रोचक

सबैभन्दा बढी खोजिएकी ‘गुमनाम’ गायिका विष्णु माझी

काठमाडौं । याम थापाले गत साता सुन्दरमणि अधिकारीलाई फोन गरे ।

उनले खोजेका थिए गायिका विष्णु माझीलाई । तर माझी अरूसँग कुरा नगर्ने भएकाले उनले सुन्दरमणि (विष्णुका श्रीमान्) लाई फोन गरेका थिए ।

उनले आफूसँग एउटा गीत रहेको र त्यसमा महिला स्वर विष्णुको राख्न चाहेको बताए । सुन्दरमणिले ‘हुन्छ’ भने । सँगै सुन्दरमणिले भने– पारिश्रमिकचाहिँ बढेको छ है ।

यामले सोधे, होर, कति ?

सुन्दरमणि : दुई लाख ।

डेढ लाखबाट एक्कासि दुईलाख पारिश्रमिक । दुई लाख पुर्‍याएको सुनेपछि यामले सुन्दरमणिलाई भने, “त्यसो भए यो पटकलाई काम गर्न सकिएन, सकियो भने पछि काम गरौंला ।”

यामले त्यसपछि विष्णु माझीको विकल्पमा देवी घर्तीलाई गाउन लगाए । पुरुष आवाज घनश्याम बोगटीको राखे ।

पाँच महिनाअगाडि यामले ‘वनमारा…’ बोलको गीतमा विष्णुलाई एक लाख रुपैयाँ पारिश्रमिक दिएका थिए । पाँच महिनापछाडि एक लाख रुपैयाँ बढाएपछि उनी हच्किएका थिए ।

विष्णु जति गीत गाउँछिन्, गाउने कि नगाउने, गाउँदा कहिले गाउने, कति पारिश्रमिक लिने त्यसको निर्णय सुन्दरमणिले गर्छन् । विष्णु कसैसँग पनि बोल्दिनन् ।

“उहाँ कसैसँग पनि बोल्नुहुन्न । हामी गीतको डिल सुन्दरमणिसँगै गर्छौं,” याम भन्छन्, “उहाँ आउनुहुन्छ, स्टुडियोमा पर्दा लगाउनु हुन्छ । गाउनुहुन्छ, जानुहुन्छ । उहाँ बोल्ने भनेको डोयट् गाउने गायकसँग गीत कसरी गाउने भनेर एक दुई शब्द बोल्नुभयो भने मात्रै हो ।”

गायक हेमन्त शर्मा ‘वनमारा’ गीत गाउन दरबारमार्गस्थित मारुनी स्टुडियो पुग्दा विष्णु माझीले स्टुडियो पसेर हेडफोन लगाइसकेकी थिइन् । गायक हेमन्त स्टुडियो पसे । विष्णु मुसुक्क मुस्कुराइन् । तर, बोलिनन् ।

स्टुडियोमा बसेर विष्णुले ‘वनमारा’को डेमो ट्र्याक एक घण्टा निरन्तर सुनिन् । अर्को एक घण्टा गाउन अभ्यास गरिन् र अर्को एक घण्टामा गाइन् ।

सुन्दरमणि स्टुडियोमै बसिरहेका थिए । यामले विष्णु माझीको पारिश्रमिकबापतको एक लाख रुपैयाँ (नगद) सुन्दरमणिलाई दिए । सुन्दरमणि र विष्णु स्टुडियोबाट बाहिरिए ।

“मैले मेरो पार्ट पहिला नै गाइसकेको थिएँ । त्यसैले ठाउँठाउँमा यसरी गाउँदा कसो होला बैनी भनेर भन्थें, उनी सुन्थिन् र मैले भनेजस्तै गाइदिन्थिन् । तर दोहोरो बातचित भएन,” हेमन्त भन्छन्, “तर उनले जसरी एकचित्त भएर एक घण्टा सुनिन्, अर्को एक घण्टा अभ्यास गरिन् र गाइन् । कामप्रतिको त्यो लगाव भने मलाई मनपर्‍यो ।”

यामले विष्णु माझीलाई आफ्नो अपोजिटमा गीत गाउन लगाउँदै छन् भन्ने थाहा पाएपछि हेमन्तले पारिश्रमिक लिएनन् ।

“विष्णुलाई गाउन लगाउने भएपछि यसै पनि लगानी बढ्ने भयो भनेर मैले यामजीसँग पारिश्रमिक लिइनँ । गीत हिट भयो भने स्टेजबाटै आउला नि भनेर मलाई पारिश्रमिक पर्दैन भनेको थिएँ,” उनी भन्छन्, “नभन्दै गीत चल्यो पनि । मैले यो गीत स्टेजमा थुप्रैपटक गाएँ । गाइरहेको पनि छु ।”

‘सुपारी चाम्रो’, ‘के भनौं र खोइ’, ‘सिमसिम पानी’ लगाायत विष्णु माझीका सयौं गीत बीबी अनुरागीले एरेन्ज गरेका छन् ।

करिब दुई दशक हुन लाग्यो विष्णुसँग बीबीले काम गरेको । आजसम्म राम्रोसँग बोलचाल भएकै छैन । यद्यपि पछिल्ला वर्षमा भन्दा उनीसँग काम गर्न सुरुसुरुमा केही सहज रहेको उनी सुनाउँछन् ।

“सुरुमा पनि त्यति धेरै सहज त होइन तर अहिलेको जस्तो टाइट थिएन । सुरुमा लाइभ दोहोरी नै गाउने गायिका हो । उहाँले २ हजार पारिश्रमिक लिएर काम गरेको मलाई सम्झना छ । तर अहिले दुई लाख पुग्यो रे,” बीबी भन्छन्, “अहिले उहाँ आउँदा स्टुडियो र कन्ट्रोल रुमबीचमा रहेको पर्दा लगाएर, पर्दा नभए पत्रिका टाँगेर गीत गाउनुहुन्छ,” बीबी भन्छन् ।

विष्णुको तस्बिर अहिलेसम्म एउटा मात्रै सार्वजनिक छ ।

उनको एल्बम तथा युट्युबमा एउटा मात्रै तस्बिर देखिन्छ ।

कारण– सुन्दरमणिले खिच्न दिँदैनन् ।

“स्टुडियोमा आउनुभएका गायक–गायिका तथा संगीतकारहरूले सेल्फी खिचौंभन्दा पनि सुन्दरमणिजीले होइन नखिचौं भन्नुहुन्छ,” बीबी भन्छन् ।

उनलाई मन परेन भने शब्द छाड्ने गरेको बीबीको अनुभव छ ।

शब्द चित्त बुझेन भने शब्द मिलाउनुपर्‍यो भन्ने आग्रह पनि प्रोडुसरसँग सुन्दरमणि नै प्रस्ताव गर्छन् । विष्णुले प्रायः धेरै गीत गाउने स्टुडियोमा मालश्री र मारुनी हुन् ।

‘सुपारी चाम्रो’, ‘लालुपाते नुग्यो भुइँतिर’ विष्णु माझीका लोकप्रिय गीत हुन् । यी दुवैमा शब्द तथा संगीत एकनारायण भण्डारीको छ ।

एकनारायणको शब्द तथा लयमा विष्णुले सयौं गीत गाइसकेकी छिन् । स्टुडियोमा कैयौंपटक भेट भइसक्यो ।

तर आजसम्म भेट हुँदा सञ्चै हुनुहुन्छ भन्ने र गीत रेकर्ड गरिसकेपछि गीत कस्तो भयो ? भन्ने औपचारिकताका शब्दबाहेक केही कुरा भएको एकनारायणलाई याद छैन ।

अरू एकनारायणसँग काम गरिसकेपछि फोटो खिच्छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्छन् । तर आजसम्म न विष्णुले एकनारायणसँग फोेटो खिच्छु भनिन्, न त उनले नै ।

“त्यसै पनि म फोटोको सौखिन छैन, अरूले खिचौं भने मात्रै खिच्ने हो,” एकनारायण भन्छन्, “विष्णुजीसँग त झन् खिच्ने कुरै भएन । उहाँ आउँदा स्टुडियोमा क्यामेरा अन नगर्ने त नियमजस्तै बनिसकको छ ।”

विष्णुका हजारौं गीत छन् । त्यसमा सयौं गीत एकनारायणका छन् । तर विष्णुले आजसम्म उनलाई मलाई यस्तो गीत चाहियो भनेकी छैनन् । एकनारायणलाई विष्णुले गाइदेओस् भन्ने मन लाग्यो भने स्टुडियोसँग भन्छन् ।

स्टुडियोले नै समय लिइदिन्छ । पारिश्रमिक पनि स्टुडियोमार्फत नै दिन्छन् ।

विष्णु माझी गीतकार, संगीतकार तथा समकालीनहरूसँगै पनि बोल्दिनन् । मोबाइल बोक्दिनन् । सञ्चारमाध्यममा आउँदिनन् । स्टेज कार्यक्रम गर्दिनन् ।

सार्वजनिक कार्यक्रममा सहभागी हुन्नन् । उनीबारे बुझ्न उनका श्रीमान् सुन्दरमणिसँग सम्पर्क गर्नुपर्छ । विडम्बना !

विष्णुबारे बोल्न उनी पनि मान्दैनन् । बाह्रखरीले विष्णुबारे बुझ्न सुन्दरमणिलाई सम्पर्क गर्दा कल त रिसिभ गरे तर बाह्रखरी मिडियाबाट भनेको सुन्नेबित्तिकै फोन काटे । पुनः सम्पर्कको पटक–पटक प्रयास गर्दा पनि उनले फोन रिसिभ गरेनन् ।

स्याङ्जा चापाकोट खरियाघाटकी विष्णु माझी सुन्दरमणिसँग काठमाडौंमा बस्दै आएकी छिन् । उनलाई बुटवल महोत्सवबाट सुन्दरमणिले काठमाडौं ल्याएर गायिका बनाएका थिए । विष्णुका पति सुन्दरमणि आफैं गायक पनि हुन् ।

उनले विष्णुलाई नजरबन्दमा राखेको गाइँगुईं हल्ला चलेपछि प्रहरीले सोधपुछका लागि केही समयअगाडि बोलाएको थियो ।

तर कालो वस्त्र र मास्क लगाएर प्रहरी कार्यालय पुगेकी विष्णुले आफू स्वयं बाहिर निस्किन नचाहेको बताएकी थिइन् ।

बाह्रखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *