समाचार

हाकिम साब ! हाँसेरै काम हुँदैन भन्नुस् तर ठुस्स नपर्नुस्

यमुना अर्याल (काफ्ले) । सिंहदरबारभित्रको एउटा मन्त्रालय, मन्त्रालय मातहतको एक कार्यालय काम विशेषले एक जना साथीसँग केही समयअघि त्यहीँ कार्यालयमा जानुपर्ने भयो। साथी सिंहदरबारमा अपरिचित थिई, म त्यहाँ गइरहने भएकोले उसले काम गराउने कार्यालयसँग परिचित नै थिएँ।

हाकिम साबले बिहान ११ बजे आउनु भनेका रहेछन्, हामी निर्धारित समयमै पुग्यौं। हाकिम साबको नाम, पद सहितको विवरणले उनी कायाकक्षमै भएको जनाऊ दिइरहेको थियो।

सरासर हाकिम साबको कोठामा छिर्‍यौं। हाकिम साब कम्प्युटरमा केही काम गर्दै थिए, सेवाग्राहीको नाताले हाकिम साबलाई अभिवादन गर्यौं। मेरी साथी र मेरा दुवै हातले नमस्कार गरिरहे पनि हाकिम साब मौन बसे, उनले नमस्कार फर्काएनन्।

उनले सुनेनन् भनौं भने पनि चार पाँच हातभन्दा टाढा छैनन्, सुने भनौं भने सेवाग्राहीले नमस्कार गर्दा फर्काउन समेत नभ्याउने कति ब्यस्त! कस्तो संस्कार छ है हाम्रो?

हामी अरुबाट सम्मान चाहन्छौं भने त आफू पनि संस्कारी बन्नुपर्छ भन्ने हेक्का राख्दैनौं! मनमनै धेरै कुरा खेले पनि मौन बस्यौं।

साथी र म खुट्टा फतक्क गलुन्जेल उभिइरहयौं, हाकिम साब आफ्नो काम गरेको गर्यै गरे, एकैछिनमा टिर्रटिर्र फोनको घण्टी बज्यो। फोन पनि निकै बेरसम्म कराइरह्यो उनले उठाएनन्।

हाकिम साबकै सामुन्ने पाँच सिटवाला सोफाले हामीतिर हेरिरहेको थियो, बस्न नभनेसम्म बस्ने कुरा पनि भएन, नमस्कार त फर्काउन नभ्याउने हाकिमले सोफामा बस्न त कहाँ भन्थे होला र! मूर्ति जसरी उभिरहर्‍यौं।

दस मिनेटसम्म उभिएपछि पनि हाकिमले केही मतलब नगरेपछि साथीले झर्को मान्दै कानेखुसी गरी, ह्या यो हाकिम त कस्तो पाराको हो? बोल्न पनि यति गाह्रो मान्नेले के काम गरिदेलान् र? उता मेरो अफिसका हाकिमले ढिलो भयो किन काम भएन भन्दै कराउने होलान। तँ त बोल्छेस् नि यसो भन्देन न, फेरि हाकिमलाई बोला न , बोली पनि कस्तो महँगो हो?

म साथीलाई थामथुम पार्दै विस्तारै साउती गरें।

उसले कर गरेपछि फेरि बोलें , सर …. फलानो अफिसको काम के भयो? आज ११ बजे बोलाउनु भाथ्यो त्यही भएर आएको। बल्ल हाकिम साबले कुर्सी घुमाए र अमूल्य वचन बोले – टाइम लाग्छ।

टाइम त लाग्छ तर कति लाग्छ? कतिबेला सकिन्छ? आज ११ बजे बोलाएर किन भएन? के कारणले विलम्ब भएको हो? त्यसको जवाफ सायद उनले दिन सक्दैनन्, उनको व्यवहारले पहिल्यै देखाइसकेको छ। फेरि एक पटक जे पर्लापर्ला भनेर तोलाको वचन खोलामै फाले, सर कति बेला हुन्छ त काम? हामीलाई फेरि अफिस पनि जानुछ …।

मेरो प्रश्नमा हाकिम साब मौन बसे, ‘भने नि टाइम लाग्छ भनेर’ बल्लतल्ल वचन आयो उही पाराको।

एक मनले त मुखैभरिको जवाफ दिएर जाऊँ जस्तो पनि लाग्यो, आफ्नो लिनु दिनु केही थिएन तर अर्को मनले सोचें, यही हाकिमसँग काम गराउनु छ, फेरि अनावश्यक लफडा गरिदिएँ भने के गर्ने? ढिलोमाथि झनै ढिलो गर्देलान् भन्ने पिर। टाढादेखि साथी आएकी छ …।

एकैछिनमा काम हुन्छ पिर नगर भन्दै साथीलाई ढाड्स दिएँ,दुवैजना उभिइरह्यौं मात्र।

आधा घण्टापछि एकजना स्टाफ लुरुलुरु हाकिम साबको कार्यकक्षमा छिरे। हाकिमले उनैतर्फ इंगित गर्दै भने ऊ त्यो भाइसँग जानुस् उसैले गर्दिन्छ काम।

ती भाइको कार्यकक्ष कहाँ हो ? उनको नाम के हो थाहा छैन। ती भाइ भनिएका स्टाफ लुसुक्क निस्किएर हिँडे। कता गए कता कहाँ खोज्न जाने? एकजना दिदी आइन्, उनैलाई सोधें, ‘ए दिदी भर्खर निस्किएको सरको कोठा कुन हो ’?

ऊ यही हो अगाडिको कोठा देखाइन्। ती स्टाफ आउलान् र काम गराउँला भनेको एक घण्टासम्म पनि आएनन्। तिनै दिदीसँग बरु निकैबेर कुराकानी भयो।

ज्यालादारीमा कार्यरत रहिछन् दिदी। हाकिमसाबको स्वभावबारे पनि कुराकानी भयो।

ती दिदी पनि हाकिमसाबको व्यवहारसँग चिरपरिचत रहिछन्। पहिलेदेखि नै। यी हाकिम यस्तै हुन्, एउटा कुरा सोध्न जाँदा पनि अहिलेको सत्तरी हजार तोलाको सुनभन्दा महँगो पर्छ , कुरै नगरौं।

तपाईं जस्ता काम लिएर दिनमा सयौं मान्छे आउँछन्, यी हाकिम यस्तै ठुस्किएर बस्छन्, हाँसेर काम गर्दिंदा के जाँदो हो खै?

डेढ घण्टापछि हाकिम साबले काम गराउनु भनेका स्टाफ बल्ल आइपुगे। उनलाई आफ्नो काम गराइदिन अनुरोध गरी साथीले , ‘हाकिम साबले भन्नु भाछ लौ न सर मेरो काम छिटो गरिदिन पर्‍यो, आजै ११ बजेको समय दिनु भाथ्यो’ ।

ती हाकिमले त भन्ने काम हो भनिहाल्छन नि काम गर्ने त हाम्ले हो। दिनमा हजार वटा काम लगाएका हुन्छन् कताकता भ्याउनु?

साथीको यो कुरामा ती स्टाफ तेलमा पानी पड्किएजसरी पड्किए मानौं त्यो साथीले उनको पुस्तौनी ऋण खाएर तिरेकी छैन।

म पनि एउटा कार्यालयको कर्मचारी हुँ, मेरी साथी पनि कर्मचारी नै हुन् , हामी दुवैजना सिंहदरबार बाहिरकै कार्यालयका कर्मचारी हौं। साथीको व्यक्तिगत काम थिएन, कार्यालयकै काम थियो। एउटा कर्मचारीलाई अर्को कर्मचारीले यस्तो वेवास्ता गर्छन् र झुलाउँछन् भने आफैं कल्पना गरौं न हाम्रो सार्वजनिक प्रशासन कस्तो छ? कति प्रभावकारी छ? समयमा काम नभए पनि मीठो बोल्दा त केही बिग्रँदैन्थ्यो होला नि!

तिनै हाकिम साबको कार्यकक्षमै स्टिकर टाँसिएको थियो, मुस्कान सहितको सेवा। त्यही नाराले गिज्याइरहेको थियो स्वयम् हाकिमसाबको चरित्रलाई।

निकै झोँक्किएर, दिक्दारी मान्दै काम तीन घण्टामा गरिदिए, काम पनि साथीको अफिसको एक महिनाअघि निवेदन दिएको फाइल खोजेर तोक लगाएको छ कि छैन भन्ने हेर्ने मात्रै थियो। तोक लगाएको भए माथिल्लो निकायमा पेश गर्नुपर्ने काम थियो।

आफूले देशकै प्रशासनिक केन्द्रमा यस्तो व्यवहार भोगेपछि यसो इन्टरनेटमा सार्वजनिक प्रशासन बारेमा खोजी गर्न थालें। काठमाडौं महानगरपालिकाले कर्मचारीहरूको शिष्टाचार तथा आचारसंहिता २०६७ जारी गरेको रहेछ।

जसमा सेवाग्राहीलाई सेवाप्राप्तिमा सहजपनको अनुभूति गराउँदै मुस्कानसहितको सेवाले सेवाग्राहीमा स्वतः मुस्कान ल्याउन सकिने विश्वास राखिएको रहेछ।

गर्न नहुने र गर्न नसकिने कामका लागि शिष्ट र सभ्य किसिमबाट आफ्ना असमर्थताहरू व्यक्त गर्ने तथा कार्य सम्पन्न भएपछि पनि मुस्कान सहितको विनयशील व्यवहार प्रकट गर्ने, सबै सेवाग्राहीप्रति स्वच्छ र निष्पक्ष व्यवहार गर्ने र सेवाग्राहीको विश्वास आर्जन गर्न कर्मचारीहरूलाई आचारसंहिता ल्याइएको रहेछ।

सबै सेवाग्राहीप्रति सकारात्मक रहने र तत्काल देखिएका समस्या समाधानको लागि प्रयत्नशील हुने, पारदर्शी, छिटो र गुणात्मक सेवा प्रवाहद्वारा अन्ततः सेवाग्राहीको सन्तुष्टिलाई आफ्नो कार्य सम्पादन गन्तव्य बनाउने उल्लेख थियो।

यस्तै, सेवाग्राही जनताको कार्यलाई सधैं प्राथमिकता दिने र उनीहरूको कामको महत्व र भावनालाई बुझ्ने , सेवा प्रदायक कर्मचारी र सेवाग्राहीबीच सौहाद्र्ध, मैत्रीपूर्ण, हार्दिक तथा आत्मीय सम्बन्धलाई निरन्तर उच्च महत्व दिन , सेवाग्राहीमध्ये बृद्धवृद्धा, अपाङ्गता भएका, बालबालिका, असहाय, रोगी÷विरामी, दलित तथा महिलालाई क्रमशः सेवामा प्राथमिकता दिई कार्य सम्पन्न गरिदिने उल्लेख थियो।

सेवा लिन आएका कुनै पनि किसिमका सेवाग्राहीको सेवालाई गम्भीरतापूर्वक लिई उनीहरूको सेवा पाउने अधिकारलाई सर्वोपरी प्राथमिकता दिइ कार्य गर्ने तथा सेवाग्राही वा जनस्तरबाट माग भएका विकास–निर्माणका कार्यक्रमहरू तथा अन्य सहयोग र सुझावको कदर गर्ने कुरा उल्लेख रहेछ।

लिखित रूपमा उल्लेखित कुराहरू व्यवहारमा पनि लागू गर्न सकेको खण्डमा कामै नभए पनि, काम नसकिए पनि सेवाग्राहीलाई सन्तोष मिल्छ।

म काम लिएर गएका हाकिम साबको कार्यकक्षको ढोकामा लेखिएको मुस्कान सहितको सेवाको नाराले गिज्याएजस्तो नहोस् भन्ने सदासयता हो।

साथीसँग म आफै नतमस्तक भएँ, पढेलेखेको छु, कहाँ कति रकम लाग्छ , कुन कोठामा गएर कसलाई भेट्नुपर्छ भन्ने कुराको राम्रो हेक्का छ। नागरिक बडापत्रको अवलोकन राम्रोसँग गर्न सक्छु, साथी पनि पढेलेखेकी छ, म साथीलाई साथ मात्रै दिएर गएकी थिएँ उसको पनि व्यक्तिगत काम थिएन कार्यालयको काम गर्न पनि यति पापड बेल्नु परेपछि साँच्चिकै दूरदराजबाट सिंहदरबारमा काम गराउन आउनेहरूले कस्तो सास्ती भोग्दा हुन् ? स्वयम् हाकिम साबले काम हुने आश्वासन दिएर बोलाएको समयमा कार्यालयमा पुग्दा पनि समयमा काम हुँदैन, नमस्कार गर्दा हाकिम साब फर्काउँदैनन्, बस्ने ठाउँ हुँदाहुँदै पनि बसौं भन्दैनन्, समयमा काम नभए पनि यो कारणले अहिले भएन यति समयपछि हुन्छ भन्न सक्दैनन्।

कामै नभए पनि मीठो बोल्दा, सेवाग्राहीले सोधेका कुराको जवाफ दिँदा हाकिम साबको पदीय मर्यादामा खलल त पुग्दैन्थ्यो होला तर अपशोच पदको दम्भ र आडम्बरले सितिमिति हाकिम साबहरू सहज रूपमा प्रस्तुत हुन सक्दैनन्। यो दीर्घकालीन रोग नै कर्मचारीतन्त्रको।

सरकारी कर्मचारी कुनै अर्को ग्रहका प्राणी होइनन्, उनीहरूलाई भेट्न पाउनु सर्वाधिक उपलब्धि हुनेजस्तै देखिन्छ।

सामान्य नागरिकको लागि सिंहदरबार प्रवेश नै कठिन छ। बल्लतल्ल प्रवेश पाएकाहरू पनि अनेक हैरानी खेप्न विवश छन्।

सार्वजनिक सेवा प्रवाहलाई छिटो , छरितो र प्रभावकारी बनाउनको लागि कोठा कोठामा नाराका स्टिकर टाँसेर होइन, दिवस र उत्सवहरूमा जयजयकार गरेर मात्रै होइन, व्यवहारमा पनि उतार्न सक्नुपर्छ। गाउँगाउँमा सिंहदरबार होइन सिंहदरबारभित्रै खासमा सिंह जस्ता कर्मचारीका कारण सेवाग्राहीले सहजै सेवा पाउन सकिरहेका छैनन्। नारामा मुस्कान सहितको सेवा भनिए पनि खासमा मुस्कान हराउँदै गएको सेवा प्रवाहले सेवाग्राही आजित छन्।

यो प्रवृतिको अन्त्य कहिले होला? अन्त्यमा हाकिम साबलाई भन्न मन लाग्यो, नि:शुल्क पाइने मुस्कान दिएरै बरु काम हुँदैन भन्नुस्, ढिलो हुन्छ भन्नुस् एकैछिन कुरौँला तर ठुस्स परेर सेवाग्राहीलाई भिख माग्नै आएको जस्तो व्यवहार नगर्नुस्।

सेवाग्राहीले तिरेकै करले तपाईंको रोजीरोटी चलिरहेको जो छ उल्टै सेवाग्राहीलाई किन यत्ति वेवास्ता? गाउँगाउँमा सिंहदरबार होइन सिंहदरबारमै खास शासन चल्न सकेको छैन। सेतोपाटी अनलाइनबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *