानमन्त्री ओलीविरुद्ध सिधै संसदमा अविश्वासको प्रस्ताव लैजाने र प्रस्तावमा कांग्रेस र जनता समाजवादी पार्टीले समर्थन दिने आशासहितको विकल्प पनि उक्त समूहले तयार पारेको छ । यो विकल्पमा जान पनि कांग्रेस र जसपाको निर्णय कुनुपर्ने अवस्था छ । तर, कांग्रेस र जसपाले भने पर्ख र हेरको रणनीति लिएका छन् ।
दाहाल–नेपाल समूहको अलमल, प्रधानमन्त्री ओलीको तयारी र प्रतिपक्ष दलको रणनीतिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, आगामी सत्तासमीकरण तथा संसदभित्रको जोडघटाउको खेल अझै केही दिन लम्बिने देखिन्छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )