समाचार

‘एकादेशमा’ एउटा नेपाली ब्रान्ड छ

समिक्षा अधिकारी/मंसिर ३०, काठमाडौं ।

एकादेशमा…
कथावाचनको पुरानो शैली हो यो। आमाबुबा वा दिदीदाइले सुनाउने एकादेशका कथा सुन्दै हामी धेरैको बाल्यकाल बित्यो होला!

धरानकी रैथाने राजभण्डारी दिदीबहिनी अनुजा र अल्पजा त्यस्तै कथा सुन्दै हुर्किए। त्यो बेला एकादेश शब्द कथाको नियम मात्र लाग्थ्यो उनीहरूलाई। जब व्यवसायतर्फ ढल्किए, तब त्यही शब्द दिमागमा आयो, व्यवसायको नाम बन्यो।

अनि सुरू भयो ‘एकादेशमा’ यात्रा, नेपाली कपडा ब्रान्डको कथा। ठमेलमा रहेको ‘एकादेशमा’ले नेपाली तयारी पोसाकको प्रवर्द्धनमात्र होइन, कला, संस्कृति र परम्पराको पनि ‘कथावाचन’ गरिरहेको छ।

फरक यत्ति हो, हिजो आमाबुबाले आफ्ना छोराछोरीलाई एकादेशमा…भन्दै कथा सुरू गर्थे। अहिले कथाहरू एकादेशको ब्रान्ड बनेका छन्। कुर्था, कमिज सर्ट, टि–सर्ट, सिरानी, कुशन जस्ता सामानमा अंकित तस्बिर कथावाचनका स्वरूप भएका छन्।

‘हामीले पुराना कुरा वा कथा भन्दा एकादेशबाट सुरू गर्छौं,’ ३३ वर्षीया अनुजाले भनिन्, ‘हाम्रो व्यापारिक कथा पनि एकादेशबाटै थालनी होस् भनेर नाम राख्यौं।’

पढाइको एउटा चरण सकेपछि राजभण्डारी दिदीबहिनीले बाबुबाजेले गर्दै आएको मसला पिसानी व्यवसायमा केही समय काम गरेका थिए। आफ्नो पुस्तैनी पेसाबाट केही अनुभव बटुले।

एक किसिमको मानसिक दबाब पनि थियो आफ्नै व्यापार–व्यवसाय गर्नुपर्ने। त्यसपछि झन् अरूको काम गर्ने सोच नै आएन रे। बरू केही नयाँ गर्ने सोच पलाएछ। अन्ततः त्यही सोचले उनीहरूलाई आठ वर्षअघि ‘एकादेशमा’ पुर्‍यायो।

त्यो एकादेशमा व्यापारलाई नेपाली कला संस्कृति, भाषा–भेष, रहनसहन जोडेर विश्वभर फैलाउने उनीहरूको उद्देश्य थियो। सोचअनुसार नै काम अगाडि बढ्यो।

अनुजाको व्यवसायिक शिक्षा र अल्पजाको फेसन डिजाइनिङ ज्ञानलाई योजनामा प्रयोग गरे।

‘काठमाडौंका थुप्रै गल्ली चहार्‍यौं। युवापुस्ता र पर्यटकले के–के रूचाएका छन्, अध्ययन गर्‍यौं। त्यति बेला अन्य नेपाली ब्रान्ड त थिए तर खोजेजस्तो गुणस्तर भेटिएन,’ व्यवसाय सुरू गर्दाको कथा सुनाउँदै अनुजाले भनिन्, ‘बजारको आवश्यकता हामीले नै पूर्ति गर्ने हो ठानेर सय थान नेपाली टिसर्ट राखेर ओपनिङ गर्‍यौं।’

एकादेशका डिजाइन। तस्बिर सौजन्यः एकादेशमा
एकादेशको उत्पादनमा पूरै नेपालीपन झल्किन्छ। विभिन्न समुदाय, भू–भागका महिला, उनीहरूले लगाएका गहना, कुमारी, देवी–देवता, बुद्ध, मण्डल जस्ता नेपालीपन झल्काउने प्रिन्ट गरिएका टिर्सटको सुरूआती व्यवसाय राम्रो भयो। ग्राहकले मन पराएनन् मात्र, सोचेअनुरूप सोधीखोजी गर्न थाले।

समग्रमा बजारले एकादेशमाको उत्पादन रूचाएको निष्कर्ष निस्कियो।

‘हाम्रो देशमा विश्वभरका पर्यटक आउँछन्। यसरी आफ्नै चिनारी प्रस्तुत गर्न सक्यौं भने हामीलाई नै सहयोग हुने हो,’ कुमारी अंकित कुशन देखाउँदै अनुजाले भनिन्, ‘ग्राहकले नै के, कस्तो, कहाँको हो, किन राखेको सोध्छन्। यसरी नेपाली पहिचान दिने चित्र अंकित गर्दा हामीले हाम्रो, नेपालको, ती चित्रको कथा पनि भन्न पाइरहेका छौं। नेपाललाई अझै व्याख्या गर्न पायौं।’

व्यवसाय सुरूआतदेखि आफ्नै परिचय बनाउन तल्लीन दिदीबहिनीलाई गरिरहेको काम आफैंलाई चिनाउने, आफ्नो परिचय दिने मौका हो जस्तो लाग्छ। त्यसैले त बजारको रूचि चाहना बुझेर नयाँ–नयाँ प्रयोग पनि थपिरहेका छन्। त्यसमा समाजका केही कथा पनि छन्।

‘एकजना रिक्सा चालक एकछिन उभिँदा अल्पजाले तयार गरेको स्केच हो यो,’ रिक्सा अंकित टिर्सट देखाउँदै अनुजाले भनिन्, ‘यो रिक्सा चालकको कथा हो। हामीलाई सामान्य लाग्छ तर कसैलाई यही स्केचले आकर्षित गरिरहेको हुन्छ।’

अल्पजाले बनाएको टिसर्ट प्रिन्टमा अचम्म केही छैन। आँखामा बारम्बार आइरहने दृश्य हो। तर आममानिसलाई सामान्य लाग्ने दृश्यलाई पनि एकादेशमाले विशेष रूपमा प्रस्तुत गरिरहेको छ।

अनुजा राजभण्डारी आफ्ना डिजाइन देखाउँदै। तस्बिरः समिक्षा अधिकारी/सेतोपाटी
व्यवसाय सुरू गरेको एक दशक पुग्दै छ। आजसम्म आइपुग्दा व्यवसायले पनि दस गुणा गति लिएको उनीहरूको भनाइ छ।

‘त्यति बेला दुःख गरेका थियौं, मिहिनेत गरेका थियौं र त अहिले कथा सुनाउन पाएका छौं,’ अनुजा भन्छिन्।

कटन, बाँस, गाँजा, सिस्नो, अल्लो जस्ता कपडा बन्नयोग्य सबै कच्चापदार्थ एकादेशले प्रयोग गरेको छ। जसबाट महिला, पुरुष, बालबालिकाका कपडा लगायत आकर्षक झोला बनेका छन्।

यो बीचमा उनीहरू आफैंलाई पनि राम्रो लागेको अर्को काम हो – प्लास्टिक निषेध।

एकादेशमाले प्लास्टिक प्रयोग गर्दैन। बरू पुराना पत्रिका र कागजका झोला आफैं उत्पादन गरेको छ।

‘हामीले व्यवसाय सुरू गर्दा नै प्लास्टिकलाई प्राथमिकता दिएनौं,’ कम्पनीले बनाएको झोला देखाउँदै अनुजा भन्छिन्, ‘पुराना र फालिएका पत्रिकाबाट यति राम्रो झोला बन्छ भने किन प्लास्टिक प्रयोग गर्ने!’

सामान प्याक गरेर दिँदा कतिले त पत्रिकाका झोला मन पराएर दुई-तीन वटा मागेर लैजाने गरेको समेत अनुजा सुनाउँछिन्।

यस्ता झोला बनाउने र कम्पनीका सिलाइ, बुनाइ, कटाइ जस्ता काममा महिला कामदारले प्राथमिकता पाएका छन्। यहाँ अर्को कथा जोडिन्छ। महिलाको काम राम्रो र भरपर्दो लाग्छ उनलाई। र महिलाको कथा-व्यथा महिलाले नै बुझ्न सक्ने उनको धारणा छ।

‘एक असहाय महिलाले काम पाउँदा, काम गरेर पारिश्रमिक पाउँदाको खुसी मैले महशुस गरेकी छु,’ उनी थप्छिन् ‘त्यसैले हामीले फ्याक्ट्रीमा एकल, असहाय, हिंसामा परेका महिलालाई प्राथमिकता दिएका छौं। जसले हामीलाई अझै सन्तुष्टि दिन्छ।’

कम्पनीले बेलाबेला तालिम, परामर्श पनि दिने रहेछ। तालिम लिएका महिलाले आफ्नै व्यापार पनि सुरू गरेको अनुजा बताउँछिन्। धेरैजसो महिला त एकादेशमा नै आबद्ध रहेछन्।

एकादेशमाको उत्पादनको मूल्य एक सय पचासदेखि सुरू हुन्छ। कपडामा प्रयोग कच्चा पदार्थ हेरेर ८ हजारसम्मका सामग्री पाइन्छन्। तर नेपाली सामान महँगो हुने आममानिसका गलत बुझाइले अनुजालाई दिक्क पार्छ।

व्यापारका लागि ‘फिक्स्ड प्राइस’ कहिलेकाँही चुनौती पनि बन्दिन्छ। झन्डै एक दशकको अनुभवमा उनले यस्ता थुप्रै ग्राहक भेटिसकिन्, जसको नेपाली उत्पादनप्रति धारणा फेरिएको छैन। ग्राहकको समय र सहजता ध्यानमा राखेर एकादेशले सामानको निश्चित मूल्य तोकेको उनी बताउँछिन्।

‘थोरै मात्र उत्पादन गर्छौं र मूल्य धेरै पर्छ। तर गुणस्तरमा सम्झौता गरेका छैनौं,’ उनी भन्छिन् ‘आफ्नो उत्पादन जति प्रयोग गर्‍यो त्यति मूल्य समायोजन हुँदै जान्छ। यी कुरा उपभोक्ताले पनि बुझ्न पर्छ।’

उनी थप्छिन्, ‘कसैले पर्यटक लक्षित भन्नुहुन्छ, त कसैले महँगो। यी दुवै गलत बुझाइ हुन्। यो बजार–व्यापारमा भिजेपछि मात्रै थाहा हुन्छ।’

दुइटा आउटलेटबाट सेवा दिइरहेको एकादेशमाले आगामी दिनमा आफ्नो उत्पादन विभिन्न मुलुकमा निर्यात गर्ने योजना बनाएको छ। नेपाली सामान राम्रो पाइएकाले पर्यटकले फर्किएपछि पनि माग गरेको अनुजा बताउँछिन्।

आफ्नो कथा सुनाउँदै एकादेशमाले देशभित्र विभिन्न प्रदर्शनी गरिसकेको छ। चीन पुगेर आफ्नो परिचय विस्तार गराइसकेको छ।

एकादेशमाले कपडा मात्र होइन, फरक कथा पनि सिर्जना गरिरहेको छ। अहिले त धेरैलाई थाहा पनि भइसकेको छ– एकादेशमा..टेल्ज अफ नेपाली क्राफ्ट। -सेतोपाटीबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *