बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल ५६७ मिटर लामो रहेको छ ।
निर्माण सम्पन्न भई पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरे पस्चात् विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो ।
पुललाई निर्माणपश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोना भइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो । शुरुमा नेपालकै लामो झोलुङ्गे पुल (सिङ्गल स्पान) भनेर निर्माण गरे पनि पछिल्लो समय यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाको दावी छ ।
सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँका सिनियर इन्जिनीयर हुमाकान्त मिश्रका अनुसार विश्वभरको तथ्याङ्क वेबसाइटमा हेर्दा हालसम्म स्विट्जरल्याण्डमा खुला प्रकृतिको झुलुङ्गे पुल जम्मा ४९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण बागलुङ र पर्वत जोड्ने उक्त पुल विश्वकै लामो झोलुङ्गे पुल हुनसक्ने अनुमान छ ।
पुल बागलुङ नगरपालिकालाई हस्तान्तरण भएर आइसकेपछि यसलाई विश्व रेडर्क कायम राख्ने प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख जनकाराज पौडेलले जानकारी दिए ।
निर्माण शुरु भएको दुई वर्षमै निर्माण सम्पन्न पुल भएको झण्डै रु १२ करोड लागतमा बनेको र १३८ मिटर अग्लो रहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )