कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरूले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ ।
गत वर्षहरूको नतिजामा मध्यम समूहको जीपीए ल्याउने विद्यार्थी सबैभन्दा बढी हुन्थे । यो वर्षको सोमबार प्रकाशित नतिजामा मध्यमभन्दा माथिल्लोस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या अत्यधिक छ । गत वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य थियो भने यस वर्ष ४० जनाभन्दा बढीले ४ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ ।
विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा सञ्चालन गरेर त्यहीं उत्तरपुस्तिका परीक्षण गर्दा कक्षा १२ को नतिजामा सुधार देखिएको हो । २० प्रतिशत पूर्णाङ्कको आन्तरिक मूल्यांकनमा समेत शिक्षकहरूले आफूखुसी नम्बर दिएकाले गत वर्षको भन्दा नतिजा राम्रो आएको हुन सक्ने बोर्डका अधिकारीहरू बताउँछन् ।
आन्तरिक मूल्यांकन, होम सेन्टरमा परीक्षा र विद्यालयमै उत्तरपुस्तिका परीक्षणका कारण पनि नतिजा गत वर्षको तुलनामा राम्रो देखिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । ‘गत वर्षभन्दा यसपालि विद्यार्थीले धेरै पढ्न पाएर पनि नतिजामा सुधार आएको हुन सक्छ,’ उनले भने । गत वर्षहरूमा वैशाख/जेठमा हुने परीक्षा यसपटक कोरोनाका कारण मंसिरमा मात्र सञ्चालन गरिएको थियो ।
अघिल्लो वर्ष (२०७६) भन्दा नियमिततर्फ करिब १८ हजार बढी विद्यार्थी परीक्षामा सहभागी थिए । दुई वर्षको नतिजा तुलना गर्दा माथिल्लो स्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या बढी छ । ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या यसपटक ६ हजार ९ सय १६ छ । गत वर्ष ३ हजार ६७ जनाले मात्र उक्त समूहको जीपीए प्राप्त गरेका थिए । जीपीएका ९ समूहमध्ये मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थी यसपटक ५२ हजार मात्रै छन् । गत वर्ष ८६ हजारले उक्त जीपीए प्राप्त गरेका थिए । मध्यमभन्दा उपल्लो जीपीए (२.४ देखि २.८) ल्याउने विद्यार्थीको संख्या यसपटक सबैभन्दा बढी १ लाख ९ हजार ३ सय १२ छ । गत वर्ष ५६ हजार ५ सय ३ जनाले मात्र उक्त जीपीए ल्याएका थिए । ‘विद्यालयहरूले २/४ नम्बर बढी दिएको हुनुपर्छ,’ बोर्डका एक सदस्यले भने, ‘सबै विषयमा २/४ नम्बर बढाएर दिँदा समग्र नतिजा राम्रो देखिएको हो ।’
एजुकेशन पाटीबाट साभार
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )