Uncategorized

देवी ! के हजुर महिनावारी हुनु भएको छ?

रेशा भट्टराई

‘मिन्स हुनु भा’ छ?’

‘हजुर बुझिनँ।’

‘महिनावारी के……. नछुने भएको छ कि छैन भनेको।’

दसैंको बेलामा भद्रकाली मन्दिरमा मैले फूल किन्दै गर्दा एक जना अर्को ग्राहकले फूल बेच्ने दिदिलाई सोधेको यो प्रश्न जब मेरो कानमा पर्यो मेरो कान यसरी तात्यो कि मेरो शरीरमा जिरिंग काँडा उठ्यो। म एक्कासि कराएँ।

‘जानुस्, देवीलाई सोध्नुस्।’

‘देवी के हजुर महिनावारी हुनुभएको छ?’

‘दसैंको ९ दिनभित्र नौ जना देवीहरूको पूजा गर्नुहुन्छ होइन तपाईं? कोही न कोही त महिनावारी भएकै होलान्। कुश्माण्डा, उनी नभए कात्यायनी,कात्यायनी नभए शैलपुत्री, शैलपुत्री नभए ब्रम्हचारिणी र उनी पनि नभए अरु कोही। यदि कोही पनि महिनावारी भएका रहेनछन् भने पनि दसैंको नौ दिनभित्र त कोही न कोही अवश्य हुन्छन्। पोहोर दसैंमा महिनावारी नभएकी यसपालि र यसपालि दसैंमा महिनावारी नभएकी अर्को दसैंमा हुन सक्छिन्। किनकी चाडवाड तिथि अनुसार मनाइन्छ तर महिनावारी दिन अनुसार। तपाईंको व्यक्तिगत विचार आफ्नो ठाउँमा होला तर सार्वजनिक स्थलमा आएर कसैको पेशा व्यवसायमा आँच एवं आत्मसम्मानमा ठेस पुर्याउने व्यवहार गर्ने अधिकार कसैलाई छैन।बुझ्नुभो?’

वाल्ल परेर मेरो कुरा सुन्दै गरेको मानिस चुपचाप मन्दिरतर्फ लाग्यो।

सोचें… राजधानीवासीको त यो अवस्था छ भने दूरदराजमा कस्तो होला?

गम्ल्यांग अङ्गालो सहितको भक्कानिएको आवाजले तर्सिएँ।

फूल बेच्ने दिदी हुनुहुँदो रहेछ।

‘कति ठीक जवाफ दिनुभयो। अब म पनि यस्तै जवाफ दिन्छु।यस्तो त कति सोध्छन् कति। तेरो जात के हो? नछुने भएको छ कि छैन? हामीले गरिखान पनि नपाउनु। कति रिस उठ्छ। कस्तो पीडा हुन्छ। गाउँघरमा छँदा भान्छा छिर्न नदिएर कोदाली खन्न लगाउँदाको पीडाजस्तो, गोरस खान नदिएर मल बोक्न पठाउँदाको जस्तो। तर म नपढेको मान्छे जवाफ दिन जानिनँ,’ दिदीले भन्नुभयो।

‘नरुनुस् दिदी, नपढेको मान्छे त त्यो हो जसले तपाईंलाई यस्तो व्यवहार गर्छ। दुई/चार वटा प्रमाणपत्र सिरान लगाएर आफूलाई पढेको भनेर फूर्ति लगाउने मानिसभन्दा हजुरहरूजस्ता गरिखानेहरू कैयौं गुणा महान् हुनुहुन्छ। पीर नगर्नुस्, दिदी यदि हजुर महिनावारी नै हुनुभएको छ भने पनि आफ्नो व्यवसाय गर्न कुनै पाप लाग्दैन’, मैले सम्झाउँदै भनें।

महिनावारी महिलाको प्रजनन् स्वास्थ्यको नियमित एवं स्वभाविक प्रक्रिया हो भनेर जान्दा जान्दै पनि यति धेरै अस्वभाविक प्रतिक्रिया किन?

जब हाम्रो समाजमा बिहे व्रतबन्ध एवं चाडवाड नजिकिँदै जान्छन्,हामी महिलाहरूमा छलफल चल्न थाल्छ-ला मेरो त ठ्याक्कै त्यही मितिमा महिनावारी हुने दिन छ के गर्ने होला? महिनावारी अगाडि सार्ने औषधि खाने कि पछाडि सार्ने? कुन औषधि राम्रो हुन्छ आदि।

मानौं, कुनै अपराध नै गरेको जस्तो। मैले आजसम्म महिनावारी अघि वा पछि सार्ने औषधि खाएकी छैन। स्वभाविक प्रक्रियालाई छिटो वा ढिलो गराउन आवश्यक ठानिनँ। दिदी बहिनीहरू किन यति भयभीत? किन यति डर मान्न् पर्ने? बरु ठीक समयमा महिनावारी नभए पो डर मान्नुपर्यो।

कतै स्त्री रोगसम्बन्धी समस्या भयो कि? कतै मेरो प्रजनन् स्वास्थ्यमा असर भयो कि?

भर्खरैमात्र पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सुर्खेत गएर छाउगोठ भत्काएर आउनुभयो भन्ने समाचार पढ्दा अनायासै मेरो हात टाउकोमा गयो।

हरे हामी अझै छाउगोठमा बस्छौं?

सुर्खेत हाल कर्णाली प्रदेशको राजधानी मात्र नभएर तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम पनि हो। सुर्खेतको त यस्तो अवस्था छ अन्यत्र कस्तो होला?

दशकौं भयो छाउगोठ भत्काउन लागेको। करोडौं डलर खर्च गरिए होलान् विभिन्न परियोजनाहरूमार्फत् यी प्रथा हटाउने नाममा तर खै त उपलब्धी?

यस्ता छाउगोठ भत्किन्छन् तर भत्काउने मानिस ओझेल नपर्दै फेरि बन्छन्। यो क्रम निरन्तर चलिरहने छ जबसम्म हामीले हाम्रो मनबाट छाउपडी भत्काउन सक्दैनौं,तबसम्म मनबाट छाउपडी भत्किँदैन जबसम्म महिनावारी हुनुलाई सामान्य प्राकृतिक प्रक्रिया एवं खुसीको रूपमा लिँदैनौं।

थम्लेपार्क (स्वीट्जरल्याण्ड)मा मर्निङ वाक गरिरहेको बेलामा एक जना विदेशी साथीले हामी सबैलाई चकलेट बाँडिन् र भनिन् छोरीको…

‘छोरीको के? जन्म दिन?’, मैले सोधें।

‘जन्मदिन होइन पहिलो महिनावारी हो।’

आहा! कति राम्रो संस्कृति। हाम्रोतिर भएको भए कसैलाई नभन्नू है भन्दै लुकाउन नै हतार हुन्थ्यो होला।

जन्मदिन मनाउने नाममा बलेका मैनबत्तीलाई निभाउने संस्कृति सिक्नुभन्दा यस्तो संस्कृति सिकेको भए मनबाट छाउपडी भत्काउन एक मुक्का थप हुन्थ्यो होला।

हाम्रा गाउँघरसम्म चेतनाका मैनबत्तीहरू झलमलाउँथे होला। हजुरआमा दंग पर्नुहुन्थ्यो होला, यो त खुसीको विषय पो रहेछ भनेर।

हो, हाम्रो हजुरआमा जिजुहजुरआमाका पालामा पानी पँधेरा टाढा हुन्थ्यो, साबुन तथा सर्फको सहज उपलब्धता थिएन, एक जोर धोती चोलो फेर्न वर्षदिन कुर्नुपर्ने समयमा ‘युज एण्ड थ्रो’ का प्याड त कल्पनामा पनि थिएन। त्यसैले अलग्गै बस्ने र भान्सामा नपस्ने नियम बनाए होलान्। कति वैज्ञानिक नियम।

अहिले हाम्रो पालामा सबै कुराको उपलब्धता हुँदा पनि बिरालो बाँध्नेतर्फ लाग्ने!

आजकालका उपबुज्रुकहरूले भनेको कुरा सुन्दा अचम्म लाग्छ। नछुने भएका बेला महिला फोहोरी हुन्छन् त्यसकारण उनीहरूलाई भान्सा छिर्न नदिएको रे। त्यसो भए रुघा लागेका मानिसलाई संघार टेक्न नदिए भयो त! पखाला लागेकालाई त झनै शौचालय बाहिरबाटै चुक्कुल लगाइदिने त?

चुरो कुरो त सरसफाइको हो। महिनावारीमा सरसफाइ नगर्दा बरु पाप लाग्ला तर महिनावारी हुने कुरालाई पापसँग जोड्न मिल्दैन।

अरु सबै कुरामा हामी आफूलाई एक्काइसौं शताब्दीका भन्छौं तर महिनावारीको विषयमा किन अठारौं?

महिनावारी नबार्ने नाममा आफू महिनावारी भएको कुरा घरमा नभन्नु पनि राम्रो होइन। आफू महिनावारी भएको कुरा घरमा भन्दा महिलाको महिनावारीको नियमितता एवं प्रजनन् स्वास्थ्यका बारेमा घरका अन्य सदस्यहरूलाई पनि थाहा हुन्छ र आवश्यक सहयोगको वातावरण बन्छ।

जबसम्म हामी महिला स्वयंले महिनावारी हुने विषयलाई खुसीको रूपमा लिन सक्दैनौं तबसम्म छाउपडी भत्कँदैन।

हामीले विभेद महशुस गरिराख्छौं त्यसैले महिनावारी हुनुलाई खुसीको रूपमा लिउँ र नारी भएर जन्मनुमा गर्व गरौं।

महिनावारी पाप होइन सृष्टि तथा सृजनाको निम्ति अमूल्य प्राकृतिक उपहार हो।

आफैंले आफैंलाई मनाऔं, छाउपडी भत्काउन कोही आउनै पर्दैन।

सेतोपाटी बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *