पर्बतको देउपुरका कृषकले दुइ करोडको सुन्तला बेचेका छन् । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले यस वर्ष रु डेढ करोड भित्र्याएका हुन् । देउपुरमा सुन्तला किन्नका लागि काठमाडौँ , पोखरा, नारायणगढबाट व्यापारी घरघरमै आएका थिए ।
कृषकले दुई वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढङ्गले बगैँचा जिम्मा लगाएका थिए । देउपुरका कृषक ख्यामराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताएका छन् । उहाँले गत वर्ष रु चार लाखमा सुन्तलाको बगैँचा बिक्री गरेको बताउँदै यस वर्ष झण्डै आधा जति घटेको बताएका छन् ।
गत वर्ष हिउँदमा पटक–पटक आएको असिना, विभिन्न रोग र किराको प्रकोप र यस वर्ष वर्षायाममा पानीसमेत धेरै परेकाले उत्पादन घटेको हुनसक्ने स्थानीयवासीको अनुमान छ । विगत डेढ दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन् । परम्परागतरूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका १६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् ।
साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिकरूपमा शुरु गरेको माछापुच्छ्रे सुन्तला समूहका अध्यक्ष दाताराम चापागाईँले बताए । शुरुमा केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै रोपिएको कृषकको भनाइ छ । अहिले देउपुरका अधिकांश घरमा सुन्तला रोपिएको छ ।
गण्डक न्युजको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )