समाचार समाज

यसरी भएको रहेछ रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना

फागुन १३, काठमाडौँ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी एक वर्षअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको अन्तिम छानबिन प्रतिवेदनले देखाएको छ ।

घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा बनाएको आयोगद्वारा तयार पारिएको प्रतिवेदनले पनि २७ वर्षका पाइलट प्रभाकर केसीलाई मुख्य दोषी औंल्याएको हो ।

प्रतिवेदनले पाथीभराबाट फर्किंदा इन्जिन स्टार्ट गरेलगत्तै क्याप्टेनले क्विक टेकअफ (लगत्तै जहाज उडाउनु) लाई युफोरियाको प्रभावको कारण भनेको छ । उडानका क्रममा अक्सिजनको अभावका कारण हुने हाइपोक्सियाभन्दा अघिको चरणलाई युफोरिया भनिन्छ ।

हेलिकप्टरका पाइलट प्रभाकर केसी तालिमप्राप्त र सबै मापदण्ड पूरा गरेको प्रतिवदेनमा उल्लेख छ । तर पाइलटले सुरुमा एटीएस रिपोर्टिङ अफिसमा सुरुमा पाँचथर उडानका लागि अनुमति लिए पनि उडाउने बेलामा रेडियोमार्फत तेह्रथुम जान लागेको जानकारी दिएको प्रतिवेदनमा उल्लेख छ । पाइलटले निकै हतार गरेर तेह्रथुमका लागि उडान भरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार पाइलटले अगाडिको सिटमा दुई जना यात्रु राख्दा उनीहरुको तौलको मापन राम्रोसँग नगर्दा गुरुत्वाकर्षणको केन्द्रको मूल्यांकन सही ढंगले गर्न नसकेको पनि देखिएको छ । उच्च हिमाली भूभागमा उडानका बेला पहिले भएका दुर्घटनामा पनि गुरुत्वाकर्षणको सन्तुलन नमिल्दा त्यसले उडानलाई असुरक्षित बनाउने गरेको देखिएको थियो । प्रतिवेदनले दुर्घटनाको कारण प्रतिकूल मौसम पनि भएको उल्लेख गरेको छ ।

त्यस दिन पाथीभरामा हिउँ परिरहेको र हावाको वेग पनि उच्च रहेको तथा भिजिबिलिटी पनि कम रहेको थियो । मौसमको प्रतिकूलता र हेलिकप्टरले पूर्ण यात्रु क्षमतामा उडान भरेका कारण अगाडिको सिसामा वाफ जमेको हुन सक्ने र त्यसका कारण पनि पाइलटले बाहिरको दृश्य ठम्याउन नसकेको निष्कर्ष छानबिन आयोगले निकालेको छ ।

हेलिकप्टरमा काठमाडौं–तेह्रथुम–काठमाडौं उडानका लागि मात्रै इन्धनको व्यवस्था गरेको देखिएकाले पाथिभरा उडानको पूर्वयोजना नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।

पाइलटमा कुनै पूर्ववत् स्वास्थ्य समस्या नरहेको भए पनि दुर्घटना हुनुपूर्व उनको शरीरमा अक्सिजनको कमी भएको हुन सक्ने आँकलन आयोगले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *