समाज

रियालिटी शोमा जम्दै रोल्पाली युवा : लोकस्टारपछि कमेडी च्याम्पियनमा

रोल्पा । फागुन १ विभिन्न संयोगमध्ये नेकपा (माओवादी)ले नेतृत्व गरेको १० वर्षे जनयुद्ध एक हो । फागुन १ सँग जनयुद्ध जोडिएजस्तै जनयुद्धसँग रोल्पा जोडिन्छ । फागुन १, जनयुद्ध र रोल्पा छुट्टिन नसक्ने बनेका छन् ।

२५ वर्ष पहिले रोल्पा–रुकुमलाई आधार बनाएर माओवादीले जनयुद्ध सुरु गरेपछि ‘जनयुद्धको केन्द्र’को रुपमा स्थापित रोल्पाको पहिचान आज पनि कायमै छ ।

जनयुद्धको केन्द्रको पहिचान बनाएको रोल्पाका केहीं युवा छन्, जसले रोल्पालाई कला संगीतको क्षेत्रबाट पनि स्थापित गरिरहेका छन् । केही महिनाअघि सम्पन्न आइएमई नेपाल लोकस्टारको उपाधि जितेर शनी विश्वकर्माले लोक गीत संगीतबाट रोल्पालाई चिनाए । राष्ट्रियस्तरको कुनै पनि रियालिटी शोको उपाधि जित्ने शनी रोल्पाकै पहिलो हुन् ।

उनीपछि रोल्पाका खड्गबहादुर पुन ‘खबपु चञ्चल’ कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको हाँस्यव्यङ्ग्य रियालिटी शो कमेडी च्याम्पियनमा धमकेदार प्रस्तुती दिइरहेका छन् । र, उनी अहिले उत्कृष्ट ४ का लागि सुरु भएको भोटिङ राउण्डमा ‘परफरमर अफ द राउण्ड’ छानिएर उत्कृष्ट ४ मा प्रवेश गरिसकेका छन् ।

उनी अग्र्यानिक कमेडियनको रुपमा स्थापित छन् ।

कमेडी च्यात्पियनको उत्कृष्ट ४ प्रतिस्पर्धी पुन जनयुद्धमा सबैभन्दा मानवीय क्षति व्यहोरेको जेलबाङका हुन् । राज्य र विद्रोही पक्षबाट गरी उनको गाउँ जेलबाङका ७३ जना मानिस विभिन्न ठाउँमा मारिएका थिए ।

शारीरिक रुपमा उनको उचाइ कम छ । मान्छे चञ्चल देखिन्छन् । उनको निर्णायकहरु भन्छन्, ‘तिमी आएर उभिदिए पुग्छ मान्छे हास्नका लागि, तिमी जन्मिएकै हँसाउन लागि हो ।’

कमेडी च्याम्पियन सिजन–१ बाट उनी एक समय बाहिरिसकेका थिए । निर्णायकको छनौट र दर्शकको भोटका कारण उनी कमेडी च्याम्पियनमा ‘रि इन्ट्री’ मात्रै गरेनन्, शीर्ष ४ मा पुगेर उपाधिको दाबेदार बनेका छन् ।

पुन उत्कृष्ट २४ बाट बाहिरिएका थिए । उत्कृष्ट ७ का लागि बाहिरिसकेका १० जनालाई वाइल्ड कार्ड इन्ट्रीका लागि प्रस्तुतीको अवसर मिल्यो । ती १० मध्ये सुमन कोइराला निर्णायकको छनौटमा परेर र खड्गबहादुर पुन दर्शकको भोटबाट उत्कृष्ट ७ मा प्रवेश गरे ।

पुनले प्रायः रोल्पा र माओवादी जनयुद्धलाई विषय बनाएर आफ्नो प्रस्तुती दिइरहेका छन् । उत्कृष्ट ४ का लागि उनले जनयुद्धकै विषयलाई लिएर प्रस्तुती दिएका थिए । सो प्रस्तुतीबाट उनी परफरमर अफ द राउण्ड बनेका हुन् ।

दोहोरी साँझदेखि स्कूलसम्म

२९ वर्षीय पुन तीन वर्षअघि काठमाडौं छिरेका हुन् । त्यसअघि उनी रोल्पाका साहित्यिक र सांगीतिक क्षेत्रमा सक्रिय थिए । उनी दुईपटक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान रोल्पा शाखाको अध्यक्ष बने । आफैले स्थापना गरेको सुनछहरी कला केन्द्रको महासचिव छन् । उनी राप्ती साहित्य परिषद् र ललित साहित्य परिषद्को आजीवन सदस्य पनि छन् । उनी अथार मगराँत कलाकार संघको समेत महासचिव छन् ।

काठमाडौं छिरेपछि उनले राष्ट्रिय नाचघरमा ६ महिना अभिनय र ६ महिना नृत्य सिके । त्यसपछि उनले विहान स्कूलमा नृत्य सिकाउन थाले र राती दोहोरी साँझमा काम गर्न थाले । ‘स्कूलमा म कल्चरल म्यूजिक सिकाउँछु, मैले ६÷७ वटा प्राइभेट स्कूलमा सिकाएँ’ उनले भने, ‘साँझमा दोहोरी साँझमा काम गर्छु ।’ उनले पछिल्लो समय स्कूलमा म्यूजिक सिकाउन छाडेको बताए ।

नागरिक खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *